कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीलाई ठाकुरले साथ दिनुलाई धेरैले आश्चर्य र संशयको दृष्टिले हेरेका छन् 
ओली मधेसविरोधी हुन्, उनको पक्षमा किन जाने भन्नुको अर्थ छैन । अझ जो ओली सरकारमा सहभागी थियो, त्यसले त्यो प्रश्न गर्ने नैतिक आधारसमेत राख्दैन ।– वृषेशचन्द्र लाल
पटक–पटक संविधान मिचेका ओलीलाई साथ दिनु गल्ती हो । दुई तिहाइ रहेका बेला केही नगरी ओलीजीले अहिले संविधान संशोधनको पहल लिनु नाटक मात्रै हो ।– रेणु यादव
राजेश मिश्र

काठमाडौँ — महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य र संशयको दृष्टिकोणले हेरेका छन् ।

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

ठाकुरले नेतृत्व गरेको दल जनता समाजवादी पार्टीमै ओलीलाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो भिन्नता छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई प्रतिगामी भनेर हटाउन हरसम्भव प्रयास गरिरहँदा ठाकुरले ओलीको साथ छाडेका छैनन् । बरु आफ्नो समर्थनलाई औपचारिकतामा परिणत गरिदिएका छन् ।

तीन दिन अगाडि मात्रै जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीमा एकताको सन्देश दिएका थिए । तर त्यो टिक्न सकेन । ठाकुरले ओलीलाई र यादवले विपक्षी गठबन्धनबाट प्रधानमन्त्री प्रस्तावित कांग्रेस नेता शेरबहादुर देउवालाई साथ दिएका छन् । सिंगो पार्टी विभाजनको अवस्थामा पुगिसक्दा पनि ठाकुरले ओलीको साथ नछाडेका हुन् । ओलीसँगै लागेका कारण मुखमै आएको प्रधानमन्त्री पदको अवसर उनले गुमाएको टिप्पणी पनि भइरहेको छ ।

जसपा नेता सर्वेन्द्रनाथ शुक्ल ठाकुरको प्रधानमन्त्री ओलीसँगको निकटताको एकमात्र कारण मधेस मुद्दाको सम्बोधन रहेको बताउँछन् । ‘जसलाई जे लागे पनि, जे–जे अनुमान गरे पनि ओलीले मधेसको मुद्दालाई सम्बोधन गर्छु भन्ने विश्वास दिलाउनु नै उनीसँग निकटताको आधार हो,’ उनले भने, ‘त्यसअनुसार काम भएका छन् । त्यो मधेसका लागि उपलब्धिपूर्ण हो ।’ विगतका सरकारले गर्न नसकेका काम अहिले जसपा सरकारमा नगईकनै गराउन सफल भएको उनले दाबी गरे । ‘प्रचण्ड (पुष्पकमल दाहाल) जी प्रधानमन्त्री र विमलेन्द्र निधि गृहमन्त्री भएका बेला पनि आन्दोलनकारीलाई लगाइएको झूटा मुद्दा फिर्ता गराउने प्रयत्न गरेका थियौं । चरणबद्ध छलफल भएको थियो, तर सम्बोधन हुन सकेन,’ उनले भने, ‘अहिले त्यस्तै मुद्दामा रहेका सयौं व्यक्तिले उन्मुक्ति पाएका छन् ।’ पुष्पकमल दाहालपछि शेरबहादुर देउवाको सरकारमा पनि त्यो काम नभएको उनले उल्लेख गरे । अहिले सरकारको नेतृत्व गरेका कारण स्वाभाविक रूपमै ओलीसँगै मुद्दाको कुरा भएको र झूटा मुद्दा फिर्ता लिने क्रम सुरु भएपछि स्वाभाविक रूपमा विश्वासको वातावरण बनेको उनले बताए ।

अहिले संविधान संशोधनको गृहकार्यका लागि कार्यदल गठन, वर्षौंदेखि समाधान हुन नसकिरहेको नागरिकताको विषयमा अध्यादेश ल्याउने तयारी ठाकुरकै अडानका कारण सम्भव भएको नेता शुक्लले बताए । ‘जुन व्यक्ति संविधान संशोधनका लागि तयार थिएन, आज त्यही ओलीजी र एमाले त्यसमा तयार हुनु पनि मधेस आन्दोलनका लागि उपलब्धि हो,’ उनले भने, ‘मुद्दालाई प्राथमिकता दिएपछि स्वाभाविक रूपमा जसले सम्बोधन गर्छ उसलाई साथ दिने कुरा आउँछ नै ।’

शुक्लका अनुसार मधेस आन्दोलनमा लागेकैले झूटा मुद्दामा फसाइएका व्यक्तिहरूको जिम्मेवारी आन्दोलनको आह्वानकर्ताले नै लिनुपर्थ्यो, त्यसको सम्बोधनमा भइरहेको ढिलाइले पार्टी र नेताहरू ठूलो दबाबमा थिए । ठाकुरनिकट अर्का नेता वृषेशचन्द्र लाल पनि आफ्ना राजनीतिक मुद्दाका विषयमा सबैभन्दा ठूलो पार्टीका नेता र प्रधानमन्त्री रहेको व्यक्तिसँग कुरा गर्नु स्वाभाविक भएको बताउँछन् । ‘त्यही कुराकानीले विश्वासको वातावरण बनाएको हो,’ उनले भने, ‘ठाकुरजीले स्पष्ट भन्दै आउनुभएको थियो– हाम्रो एजेन्डालाई समर्थन गर्नेप्रति सहानुभूति हुन सक्छ । आज उनको अडानले उपलब्धि प्राप्त गरेको छ ।’ अन्य दलका सबै नेताहरूसँगको समान व्यवहार र कसैप्रति व्यक्तिगत ढंगले पूर्वाग्रही नहुनुले पनि उनलाई ओलीसँग संवाद गर्न कुनै समस्या नभएको लालले बताए ।

विगतमा राजेन्द्र महतो सार्वजनिक रूपमा व्यक्तिगत ढंगबाटै ओलीको आलोचना गर्थे । उपेन्द्र यादव, बाबुराम भट्टराई पनि त्यसै गर्छन् । एकले अर्कालाई नराम्ररी गालीगलौज गर्ने प्रवृत्ति पूर्वप्रधानमन्त्री दाहाल, माधव नेपाल र स्वयं ओलीमै पनि देखिएको छ । ‘ओली मधेसविरोधी हुन्, उनको पक्षमा किन जाने भन्नुको कुनै अर्थ छैन । अझ जो ओली सरकारमा सहभागी थियो, त्यसले त्यो प्रश्न गर्ने नैतिक आधारसमेत राख्दैन,’ नेता लालले भने, ‘प्रारम्भमै ओलीको सरकारलाई तत्कालीन राजपाले समर्थन गरेकै थियो । मुद्दाको सम्बोधन भएन, पछि हट्यो । अहिले त्यस दिशामा सकारात्मक काम भइरहेकाले मौकाको प्रयोग ठाकुरजीले गर्नुभएको हो ।’

यादव अध्यक्ष रहेको तत्कालीन संघीय समाजवादी फोरम ओली सरकारमा सहभागी हुँदा ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा भने सरकारमा गएको थिएन । यादवले सरकारमा भएर पनि मुद्दालाई सम्बोधन गराउन नसकेको र अहिले सरकारमा नगईकनै त्यसमा केही हदसम्म सफलता प्राप्त गर्नुलाई पूर्वराजपा धारले ठाकुरको राजनीतिक उपलब्धि मानेका छन् ।

पार्टीभित्रै यादव पक्षधरले भने प्रतिगामी ओलीको मतियार बनेको भन्दै ठाकुरको चर्को आलोचना गरेको छ । जसपा नेता रेणु यादवले सबैले सम्मान गरेको व्यक्तिले ओलीको पछि लागेर आफ्नो प्रतिष्ठा गुमाएको टिप्पणी गरिन् । ‘ठाकुरजीबाट पार्टीलाई बेवास्ता गरेर मनोमानी ढंगले काम भएको छ, पटक–पटक संविधान मिचेर प्रतिगामी काम गरेका ओलीलाई साथ दिनु गल्ती हो,’ उनले भनिन्, ‘दुई तिहाइ रहेका बेला संविधान संशोधनको मादल नबजाउनु भन्ने ओलीजीले अहिले संविधान संशोधनको पहलकदमी लिनु नाटक मात्रै हो, त्यसले हुने त केही होइन ।’ केही मुद्दा सम्बोधन भएको नाटक गरेर केही नेताहरू सरकारमा जान मात्रै आतुर देखिएको उनको ठहर छ ।

ठाकुर र यादव दुवैले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने अवसर पाए वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्रै सरकार गठन प्रक्रियामा अगाडि बढ्ने निर्णय गरेका थिए । त्यो नभएको अवस्थामा प्रतिपक्षमै रहने तीन दिन अगाडि दुवैको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । तर, दुवै पक्ष त्यस निर्णयमा अडिग हुन सकेनन् । ठाकुरले ओलीलाई र यादवले देउवालाई समर्थन दिएर सरकारमा सहभागी हुने जनाउ दिइसकेका छन् ।

यादवले दुई दिनयता ठाकुरलाई प्रधानमन्त्री बनाउने विषयलाई प्रचारमा ल्याइरहेका थिए । प्रधानमन्त्री भइदिन प्रस्ताव गर्दा पनि ठाकुरले त्यसका लागि अग्रसरता नदेखाएको यादव पक्षको भनाइ छ । तर, नेता शुक्लले ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कुनै पनि दलबाट नआएको बताए । ‘व्यक्तिगत रूपमा केही नेताले त्यस्तो सदाशयता देखाउनु भएको थियो । त्यति मात्रैले प्रधानमन्त्री बन्न त सम्भव हुन्न,’ उनले भने, ‘ठाकुरजीलाई त्यो कुराको राम्रो ज्ञान थियो । त्यो राजनीतिक भ्रमजाल मात्रै हो र जसपा आफैंले पनि ठाकुरलाई प्रधानमन्त्री बनाउने निर्णय गर्न सकेको थिएन ।’ ठाकुर पक्षधर कतिपय नेताले ठाकुरलाई प्रधानमन्त्री बनाउने यादवको प्रचारबाजीलाई राजनीतिक ‘स्टन्टबाजी’ मानेका छन् । ठाकुरलाई फकाएर जसरी पनि कार्यकारिणी समितिको बैठक बोलाउने र त्यहाँ बहुमतको बलमा आफूअनुकूलको निर्णय गराउने रणनीति यादवको रहेको एक नेताले उल्लेख गरे ।

कांग्रेस नेता शेखर कोइरालाले ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रूपमै बताएका थिए । उनले ठाकुरसँग त्यस विषयमा टेलिफोन संवाद पनि गरेका थिए । ‘त्यस्तै केही नेताको कुरा आएको हो, तर पार्टीको निर्णय त शेरबहादुर देउवाको नेतृत्वमा जाने थियो, प्रचण्डजी पनि देउवालाई नै सघाएर जाने पक्षमा हुनुहुन्थ्यो,’ शुक्लले भने, ‘संस्थागत रूपमा कतैबाट निर्णय नआएपछि ठाकुरजी आफैं मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर जाने कुरा भएन । उनका लागि पद ठूलो भएन । मुद्दा प्राथमिकतामा रह्यो ।’

कतिपयले दक्षिणी छिमेकीको डिजाइनमा ठाकुरले ओलीलाई साथ दिइरहेको विश्लेषण पनि गरेका छन् । दक्षिणले ओलीलाई सरकारमा टिकाउन चाहेको र छिटो निर्वाचनको पक्षमा रहेकाले त्यहीअनुसार काम भइरहेको बुझाइ छ । विपक्षी नेताहरूले सार्वजनिक रूपमा पनि त्यस खालको अभिव्यक्ति दिएका छन् । तर नेता लाल सत्तारूढ पार्टीको आन्तरिक झगडाले उत्पन्न परिस्थितिको दोष अरू कसैलाई दिनु सही नहुने बताउँछन् । उनले नेकपा दुईतिर विभाजित हुँदा सुरुदेखि नै ठाकुरले तटस्थताको नीति अपनाएको उल्लेख गरे । प्रतिनिधिसभा विघटनपछि यादव पक्ष दाहाल–नेपाल पक्षसँग मिलेर आन्दोलनमा जान खोजेको थियो । तर ठाकुर मानेनन् ।

अध्यक्ष यादव र वरिष्ठ नेता महतोबीच कतिपय अवस्थामा सार्वजनिक कटुता पनि देखिएको छ । तर ठाकुर र यादवबीच त्यस्तो नदेखिए पनि उनीहरूबीच राजनीतिक निर्णयमा एकरूपता पाइएको छैन । चाहे त्यो विगतका सरकार गठन वा विघटनको अवस्था होस् या संविधानलाई हेर्ने दृष्टिकोण नै । ठाकुरले संविधान संशोधन भन्दा यादवले पुनर्लेखन भनेका थिए । ठाकुर पक्षले स्थानीय चुनाव बहिष्कार गर्दा यादवले चुनावमा भाग लिए । त्यस्ता धेरै घटना छन् । ‘अहिले फेरि त्यही देखिएको हो,’ एक नेताले भने ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?