राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी हुन् ।

शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।


प्रकाशित : जेष्ठ ८, २०७८ ०१:५३
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रै पार्टीका साथीहरुले गर्दा मुलुक मध्यावधि निर्वाचनमा गयो : परराष्ट्रमन्त्री ज्ञवाली

बबिता शर्मा

काठमाडौँ — परराष्ट्रमन्त्री एवं नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेकै सांसदहरुको कारण मुलुक मध्यावधि निर्वाचनमा गएको बताएका छन् ।

फाइल तस्बिर

मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकपछि कान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका कारण मुलुक मध्यावधितर्फ गएको बताएका हुन् ।

‘अनिवार्य रुपमा मध्यावधिमा जानु थियो । यो कुरा राष्ट्रपतिको पत्रले नै प्रस्ट पारेको थियो । संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न दिनु भएन साथीहरुले । यदि हाम्रा साथीहरुले उता हस्ताक्षर नगरेको भए महन्थजीको दलका १२ जनाले अन्त हस्ताक्षर गरे पनि फरक पर्दैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘हाम्रो १२१ र महन्थजीहरुको २० जना रहँदा संसद जोगिन्थ्यो । विश्वासको मत प्राप्त हुने वातावरण हुन्थ्यो । संसदले पूर्ण कार्यकाल बिताउन पाउँथ्यो । हाम्रै साथीहरुको कारणले गर्दा मुलुक मध्यावधिमा गयो ।’

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ८, २०७८ ०१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×