कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

सुवास विडारी

मकवानपुर — राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ भिड्दै छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ ।

हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा जारी मतदानमा प्रदेशतर्फ मुख्यमन्त्री डोरमणि पौडेल र स्थानीय तहतर्फ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले सुरुमा मतदान गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन् ।

प्रदेशसभामा एमालेको ५६, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र एक गरी १ सय ९ मतदाता छन् । स्थानीय तहमा एमालेको १३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत छ ।

प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । वाग्मती प्रदेशमा १ सय १९ वटा स्थानीय तह छन् ।बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ । विद्यालयको पूर्वपट्टिको गेटबाट कोरोना पोजिटिभ मतदाता र पश्चिमतिरको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ ।

सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलका अनुसार तीनवटा मतपेटिका राखेर मतदान भइरहेको छ । मतदान केन्द्र परिसरमा सरकारले तोकेअनुसार स्वास्थ्य मापदण्ड पालना गरिएको छ । सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टा–छुट्टै मतपत्र छन् । मतदान समय सकिएलगत्तै विद्यालयमै मतगणना गर्ने व्यवस्था मिलाइएको छ । ‘हामी साँझ ६ बजेसम्म मतगणना सम्पन्न गरिसक्नेछौं,’ उनले थपे ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्र कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ र कोरोना संक्रमण देखिएकालाई ‘ग’ बाट मतदानको व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए ।

‘पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइएको छ,’ उनले भने । श्रेष्ठका अनुसार ७२ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट नभएका मतदाताको हकमा मतदान केन्द्रमै एन्टिजेनमार्फत तत्काल परीक्षण भइरहेको छ । कोरोना परीक्षणका लागि एक सयवटा एन्टिजेन्ट किटसहित चार जना स्वास्थ्यकर्मी खटाइएको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि २४ जना कर्मचारी परिचालन गरिएको छ । कोभिड संक्रमित मतदाताले मतदान गर्ने केन्द्रमा खट्ने कर्मचारीका लागि पीपीई उपलब्ध गराइएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×