कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदातालाई धम्की दिएर प्रधानमन्त्रीबाट आचारसंहिताको गम्भीर उल्लंघन : माओवादी केन्द्र

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले बिहीबार हुने राष्ट्रिय सभा उपनिर्वाचनको पूर्वसन्धामा प्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई धम्की दिएर आचारसंहिताको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ ।

मतदातालाई धम्की दिएर प्रधानमन्त्रीबाट आचारसंहिताको गम्भीर उल्लंघन : माओवादी केन्द्र

अध्यक्ष पुष्पककमल दाहालका तर्फबाट उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको यस्तो कदमबाट आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।‘केपी शर्मा ओली एमालेका अध्यक्षमात्र नभएर नेपाल सरकारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यसविपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई विजयी गराउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलापमा छ’, महराको विज्ञप्तिमा छ, ‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमुक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्ल‌ंघन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?’

विज्ञप्तिमा प्रधानमन्त्रीको कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार विज्ञप्ति निकाल्दै राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशका एमाले उम्मेदवार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई अपील गरेका थिए । मौनअवधि सुरु भइसकेको सन्दर्भमा गरिएको यस प्रकारको अपील निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै निर्वाचन आयोगले पनि चासो व्यक्त गरेको छ । आयोगको चासो भएपछि माओवादी केन्द्रले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

महराको विज्ञप्तिमा निर्वाचन आयोग, राजनैतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल छ ।

एमालेले गृहमन्त्री थापालाई उम्मेदवार बनाएको छ भने कांग्रेस, माओवादी, जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव एवं एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । नेता नेपालले आफूनिकट मतदातालाई स्वविवेक प्रयोग गर्न भनेपछि थापा ढुक्क छैनन् ।

प्रकाशित : जेष्ठ ५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?