बैनीको दया छ भने...- समाचार - कान्तिपुर समाचार

बैनीको दया छ भने...

सुशीला तामा‌ङ

काठमाडौँ — बैनीको दया छ भने
रोदीघर दाइ नाच्यो नभने...
चलन रोदीघरको, अनि भाका ठ्याक्कै टिप्न सकिने यो गीत नारायण गोपाल र तारा देवीले गाएका हुन् ।

२०२८ वैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘परिवर्तन’ का लागि यो गीत लेखेका हुन् चेतन कार्कीले । ३० को दशकपछि पनि उनले गरेका सिर्जना कालजयी छन् । लोक संस्कृति, साहित्य तथा संगीतमा ठेट मौलिक रचना उनको विशेषता थियो, नेपाली चलचित्र क्षेत्रका लागि ति धरोहर नै थिए । सर्जक कार्कीको आइतबार ८३ वर्षको उमेरमा निधन भएको छ ।

गत वैशाख १६ मा देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको फिल्मकर्मी प्रकाश सायमीले बताए । लोकसंगीत, साहित्य, संस्कृति तथा नेपाली फिल्मी क्षेत्रमा कार्कीको योगदान स्मरणीय रहने उनले सुनाए । कार्कीले साहित्यदेखि, लोक संस्कृति, गीति रचना, चलचित्र लेखन तथा निर्देशनमा समेत आफ्नो बहुआयामिक क्षमताको छाप छोडेको साहित्यकर्मी नरेन्द्रराज प्रसार्इंले बताए । ‘उहाँले जुन विधामा हात हाल्नुभो त्यसैमा सफल हुनुभो,’ प्रसाईंले भने, ‘माधवप्रसाद घिमिरेपछि राष्ट्रभक्ति भावनाका सिर्जनामा चेतन कार्की नै अगाडि हुनुहुन्थ्यो ।’ कार्की नेपाली मात्र नभएर हिन्दी तथा उर्दू भाषा, साहित्यमा दखल भएका स्रष्टा थिए । यिनै भाषामा समेत उनले साहित्य सिर्जना गरे ।

स्याङ्जामा जन्मिएका कार्की लाहुरे बाबुसँगै चार वर्षकै उमेरमा सन् १९४२ मा देहरादून पुगेका थिए । उतै पढे । लोक साहित्य र संस्कृतिप्रति बाल्यकालदेखि नै लगाव थियो । कलेज पढ्दा साहित्यिक कार्यक्रममा भाग लिएनन्, नेपाली संगीतमा त्यति भिजेका थिएनन् । तर देहरादून अध्ययनकै बेला एक कार्यक्रममा नेपाली गीत गाउन अनुरोध गरिएपछि ‘निरमाया जोवन गैगयो’ बोलको गीत लेखेर लोक भाका हाली सुनाएको कार्कीले एक अन्तर्वार्तामा बताएका छन् ।

अध्ययनपश्चात् नेपाल फर्केका कार्की २०२० को दशकदेखि नै कला क्षेत्रमा अग्रसर रहे र पछिल्लो समयमा उत्तिकै सक्रिय थिए । २०२३ मा नै उनले लाहुरे संस्कृतिको कथामा आधारित नाटक ‘आत्मा बेचेको छैन’ प्रदर्शन गरेका थिए । त्यसपछि जागिरका दौरान मत्स्य विकास अधिकृतका रूपमा पोखरा पुगेका थिए । उनले शाही नेपाली चलचित्र संस्थानमा स्थापना कालदेखि नै आबद्ध रहेर नेपाली फिल्म क्षेत्रको विकासका लागि योगदान पुर्‍याए ।

लोक संस्कृतिप्रति उनको मोह भने पोखरा बसाइँमा नै प्रगाढ भएको थियो । त्यसै अवधिमा उनले स्याङ्जा, पोखराका लोकभाकादेखि लिएर बाटुलेचौरका सारंगीका धुनहरू सुने । बाह्य मुलुकमा अध्ययन गरे पनि स्थानीय परिवेश र लयलाई संगीतमा ढाल्न सक्ने उनी गण्डकी क्षेत्रकै गौरवका रूपमा रहेको लोकगायक पुरुषोत्तम न्यौपानेले स्मरण गरे । ‘उहाँले बाहिर पढेर आउनुभए पनि आफ्नै संगीत र संस्कृतिलाई बिर्सनुभएन । संगीतका हस्तीहरू नातिकाजी, गोपाल योञ्जन, तारादेवीकै लयमा लोकसंगीतलाई चलचित्रमा समेत उहाँले निकै माथि उठाउनुभयो । यो हाम्रो लागि अत्यन्तै गौरवको कुरा हो,’ उनले भने । कार्कीलाई हक्की, निडर व्यक्तित्वका रूपमा न्यौपानले सम्झिए ।

पोखरामा २०५४ मा नै ‘हिमाली सांस्कृतिक परिवार’ संस्थालाई मूर्त रूप दिएर प्रमुख संरक्षकका रूपमा उनले मौलिक बाजाहरू संरक्षण गर्ने पहल थालेका थिए । ‘परिवर्तन’ को पटकथा लेखनबाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेका उनले उक्त फिल्ममा गण्डक क्षेत्रकै चारवटा लोक गीत लेखेका थिए । हीरासिंह खत्रीको निर्देशनमा तत्कालीन सूचना विभागले बनाउन लागेको फिचर फिल्म ‘चेतना’ नै पछि ‘परिवर्तन’ नामबाट रिलिज भएको थियो । त्यसपश्चात् उनले विश्वास हुँदै भुमरी, पहिलो प्रेमलगायत फिल्महरू निर्देशनसमेत गरे ।

कार्कीलाई नेपाली फिल्मका इतिहासका रूपमा कलाकार नीर शाह लिन्छन् । कार्कीको पहिलो फिल्म परिवर्तनमा सँगै रहेर संवाद लेखनदेखि चलचित्र संस्थानसम्म शाहले कार्कीसँग सहकार्य गरेका छन् । ‘उहाँलाई चलचित्र कर्मबाट नजिकैबाट नियाल्ने मौका पाएँ,’ उनले भने, ‘चलचित्रमा मात्र होइन साहित्य, संस्कृति र संगीतमा उहाँको विशेष देन छ । चलचित्रमा लेखन, निर्देशन, गीत सिर्जना र संस्कृति अध्यताका रुपमा सबैजसो फर्म्याटमा उहाँले निकै समय योगदान दिनुभयो ।’

सिन्दुर, कान्छी, मायाप्रीति, जीवनरेखा लगायतका कैयौं नेपाली चलचित्रहरूमा कार्कीले कथा, पटकथा, संवाद, गीत तथा निर्माण टिममा रहेर योगदान गरेका छन् । कलाकारहरू मोहन निरौला र कृष्ण मल्लले कार्कीको निधनले नेपाली फिल्मी क्षेत्रमा एक अग्रज, शालीन, उच्च व्यक्तित्व भएका अभिभावक गुमाएको महसुस गरेका छन् । मल्लले भने, ‘उहाँ अत्यन्त सादगीपूर्ण जीवनमा रमाउने मान्छे हुनुहुन्थ्यो । उहाँलाई राजनीतिबाट वितृष्णा थियो ।

कार्कीको रचनामा फिल्म ‘कान्छी’ को ‘कान्छी हे कान्छी’, ‘कन्यादान’ को ‘तिजको रहर आयो बरी लै’, ‘परिवर्तन’ को ‘बैनीको दया छ भने’ गीतहरू निकै लोकप्रिय छन् ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

पर लैजाऊ फूलहरू...

‘संगीतका लागि आज कालो दिन नै हो, उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — ‘साँच्चिकै हुन पुग्यो...,पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जूनबन्द गर गीतहरू तिम्रो याद आउने चीजहरू,प्रेम दाइ !’

गीतकार राजेन्द्र थापाले बिहीबार दिउँसो भावुक शैलीमा आफ्नै रचना, नातिकाजीको संगीत र प्रेमध्वज प्रधानको स्वर रहेको यिनै गीतका पंक्तिहरू सामाजिक सञ्जालमा सेयर गरे । केही क्षणमा नै नेपाली संगीत जगत्ले प्रधानको महाप्रस्थानको खबरसँगै उनको नाममा श्रद्धाञ्जली व्यक्त गर्दै गए ।

थापाको रचनाले इंगित गरेजस्तै प्रधानको याद आउने सबै चीजहरू यतिबेला फूल बनेका छन्, जून बनेका छन् र उनकै गीत संगीतप्रेमीहरूका लागि स्मरण गर्ने अन्तिम कोसेली बनेका छन् । नेपाली सांगीतिक आकाशमा उनको मखमली स्वरमा गुन्जयमान गीतहरू भने कालजयी भएर सम्झाइरहने छन् ।

सिन्धुपाल्चोक चौतारामा जन्मिएका प्रधानको नम्र, सरल र अनुशासित जीवनशैली प्रमुख विशेषता थियो । जति धीमा बोली र हाउभाउ देखिन्थ्यो त्यसको ठीकविपरीत कैयौं गुणा रफ्तार प्रधानले नेपाली संगीतमा देखाए । नजिकबाट चिन्नेहरूका अनुसार संगीतमा अनुशासन र संस्कार चाहिन्छ भन्ने मान्यता राख्थे प्रधान । नेपाली सुगम संगीतलाई अनुपम उचाइ दिएका उनले ८३ वर्षको उमेरमा बिहीबार संसारबाट बिदा लिए । परिवारका अनुसार छातीमा समस्या देखिएपछि १२ दिनदेखि उनलाई सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर उनले सांगीतिक यात्रालाई अगाडि बढाएका थिए ।

राष्ट्रिय, आधुनिक, नेवारी, फिल्मी गीत तथा भजन गरी साढे सात सय वटाभन्दा गीतमा उनले स्वर दिएका छन् । पछिल्लो समय ८० वर्षको उमेरमा उनले ‘प्रेमगीत’ एल्बम ल्याएर संगीतप्रतिको सक्रियतालाई देखाएका थिए । नेपाली संगीतमा शृंगार रसलाई मूलधारमा ल्याउनुमा प्रधानको अमूल्य योगदान रहेको गीतकार दिनेश अधिकारीले सुनाए । ‘प्रेम दाइले संगीतलाई आफ्नो समयमा गौरव थपेर जानुभो,’ उनले भने, ‘प्रेममाणिकको नाममा माणिकरत्नजस्ता सर्जकहरूसँग मिलेर उहाँले आधुनिक सुगम संगीतको धारलाई धेरै माथि पुर्‍याउनुभयो ।’

हिन्दी गीतको एकछत्र राज रहेको त्यो समयमा प्रधानले संगीतप्रमीलाई नेपाली गीतको स्वाद दिएका थिए । अधिकारीका अनुसार प्रधान रेडियो नेपालमा हिन्दी फिल्म ‘दिल ए नादान’ मा समावेश गीत ‘ए रात सुहानी’ गाएर पहिलो स्वर परीक्षामा उत्तीर्ण भएका थिए । गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापाजस्ता सर्जकहरूका रचनामा रहेका ‘गोरेटो त्यो, गाउँको’, ‘पर लैजाऊ फूलहरू’ जस्ता कालजयी गीतहरूले प्रधानको सांगीतिक ख्यातिलाई झनै उचाइ दियो ।

लामो समयदेखि सहकार्य गरेका प्रधानको निधनले संगीत क्षेत्रलाई स्तब्ध बनाएको अधिकारीले बताए । ‘उहाँको सांगीतिक जीवन र सहकार्यको स्मरणमा तस्बिरसहित केही लेखेर यही शनिबार सामाजिक सञ्जालमा राख्ने योजना बनाएको थिएँ । खबर सुनेर एकदमै दुःख लाग्यो,’ उनले भने । संगीतमा एक अनुशासित कलाकार, स्वच्छ छविका दिग्गज स्रष्टाका रूपमा उनले प्रधानको स्मरण गरे ।

संगीतसँगै प्रधानले लामो समय अमेरिकी सूचना केन्द्रमा जागिरे जीवन बिताएका थिए । जागिरे जीवनमा पनि उनले संगीत यात्रालाई रोक्न दिएनन् । जागिरे जीवनबाट नै केही पैसा जम्मा गर्दै उनले २०१८ सालमा बम्बईमा गएर गीत रेकर्ड गराएका थिए । केही समय बम्बईमा रहेर उनले त्यहाँको संगीत क्षेत्रलाई हेरेर फर्केपछि आफ्नो कलाकारितामा अझै निखार ल्याएका थिए । भारतीय संगीत क्षेत्रमा भएको विकासलाई नेपालमा स्थापित गर्नॅपर्छ भन्ने मान्यतामा प्रधान प्रयासरत रहेको संगीतकार एवं गायक शम्भुजित बाँस्कोटाले सुनाए ।

२०२९ सालमा जमलस्थित राष्ट्रिय नाचघरमा एक नाटकको दौरानमा प्रधानसँग पहिलो भेटमा प्रभावित भएको बाँस्कोटालाई अझै स्मरण छ । त्यसपछि २०३३ सालमा संगीतमा प्रधानसँग सहकार्य थालनी भएको उनले सुनाए । नातिकाजीको अन्तिम संस्कारमा पशुपतिमा भेला हुँदा प्रधानले एउटा कुनामा लगेर बाँस्कोटालाई भनेका थिए, ‘शम्भुजितजी, संगीतको एउटा मिठास नै गयो ।’ त्यही उनको जस्तै पीडा आज कसलाई सुनाउने बाँस्कोटा आफैं भावविह्वल छन् । ‘वास्तवमा उहाँ संगीतकै लागि जन्मिनुभएको थियो । उहाँ सोख मात्र होइन प्रोफेसनल सिंगर हुनुहुन्थ्यो,’ उनले भने ।

पछिल्लो समय संगीत क्षेत्रमा स्रष्टाको प्रतिलिपि अधिकारका लागि पनि उनले आवाज उठाइरहेका थिए । स्रष्टा मारमा परिरहेको अहिले अवस्थामा सबैले सिर्जनाको मूल्य पाउनुपर्छ भन्ने अभियन्ताका रूपमा प्रधान खडा भएको बाँस्कोटाले सुनाए । उनले भने, ‘सिर्जनाबाट सबै जना बाँच्नुपर्छ भन्ने सकारात्मक सोच उहाँमा थियो । पछिल्लो नातिकाजी स्मृति दिवस र राष्ट्रपति भवनमा सम्मान ग्रहण भेटघाटकै क्रममा पनि यही कुरा दोहोर्‍याउनुभएको थियो ।’

प्रधानको प्रस्थानले संगीत क्षेत्रमा एउटा खम्बा नै ढलेको संगीतकार राजु सिंह र आभासले महसुस गरेका छन् । ‘संगीतका लागि आज कालो दिन नै हो,’ सिंहले सुनाए, ‘उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’ आभासले भने, ‘संगीतको खम्बा ढल्यो ।’

सांगीतिक जीवनमा थुप्रै पुरस्कारहरू पाएका प्रधान सधैं सक्रिय रहन मन पराउँथे । उनले २०२३ सालमा पहिलोपल्ट नेपाली फिल्म ‘माइतीघर’ मा पार्श्व स्वर दिएका थिए । अन्याय, मायालु, जीवनरेखा, जीवनसंघर्षजस्ता दर्जन हारहारीका फिल्महरूका गीतमा उनले स्वर दिए । ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’ , ‘आँखाभरि सपना’, ‘गुलाफी घुम्टो’, ‘टाढा नभइदेऊ फेरि’, ‘नमान लाज यस्तरी’ लगायत गीतहरू लोकप्रिय छन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×