कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना निको हुने भन्दै अप्रमाणित जडीबुटीको प्रयोग बढ्दो : अनुसन्धान

काठमाडौँ — कोरोना कहर बढेसँगै जडीबुटी तथा परम्परागत औषधिको प्रयोग ह्वात्तै बढेको अध्ययनले देखाएको छ । विभिन्न १० अनुसन्धाताको उक्त अध्ययनले कोरोनाविरुद्ध अप्रमाणित जडीबुटीहरुको प्रयोग बढेको भन्दै सचेत हुन सुझावसमेत दिएको छ ।

जर्नल अफ इथ्नो बायोलोजी एन्ड इथ्नो मेडिसनमा त्रिभुवन विश्वविद्यालय, इन्प्रोक्ससहित साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटी र चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धाताहरूले आलेख प्रकाशित गर्दै कोरोना निको पार्ने भन्दै प्रयोग भइरहेका जडीबुटीमाथि अनुसन्धान र नियमन गर्न सुझाएका हुन् ।

उक्त टोलीले ७ सय ७४ जनामा गरेको अनलाइन सर्वेक्षणका आधारमा यस्तो तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा कोरोना निको हुने भन्दै ३६ परिवारका ६० प्रजातिका जडीबुटी प्रयोग भइरहेको पाइएको छ । तीमध्ये ४५.६१ प्रतिशत जडीबुटी घरायसी प्रयोजनका छन् । सबैभन्दा धेरै प्रयोग हुनेमा अदुवा पाइएको छ ।

मुख्य अनुसन्धानकर्ता एवं साउथ चाइना युनिभर्सिटीका पीएचडी स्कलर दीपक खड्काले भने, ‘सर्वेक्षणमा सहभागीमध्ये ३४.८ प्रतिशतले अदुवा प्रयोग गर्ने गरेको बताए । त्यसपछि बेसारको प्रयोग अत्यधिक देखियो ।’ लसुन, कागती, गुर्जो, अमला, तेजपत्ता, मरिच, असुरो, हर्रो, तुलसी कोरोनाका बेला बढी प्रयोग हुने जडीबुटी रहेको अनुसन्धानले देखाएको छ । उनका अनुसार ४२ प्रतिशतले कोरोना बढेसँगै जडीबुटी प्रयोग गर्न थालेको जवाफ दिएका थिए । ६ सय ७० जनाले कोरोनाको बेला जडीबुटी प्रयोग गर्न सुझाव पनि दिएको अनुसन्धानमा उल्लेख छ ।

चीन र भारतजस्ता देशले जडीबुटीहरू रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग हुने बताउँदै आएका छन् । यद्यपि विश्व स्वास्थ्य संगठन जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनिए पनि कोरोना रोकथाममा कुनै भूमिका नरहेको जनाएको छ । वैज्ञानिकले पुष्टि नगरीकन धेरै मात्रामा जडीबुटी प्रयोग गर्दा बिरामीको स्वास्थ्य थप जोखिममा धकेलिन सक्ने भन्दै डब्लूएचओले सचेत गराउँदै आएको छ ।

कोरोना रोकथाममा केही खोप प्रचलनमा आए पनि अहिलेसम्म प्रमाणित औषधि भने छैन । केही जडीबुटी भाइरल रोगमा उपयुक्त हुने भए पनि कोरोनामा तिनको प्रभावबारे अध्ययन भएको छैन । ‘सामाजकि सञ्जाल तथा अफवाहका कारण प्रयोग बढिरहेको छ,’ अनुसन्धानकर्ता खड्काले भने, ‘इथ्नोबोटोनिस्ट तथा सामाजिक अगुवाहरूले यसको सदुपयोगमा ध्यान दिनुपर्छ ।’ अनुसन्धानले कोरोना फैलिएसँगै घरघरमा जडीबुटी उमार्ने क्रम पनि बढेको देखाएको छ । यस्ता जडीबुटीको प्रयोग र उपयोगिताबारे वैज्ञानिक अनुसन्धान गर्नुपर्ने सर्वेक्षणले सुझाव दिएको छ ।

‘मानिसहरूले जडीबुटीले कोरोना निको पार्न सकिन्छ भन्ने गरेका छन्,’ खड्का भन्छन्, ‘कुनै–कुनै रोगका लागि जडीबुटी प्रयोग हुन्छन् तर कोरोनालाई यकिनका साथ यसैले ठीक पार्छ भन्ने कुनै प्रमाण छैन । यसको नकरात्मक प्रयोग र सूचनाहरू कन्ट्रोल गर्नुपर्ने देखिन्छ । ’

केही जडीबुटी रोगको असर घटाउन भने उपयुक्त हुन सक्ने जनाउँदै खड्काले भने,‘कोरोना संक्रमितहरूमा साइटोकेनिन स्ट्रोम हुन्छ अर्थात् अक्सिजन लेभल कम हुन्छ । बेसारले साइटोकेनिन रिलिजलाई ब्लक गर्छ जसकारण अक्सिजन फ्लो रेगुलेट हुन्छ ।’ उनका अनुसार धेरै जडीबुटी परीक्षण नभएकाले यस्ता कुरा धेरै खाँदा नकारात्मक असर गर्न सक्छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?