अस्पतालबाहिर भुइँमै उपचार- समाचार - कान्तिपुर समाचार

अस्पतालबाहिर भुइँमै उपचार

अक्सिजनकै अभावका कारण कञ्‍चनपुरमा सोमबार तीन जनाको मृत्यु
भवानी भट्ट

कञ्‍चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ । आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार भइरहेको छ ।

महाकाली अस्पतालको आकस्मिक कक्षअगाडि भर्ना भएका कोरोना संक्रमित । तस्बिर : भवानी भट्ट/कान्तिपुर

‘भित्र राख्न अक्सिजन पनि छैन, बेड भरिभराउ छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बाहिर पनि भुइँमै राखेर उपचार भइरहेको छ ।’

उनका अनुसार इमर्जेन्सी वार्डका १२ बेडमा २८ जनाको उपचार गरिँदै छ । अधिकांशलाई अक्सिजन दिइएको छ । बिरामीको चाप बढेपछि अक्सिजनको पनि हाहाकार हुन थालेको छ । अहिले यहाँ आईसीयू, एचडीयू, वार्ड र इमर्जेन्सीमा गरी ८० जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितका लागि बनाएको ५० बेड क्षमताको उपचार केन्द्रमा ६० जनाभन्दा बढी छन् ।

‘अवस्था जटिल बन्दै गएको छ, बिरामीको चाप थेगिनसक्नु भइसक्यो,’ डा. रोकायाले भने, ‘अब आउने बिरामीलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’ उनका अनुसार दैनिक २०/२५ जना जटिल खालका संक्रमित अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा अक्सिजनको हाहाकार हुन थालेको छ । सोमबार साँझ अक्सिजनकै अभावका कारण तीन संक्रमितको मृत्यु भएको डा. रोकायाले बताए । उनका अनुसार नेपालगन्जबाट अक्सिजन सिलिन्डर आइपुग्न केही ढिला हुँदा र यहाँको प्लान्टबाट सप्लाई बन्द हुँदा केहीबेर हाहाकार भएको हो । नेपालगञ्जबाट अक्सिजन आएपछि केही सहज भएको उनले बताए ।

‘अहिले पनि कतिबेला अक्सिजन सकिएर हाहाकार हुन्छ, भन्न सकिँदैन,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘दिनमा सय बढी सिलिन्डर आवश्यक पर्छ, अहिले त्यो पनि पुर्‍याउन धौधौ भइरहेको छ ।’ उनका अनुसार अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपर्ने हुन्छ । जतिबेला नेपालगन्ज वा धनगढीबाट अक्सिजन सिलिन्डर बोकेको ट्रक आउँछ बिरामीका आफन्त अक्सिजनका लागि हारालुछमै उत्रिन्छन् । उनीहरु अक्सिजनको खोजीमा दिनभरि भौंतारिएका हुन्छन् । आफन्तलाई अक्सिजनको जोहो गर्न हारगुहार गरिरहेका हुन्छन् ।

डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमित थपिनेको संख्या बढी भएका कारण बेडदेखि अक्सिजन अभाव भइरहेको अध्यक्ष जोशीले बताए । ‘अब जनशक्तिको पनि अभाव चर्किन थालेको छ,’ उनले भने, ‘डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु एकैपटक ठूलो संख्यामा संक्रमित भएपछि झनै समस्या भएको छ ।’ उनका अनुसार अहिले १० जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनीहरु कतिपय होम आइसोलेसन र अस्पतालकै क्वार्टरमा बसेका छन् ।


प्रकाशित : वैशाख २९, २०७८ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट एमाले नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री श‌ंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

दोलखा 'ख' बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई‌ एमालेका पोलिटब्युरो सदस्यसम्म बनेका थिए ।

उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।

प्रकाशित : वैशाख २८, २०७८ २२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×