२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

रासस

काठमाडौँ — काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ । सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा थप गर्नेबारे मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका थिए ।

पछिल्लो समयमा मुलुकभर कोभिड-१९ संक्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन: अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।

यसैबीच काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भीरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?