कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ’

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रेस वक्तव्य जारी गर्दै उनले सरकार सञ्चालनमा कसैको पनि सहयोग नपाएका कारण राजीनामा दिएको बताएका छन् ।

‘काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ’

आइतबार प्रदेश प्रमुख सीता पौडेलसमक्ष संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका थिए । आफ्नो नेतृत्वमा मन्त्रिपरिषद्ले गरेका कामको धन्यवाद दिँदै उनले संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने बताएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र नयाँ सरकार गठन गर्नसमेत उनले आह्वान गरेका छन् ।

एमाले ठूलो दलको रुपमा रहेर सरकार चलाउने, कांग्रेस प्रतिपक्ष हुने गरी जनताले दिएको मत पूरा गर्न नसकेको बताउँदै एउटै चुनावी मोर्चा, साझा घोषणपत्रबाट विजयी भइ सरकारमा बस्ने र पछि असहयोग गरेको प्रति उनले दु:ख व्यक्त गरेका छन् । उनले यसको उत्तर जनताले नै दिने बताएका छन् । उनले भनेका छन्, ‘संघीयताको मर्म बमोजिम संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत भइ आफ्नो कार्य सञ्चालन गरिरहेको बेला देशमा स्थिरता नचाहने, विकास विरोधीतत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्वाचनमा गएका दलबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएपछि संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको छु ।’

राजीनामा दिँदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका जनताको भावना, आकांक्षा र विश्वासको कदर गरेर देशकै अब्बल र उत्कृष्ट प्रदेश बनाउन सफल भएको बताएका छन् । सीमित साधन स्रोत र बजेटका बाबजुद प्राप्त उपलब्धि लोभलाग्दा रहेको उनको तर्क छ ।

उनले यस सरकारले प्रतिपक्षी दललाई विश्वासमा लिई सरकार संचालन गर्ने संस्कारको विकास गरेको, तीन वर्षको छोटो अवधिमा नै प्रदेशका नागरिकले अनुभूति गर्ने गरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण गरेको पनि उक्त वक्तव्यमा जनाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङप्रति वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यक्रम तय भएको थियो । अविश्वासको प्रस्ताव पास हुने सम्भावना रहेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएको स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?