कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव नेपाललाई भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा

काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा गएका छन् । उनीहरुबीच अहिले वार्ता चलिरहेको छ ।

माधव नेपाललाई भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा

आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केहीबेर अघि संसद् सचिवालयमा पुगेका हुन् । नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्‍ने अन्तिम प्रयाससहित नेम्वाङ र पौडेलले नेता नेपालसँग अहिले छलफल गरिरहेका छन् ।

नेपाल पक्षका सांसदहरू भने सार्वजनिक लेखा समितिको बैठक हलमा बसिरहेका छन् । एक सांसदका अनुसार राजीनामाको तयारीसहित सांसदहरु सिंहदरबारमा भेला हुना थालेपछि सुवास नेम्वाङलगायतले माधव नेपाललाई भेट्न समय मागेका थिए । नेपाललाई भेट्न जानुअघि नेम्वाङ र पौडेल अर्थ मन्त्रालयमा छलफल गरेका थिए ।

झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा जम्मा हुन थालेका हुन् । सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायत छन् । करिब साढे ३ बजेतिर भने वरिष्ठ नेता नेपाल, नेता योगेश भट्टराई पनि सचिवालय पुगेका छन् ।

पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बोधन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

२ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् ।

यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मत संख्या पुग्दैन । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?