कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षण गरिएकामध्ये आधामा संक्रमण

समुदायमा नै संक्रमण फैलिएको स्वास्थ्यकर्मीको दाबी
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा सतर्कता र सावधानी नअपनाउँदा कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको चिकित्सकहरूले दाबी गरेका छन् । लक्षण भएका बिरामीको पीसीआर जाँच गर्दा ५० प्रतिशतको कोरोना रिपोर्ट पोजिटिभ आउन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको हो ।

परीक्षण गरिएकामध्ये आधामा संक्रमण

यो साताबाट मात्र जिल्ला अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा आएको छ । त्यहाँ पछिल्लो समय ९४ जनाको परीक्षण गरिएकोमा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको स्वाब परीक्षण गरिएको थियो । जसमा ५० प्रतिशतको हाराहारीमा संक्रमित भेटिएका हुन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

मृतकको संख्या चार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले सुरक्षा र सावधानी नअपनाउँदा दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको जानकारी दिए । उनले यसलाई न्यूनीकरणका लागि स्थानीय तहले पनि भूमिका निर्बाह नगरेको गुनासो गरे । नेपाल–भारत खुला सीमा पनि संक्रमितको संख्या बढाउनमा कारण रहेको उनको भनाइ छ । ‘अझै पनि सुरक्षा र सावधानी नअपनाउने हो भने यो संख्या बढ्छ, पछि हाम्रो नियन्त्रणमै रहँदैन,’ उनले भने, ‘सर्वसाधारणलाई जागरुक बनाउन र कोरोना रोकथाममा स्थानीय तहले नै राम्रोसँग काम गर्नुपर्छ, बोर्डर त पूर्ण रूपमा सिल नै हुनुपर्छ ।’

जिल्लामा २० वटा पालिका छन् । त्यसमध्ये सीमावर्ती पालिकाहरू बलरा, गोरैटा, मलंगवा, हरिपूर्वा नगरपालिका, पर्सा, कौरेना र विष्णु गाउँपालिकामा संक्रमितको संख्या धेरै छ । संक्रमणको लक्षण देखिए पनि जाँच नगर्दा बिरामी घरघरै छन् । बलराका स्थानीय विनय झाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी प्रत्येक बस्तमा रहेको बताए । तर, पालिकाले स्वाब संकलन र रोकथामका लागि कुनै प्रयास नगरेको उनको भनाइ छ । दूरदराजका गाउँका कतिपय लक्षण भएका बिरामी अझै पनि घरमै छन् । उनीहरू मेडिकल पसलको औषधिको भरमा छन् ।

‘बलरामा उच्च ज्वरोले चार जनाको मृत्यु भयो, त्यसपछि जिल्लाको टोली आएर सम्पर्कका व्यक्तिको परीक्षण गर्दा झन्डै दुई दर्जनमा कोरोनाको रिपोर्ट पोजिटिभ आयो, यसले समुदायमा कोरोना फैलिएको पुष्टि गरेको छ,’ झाले भने, ‘तर स्थानीय तहले आजसम्म केही पनि गर्न सकेको छैन ।’

बलराका मेयर अभयकुमार सिंहले भने स्वास्थ्य संस्थाहरूमा मास्क र सेनिटाइजर उपलब्ध गराएको बताउँदै आएका छन् । चाहिने मात्रामा थ्रोट स्वाब संकलन नहुँदा जिल्ला अस्पतालमा सञ्चालित ल्याबमा प्रत्येक दिन स्वाबको परीक्षण हुन सकेको छैन । अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामीलाई मात्र स्वाब संकलन गर्ने गरिएको छ । जसले प्रत्येक दिन चाहिने मात्रामा स्वाब उपलब्ध नहुँदा दुई/तीन दिनमा रिपोर्ट आउने गरेको छ ।

अस्पतालमा परीक्षण गर्ने स्वाबको क्षमता ९४ भएकाले त्यसअनुसारको स्वाब संकलन हुन नसक्दा मेसिन चलाउनै नसकिएको हो । यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार रातिदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले शुक्रबारसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । संक्रमितको संख्या ५ सय नपुगे पनि जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्था हेरेर जिल्लाभर निषेधाज्ञा लगाउनुपरेको प्रशासनले जनाएको छ ।

सीमामा निस्फिक्री आउजाउ

कोरोना भाइरसको दोस्रो लहर बढेपछि यहाँको नेपाल–भारत नाकामा कडाइ गरिए पनि सर्वसाधारणको आउजाउ रोकिएको छैन । दिउँसोपख नेपालीहरू किनमेलका लागि भारत जाने गरेका छन् भने साँझपख भारतीय सीमावर्ती गाउँबाट मदिरा सेवनका लागि नेपाल आउने गरेका छन् । जिल्लामा संक्रमण तीव्र रूपमा फैलिँदा सीमामा आउजाउ यथावत् छ । मुख्य नाका मलंगवामा हल्का कडाइ गरिए पनि अन्य नाकाबाट सर्वसाधारण भित्रिने र बाहिरिने क्रम नरोकिएको हो । मलंगवामा हेल्थ डेस्कबाट स्वास्थ्य जाँच भइरहेको छ । अरू नाका र खुला ठाउँबाट सर्वसाधारण सहजै नेपाल भित्रिने र बाहिरिने गरेका छन् ।

बलरा, बाराउधोरणलगायत पश्चिमी नाकाबाट आवागमन हुने गरेको हो । आउजाउ नरोकिएकै कारण कोरोना संक्रमण समुदायमा फैलिएको आशंका छ ।

प्रशासनले भने सीमामा कडाइ गरिएको बताउँदै स्वास्थ्य जाँचबिना जोकोहीलाई नेपाल प्रवेशमा रोक लगाएको दाबी गरेको छ । तर सीमित साधनस्रोतका कारण खुला सीमाका हरेक स्थानमा प्रहरीको उपस्थिति कठिन हुने गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सीमामा कडीकडाउ गर्दै समुदायमा परीक्षणको दायरालाई फराकिलो बनाइरहेको दाबी गरे । उनले यसमा स्थानीय तहसँग सहकार्य भइरहेको बताए । सर्लाहीमा ५१ किलोमिटर खुला सीमा छ । जसको व्यवस्थापनका लागि सशस्त्र प्रहरीको ११ वटा बीओपी स्थापना भएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?