कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले एकै परिवारका चारको मृत्यु

अन्तर्राष्ट्रियस्तरका दुई होनहार खेलाडीको निधनले नेपालगन्जको खेल क्षेत्र  शोकमग्न
मधु शाही

नेपालगन्ज — कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । 

कोरोनाले एकै परिवारका चारको मृत्यु

नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने ।

उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो ।

सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

नेपालगन्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीबार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले एक महिना रुसको मस्कोमा विशेष प्रशिक्षणसमेत लिएका थिए ।

आफ्नै प्रशिक्षणमा खेलेको स्मरण गर्दै नेपाल भारोत्तोलन संघका वरिष्ठ उपाध्यक्ष पार्थ सारथि सेन गुप्तले भने, ‘शकिल, सुरेन्द्र हमाल, समसुद्दिन एकै पुस्ताका खेलाडी हुन् । त्यो बेला नेपालगन्जको बलियो टोली थियो । भेन्टिलेटरमा भए पनि दुई दिनअघि छोरामार्फत कुरा गरेको थिएँ, हिजो साँझ आकस्मिक खबर आयो । स्तब्ध छु ।’ राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन् । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।

अन्तर्राष्ट्रिय भारोत्तोलनका पदक विजेता समसुद्दिन सिद्दिकीले जाहिर र शकिलजस्ता अन्तर्राष्ट्रियस्तरका दुई होनहार खेलाडीको निधन हुनुले नेपालगन्जको खेल क्षेत्रमा ठूलो धक्का पुगेको बताए । ‘देशलाई योगदान गरेका व्यक्तित्वप्रति सम्मानजनक उपस्थितिमा दाहसंस्कारसमेत गर्न नपाउनु सबैभन्दा दुःखको पक्ष रह्यो,’ उनले भने, ‘नेपालगन्जको खेल क्षेत्र अहिले शोकमग्न छ ।’

प्रकाशित : वैशाख २५, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?