ओली र नेपालपक्षका दोस्रो तहका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली र नेपालपक्षका दोस्रो तहका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति 

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी विवाद समाधानका विषयमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालपक्षका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा संवाद भएको छ ।

शुक्रबार चार बजेदेखि साढे सात बजेसम्म छलफल भए पनि कुनै निष्कर्षमा पुगिनसकेको सहभागी एक नेताले जानकारी दिए । यद्यपी संवादलाई निरन्तरता दिने विषयमा भने समझदारी भएको छ ।

छलफलमा ओलीको तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्वाङ र विष्णु रिमाल सहभागी थिए । नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल तथा सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी रहेको ती नेताले जानकारी दिए ।

छलफलमा नेपाल पक्षका नेताहरूले माओवादीसँग एकता गर्नुपूर्वकै अवस्थामा पार्टीलाई फर्काएर अगाडि बढ्नुपर्ने अडान नै दाहोर्‍याएका छन् । ओली पक्षका नेताहरूले भने त्यसभन्दा मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव राखेको नेपाल पक्षका एक नेताले जानकारी दिए ।

‘पहिला एकतापूर्वको कमिटीलाई यथास्थितिमा फर्काउने र अनि माओवादीबाट आएका साथीलाई थप्ने नै निकास हो भन्ने अडान राखेका छौं,’ ती नेताले भने, ‘उहाँहरूले मध्यमार्गी बाटो खोज्नपर्‍यो भन्नु भयो । सहमति भएन । छलफल सौहार्दपूर्ण भयो र वार्ता जारी राख्ने भन्ने सहमति गरेर उठ्यौं ।’

ती नेताका अनुसार ओली पक्षले मध्यमार्गी प्रस्ताव भने पेश गरेका थिएनन् । ‘फागुन २८ को निर्णय छोड्न प्रधानमन्त्री तयार हुनुहुन्न, तर बीचको बाटो खोजौं भन्नु भयो,’ ती नेताले भने । बीचको बिन्दु के हो भन्ने प्रश्नमा ती नेताले भने, ‘हामीले कम्तिमा नवौं महाधिवेशनबाट बनेको आधिकारीक कमिटीको मेकानिजमबाट समाधान खोजेर जानुपर्छ भन्यौं,’ ती नेताले भने ।

नेपालपक्षले राखेका प्रस्तावबारे ओलीलाई ब्रिफिङ गरेपछि पुनः शनिबार संवादमा बस्ने सहमति भएको ती नेताले बताए । तर समय भने तय भइसकेको छैन । शनिबार पुनः छलफलपछि ओली र नेपालबीच पनि संवाद हुन सक्ने उनले बताए ।

‘यो टिमले विवाद समाधानको सम्भावना अगाडि बढायो भने ओली कमरेड र माधव कमरेडबीच संवाद होला । नत्र नहुन पनि सक्छ । त्यस्तो आशावादी हुने स्थिति छैन । तर, कम्तिमा संवादहिनताको स्थितिमा संवाद सुरु भएको छ,’ ती नेताले भने ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान नेता विष्टलाई बोलाएर करिब तीन घण्टा छलफल गरेका थिए ।

प्रकाशित : वैशाख २४, २०७८ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

आफन्तलाई जिम्मा लगाइएकी युवती भारतमा मृत फेला

अवधेशकुमार झा

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी युवती भारतमा मृत फेला परेकी छन् । विहार राज्यअन्तर्गत मधुवनी जिल्लाको करियौत महदेवा गाउँमा १८ वर्षीय पुनमकुमारी यादवको शव चारदिन अघि भारतीय प्रहरीले फेला पारेको हो । बगरमा घाँटी थिचिएको र कपडाले बेरिएको अवस्था उनको शव मंगलबार फेला परेको लौकही ब्लकका प्रमुख रामकुमार यादवले जानकारी दिए । उनको शव प्रहरीले मधुवनी जिल्ला अस्पतालमा राखेको छ । 

पुनमकुमारी कसैलाई थाह नदिई केही दिनअघि घरबाट हिँडेकी थिइन् । उनलाई सिमावर्ती बिहार राज्यको भुतहा चोकमा भेटिएपछी त्यहाँको नरैया थानाका थानेदारले नेपालस्थित उनको बुवा आनन्द यादवलाई छोरी बुझ्नका लागि आउन फोन गरेका थिए । भारतीय प्रहरीको फोनपछि आनन्द केही आफन्तसहित छोरी लिन नरैया थाना पुगेका थिए । नरैया चौकीमा कागज गर्दै आनन्दले छोरी पुनमको जिम्मा लिएको थिए ।

नरैया थानाबाट परिवारको जिम्मा लगाइएकी पुनमको शव त्यसको दुई दिन पछि महदेवा–करियौत बस्तीबीचमा फेला परेको हो । प्रहरीका अनुसार बुवा आनन्दले जिम्मा लिएकै क्रममा पुनमले लगाएकी कपडा र उनको हत्या भएको अवस्थामा लगाएको कपडा एउटै रहेको पाइएको छ । पुनको हत्या जिम्मा लिन पुगेका बुवा आनन्दसहितका आफन्तले नै गरेको भारतीय प्रहरीको अनुमान छ । लौकही थानाका प्रभारी रामचन्द्र चौपालले नेपाली युवतीको शव फेला परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले सिमावर्ती बिहारको मधुवनी जिल्लामा सप्तरीकी एक युवतीको शव फेला परेको जानकारी आएको बताए । उनले भारतीय प्रहरीसित समन्वय भइरहेको जानकारी दिए । मृतक पुनमको घरमा प्रहरी टोली पुग्दा उनका हजुरआमाबाहेक कोही नभेटिएको एसपी धमलाले बताए ।

लौकही ब्लकका प्रमुख रामकुमार यादवका अनुसार ७२ घण्टाभित्र कोही आफन्त लिन नआए भारतीय प्रहरीले आफनै तरिकाले शव व्यवस्थापन गर्ने नियम रहेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×