कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्ना नपाएपछि रुँदै फर्किन्छन् संक्रमित

शय्या भए पनि अक्सिजन अभाव रहेको भन्दै बिरामी लिँदैन शिक्षण अस्पताल
मधु शाही

नेपालगन्ज — टाउकोलाई सेतो रुमालले टनक्क बाँधेर उनी अस्पतालको ढोकानिर थुचुक्क बसेकी थिइन् । नेपालगन्जको चर्को गर्मी । पसिना पुछ्दै आँखाभरि आँसु लिएर अस्पतालमा भर्ना हुने आशामा उनको दिन बित्यो । उनलाई सास फेर्न गाह्रो भइरहेको टाढैबाट देखिन्थ्यो तर भर्ना हुन पाइनन् ।

भर्ना नपाएपछि रुँदै फर्किन्छन् संक्रमित

उनका आफन्त पनि त्यहाँ कोही थिएनन् । बैजनाथ गाउँपालिका चिसापानीकी ती संक्रमित महिला बुधबार अस्पतालले भर्ना लिन नमानेपछि नेपालगन्ज शिक्षण अस्पतालबाट रुँदै घर फर्किइन् ।

बेड र अक्सिजन अभाव भएपछि बाँकेका अस्पताल संक्रमितलाई फर्काउन बाध्य छन् । शिक्षण अस्पताल कोहलपुरबाट दैनिक दुई–तीन जना संक्रमित भर्ना नपाएर फर्किने गरेको अस्पतालका चिकित्सक डा. देवेन्द्र आचार्यले बताए । उनका अनुसार कतिपय भर्ना भएका बिरामीका आफन्तले आफ्नै प्रयासमा अक्सिजन जोहो गरेका छन् । अस्पतालमा बेड थपिए पनि अक्सिजन पर्याप्त नहुँदा बिरामी फर्काउन बाध्य भएको उनले सुनाए । ‘सिकिस्त बिरामी आउँदा पनि अक्सिजन अभाव छ, त्यसैले भर्ना लिन सकिँदैन,’ उनले भने, ‘लाचार भएर फर्काउनुबाहेक विकल्प नै छैन ।’

महामारीका बेला अस्पतालसम्म आएका बिरामीलाई स्रोतको अभाव देखाएर जहाँसुकै जा भन्नु अस्पतालको गैरजिम्मेवारी भएको एडभोकेसी फोरम बाँकेका संयोजक वसन्त गौतमले बताए । अस्पतालको अनुगमनमा समेत पुगेका उनले बिरामी राख्ने बेड खाली छन् तर अक्सिजन नभएर भर्ना नलिएको सुनाए । यसमा सरकारले बेलैमा स्रोत र साधन उपलब्ध गराउन नसक्नु कमजोरी हो भने अर्कोतर्फ निजी अस्पतालले व्यवसायमुखी नभई सेवामुखी धारणा पनि राख्न जरुरी रहेको उनले बताए ।

सुरुमा शिक्षण अस्पतालले ३ सय बेड क्षमताको कोभिड अस्पताल बनाउने सरकारसमक्ष प्रतिबद्धता जनाएको थियो । अहिले बेड जडान गरेपछि अक्सिजनको माग गरेको हो । अस्पतालमा बेड व्यवस्थित रूपमा राखिएको छ । अहिले १ सय २७ जना संक्रमितलाई भर्ना गरेर उपचार गरिरहेको चिकित्सक आचार्यले बताए । नयाँ बिरामी भर्ना गर्नेबित्तिकै अक्सिजन अपुग हुने उनले बताए ।

अस्पतालमा १८ वटा ठूला सिलिन्डर बराबर क्षमता भएको लिक्विड ट्यांकी छ । त्यो ट्यांकीको अक्सिजन खपत भइसकेको अस्पतालका प्रमुख सुरेशकर्ण कनौडियाले बताए । भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन धौधौ भइरहेका बेला नयाँ बिरामी थप गर्न नसकिने उनले बताए । यसले गर्दा अस्पतालमा राखिएका थप नयाँ बेड खाली छन् । नेपालगन्जमा दुईवटा अक्सिजन प्लान्ट छन् । तिनको क्षमता १ हजार १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्नु हो, जसमध्ये ५ सय सिलिन्डर भेरी अस्पतालले खपत गरिरहेको छ । बाँकी २ सय सिलिन्डर शिक्षण अस्पतालले खपत गर्छ ।

नेपालगन्ज अक्सिजन प्लान्टले सुर्खेत, धनगढी, दाङ, बर्दिया, टीकापुर, हुम्ला, जुम्लासम्म पुर्‍याउँछ । साथै, होम आइसोलेसनमा बसेका बिरामीले समेत निजी पहलमा अक्सिजनको प्रयोग गरिरहेका छन् । डा. कनौडियाका अनुसार भारतबाट लिक्विड अक्सिजन ल्याउन पहल भइरहेको छ । सरकारले दुई–तीन दिन समय लगाएर भए पनि आपूर्ति पूरा गरे बिरामी फर्काउनुपर्ने स्थिति नआउने उनले बताए । उनका अनुसार एक जना बिरामीलाई मोटामोटी प्रतिदिन दुई–तीन सिलिन्डर आवश्यक पर्छ ।

शिक्षण अस्पतालले अक्सिजन अभाव भएको जनाउँदै बिरामी फर्काउनुपरेको अवस्थाप्रति प्रशासन गम्भीर देखिँदैन । बेड थप्दैमा बिरामीको उपचार भइहाल्छ भन्ने हल्का सोचले गर्दा बिरामी मर्कामा परेका हुन् । अस्पतालले प्रशासनसमक्ष ३ सय बेडको वार्ड सञ्चालन गर्न ५ सय सिलिन्डर अक्सिजन माग गरेको थियो ।

प्रकाशित : वैशाख २३, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?