कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीविरुद्ध स्वस्फूर्त उठेका हात

कोभिड अलायन्स फर नेपालमार्फत संक्रमितहरुको सेवामा जुटे पेसाकर्मी, भ्याक्सिन फर नेपालले अमेरिकासँग १ करोड २० लाख डोज खोप माग्यो
आर्थिक समस्यामा परेका संक्रमितलाई निःशुल्क सिलिन्डर उपलब्ध गराउँदै अक्सिजन फर नेपाल, हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालद्वारा खाना वितरण
जनकराज सापकोटा

काठमाडौँ — व्यवस्थापन परामर्शदाता तथा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी काम गर्ने सुमना श्रेष्ठ लकडाउनपछि झनै व्यस्त छिन् ।

महामारीविरुद्ध स्वस्फूर्त उठेका हात

कोरोनाको संक्रमण तीव्र बनेसँगै बिरामीले बेड, अक्सिजन र आवश्यक स्वास्थ्य परामर्श नपाइरहेको, उपचारको खोजी गर्दा गर्दै बिरामीले ज्यान गुमाउनुपरेको र सरकारी स्वास्थ्य संरचनाले महामारी थेग्न नसकिरहेका समाचारले उनको मन खिन्न हुन्थ्यो ।

प्रत्येक साँझ उनी नेपालसहित विभिन्न देशमा छरिएका दर्जनौं नेपालीसँग ‘जुम मिटिङ’ मा यस्तै कुरा साट्थिन् । त्यसैक्रममा श्रेष्ठ र उनका साथीहरू यस्ता समस्याहरूसँग जुध्न केही प्रयत्न गर्ने निष्कर्षमा पुग्छन् । त्यही निष्कर्षको फल हो– ‘कोभिड अलायन्स फर नेपाल ।’

यो अलायन्समा विभिन्न क्षेत्रमा क्रियाशील पेसाकर्मी जोडिएका छन् । चिकित्सक, जनस्वास्थ्यविद्, तथ्यांक विश्लेषक, पत्रकार, सामाजिक अभियन्ता र व्यवस्थापकहरूले सहयोगका लागि हात अगाडि बढाएका हुन् । इमर्जेन्सी चिकित्सा विज्ञ रामु खरेल, संक्रामक रोग तथा सघन उपचार विज्ञ प्रभात अधिकारी, सञ्चारकर्मी सुविना श्रेष्ठ, पत्रकार कसिसदास श्रेष्ठलगायत अलायन्समार्फत सक्रिय छन् ।

बुधबार कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले नेपालमा कोभिड संक्रमण कम गर्न स्वयंसेवी रूपमा काम गर्ने गरी अलायन्स बनाइएको बताइन् । अलायन्सले बुधबारदेखि नै कोभिड मेडिकल हटलाइन ९८८००३५००० सुरु गरेको छ । जसमा ८/८ घण्टाको दुई सिफ्टमा ४ जना मेडिकल स्टाफ खटाइएको छ । श्रेष्ठका अनुसार उनीहरूले घरमै बसिरहेका संक्रमितलाई स्वास्थ्यजन्य परामर्शका साथै संक्रमित भएको स्थानबाट नजिकको अस्पताल तथा अक्सिजनको आवश्यकता परे त्यससम्बन्धी सूचना दिएर सघाउँछन् ।

अलायन्सले आइसोलेसन सेन्टर सञ्चालन गर्न स्थानीय तह वा अन्य संघसंस्थालाई सघाउने र संक्रमितहरूको उपचारमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम थालिसकेको छ ।

‘कोभिड अलायन्स फर नेपाल’ मा जोडिएका सबैले आफ्नो पेसागत दक्षताअनुसारको काम सम्हालिरहेका छन् । अलायन्समा रहेका चिकित्सक, जनस्वास्थ्यविद् र व्यवस्थापकले दाङको तुलसीपुर नगरपालिकालाई कोभिड संक्रमण नियन्त्रण र संक्रमितहरूको उपचारसम्बन्धी तालिम दिइसकेको छ । ‘संक्रमितहरूको संख्या बढिरहेको समयमा अस्पतालमा बढ्दो चाप घटाउन हामीले समन्वयकारी काम गरिरहेका छौं,’ श्रेष्ठले भनिन् ।

अलायन्ससँग हाल अक्सिजन फर नेपाल र भ्याक्सिन फर नेपाल नामक समूह पनि जोडिइसकेका छन् । फोहरमैला पुनः प्रशोधन र वातावरण संरक्षणमा काम गर्ने आनन्द मिश्र अलायन्ससँग जोडिएर ‘अक्सिजन फर नेपाल’ को समन्वय गरिरहेका छन् । मिश्रले अस्पतालमा भर्ना भएर उपचार गराइरहेका कमजोर आर्थिक अवस्था भएका बिरामीलाई डाक्टरको सिफारिसमा निःशुल्क अक्सिजन उपलब्ध गराउन सामाजिक काममा सक्रिय हन्ड्रेड समूहसँग सहकार्य गरेर काम थालेको बताए । उनले अक्सिजनसहितको ५० बेड तयार पार्ने काममा जुटिरहेको बताउँदै भने, ‘अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर लागिपरेका छौं ।’

अक्सिजन नेपालले मंगलबारदेखि नै ९८०१३०९०८५ नम्बरको हटलाइन सुरु गरेको छ । आनन्दका अनुसार सोमबार मात्रै १५ जनाभन्दा धेरैले अक्सिजनका लागि फोन गरेका थिए भने झन्डै २५ जनाले अक्सिजन नेपालको फेसबुक पेजमार्फत सहायता मागेका थिए । मिश्रले भने, ‘सकेसम्म आफैं अक्सिजन उपलब्ध गराइदिन्छौं । नसकेको खण्डमा सूचना दिएर सहयोग गर्न लागिपरेका छौं ।’

अलायन्ससँग जोडिएर तयार भएको ‘भ्याक्सिन फर नेपाल’ समूहले बुधबार मात्रै देश तथा विदेशमा रहेका सय प्रभावशाली नेपालीहरूको हस्ताक्षरसहित काठमाडौंस्थित अमेरिकी राजदूतलाई पत्राचार गरेका छन् । समूहका सदस्य साकार पुडासैनीले नेपाललाई कम्तीमा १ करोड २० लाख डोज खोप उपलब्ध गराउन अमेरिकी सरकारसँग अनुरोध गरेको बताए ।

अमेरिकामा बसेर विभिन्न क्षेत्रमा काम गरिरहेका प्रभावशाली नेपाली र नेपाललाई माया गर्ने अमेरिकी ६३ जना र अमेरिकाका लागि पूर्वनेपाली राजदूतहरू ३ जनासहित ८१ जनाको सामूहिक अनुरोधपत्र काठमाडौंस्थित अमेरिकी राजदूतलाई पठाइएको हो ।

संक्रमण बढ्दै जाँदा सरकारी संयन्त्रले उपचारको प्रबन्ध गर्न नसकिरहेका बेला नागरिक स्तरबाट संक्रमणविरुद्ध लड्न हातहरू उठेका छन् । ई–कमर्समा सक्रिय धुम्बाराहीका सुरजराज पाण्डेसहितका ८ जनाले कोभिडकनेक्टएनपी डट ओआरजी नामक वेबसाइट खोले । साइटका अलवा सामाजिक सञ्जालमार्फत पनि उनीहरूले संक्रमितका लागि बेड, आवश्यक औषधि तथा अक्सिजन सिलिन्डर खोज्ने काम गरिरहेका छन् । समूहका केही सदस्य सामाजिक सञ्जाल र साइट व्यवस्थापनमा खटिएका छन् भने केही सदस्य कुन अस्पतालमा बेड खाली छ, अक्सिजन कहाँ पाइन्छ, कसले कस्तो सेवा गरेर संक्रमितलाई सहयोग दिन सक्छ भन्ने जस्ता सूचना खोजेर आवश्यकलाई उपलब्ध गराउँछन् । मंगलबार मात्रै आफूहरूले १ सय ३९ जनालाई बेड खोजेर सहयोग पुर्‍याएको र सय जनाका लागि बेड खोजिरहेको पाण्डेको दाबी छ ।

पाण्डेले हरेक दिन बिरामी र उनीहरूका आफन्तले रुँदै फोन गर्ने गरको बताए । आईसीयू बेडका लागि गुहार माग्नेको बोलीले हरेक पटक आफ्नो मन कुँडिन्छ, उनको भनाइ छ । फोनबाट मात्रै सम्भव नभएर पाण्डे मंगलबार साथीहरूसँग काठमाडौंका ९ वटा अस्पतालमा बेडको खोजीमा हिँडे । तर एउटा अस्पतालमा चार वटा बेड मात्र खाली पाइयो । ‘बिरामीलाई एम्बुलेन्समा राखेर बेड खोज्दै अस्पताल चहार्दा कति सास्ती होला ?’ उनले भने, ‘संक्रमणको संख्या बढ्दै जाने, बेड र अक्सिजन नपाएर संक्रमितको मृत्यु हुँदै जाने अवस्था रोक्न हामीले समन्वयकारी भूमिका खेलेका हौं ।’

बुधबार साँझ मात्रै यो वेबसाइटमा ९७ जना कोरोना संक्रमितले अस्पतालको बेड खोजिरहेको र १७ जनाले अक्सिजन सिलिन्डर खोजिरहेको बताएका थिए । साइटमा गएर संक्रमित वा उनीहरूका आफन्तले आफूलाई बेड, अक्सिजन, सवारीसाधन, खानेकुरा के चाहिएको हो भनेर दर्ता गर्न सकिन्छ । त्यसका आधारमा सुरजसहितका स्वयंसेवक साथीहरूले आवश्यक कुरा कहाँ उपलब्ध छ भन्ने सूचना उनीहरूलाई उपलब्ध गराउँछन् । सुरजका अनुसार अहिले उनीहरूसँग जोडिएर ६० जना स्वयंसेवकले २४ सै घण्टा काम गरिरहेका छन् । उनले भने, ‘सबैले घरघरमै बसेर निःशुल्क काम गरिरहेका छन् ।’

उनीहरूले ९८४२८६३०३९ र ९८२३०११६२३ को हटलाइन नम्बर पनि सुचारु गरेका छन् । कोभिड संक्रमणसँग सम्बन्धित सूचना लिन वा आवश्यक चिकित्सकीय परामर्श लिन यी नम्बरमा फोन गर्न सकिन्छ । सुरजका अनुसार यो समूहमा स्वयंसेवी रूपमा काम गर्न केही चिकित्सकहरू पनि जोडिएका छन् । जसले फोनमै संक्रमित वा उनीहरूका आफन्तलाई आवश्यक सूचना दिएर सहयोग गर्छन् । उनका अनुसार मंगलबार मात्रै उनीहरूले बेड खोजिरहेका १३९ जनालाई विभिन्न अस्पतालमा बेड मिलाइदिए । त्यस्तै २९ जनालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइदिए ।

संक्रमणसँग जुध्न नागरिकस्तरबाट भएका प्रयासहरूले संक्रमणको जोखिम खेपिरहेका र निषेधाज्ञाका कारण समस्यामा परेकाले थोरै भए पनि राहत पाएका छन् । त्यस्तै न्यून आर्थिक अवस्था भएका र सडकमा आश्रितहरू भोकै बस्न नपरोस् भनेर हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालले थापाथलीको प्रसूति गृह पछाडि बिहानको समयमा निःशुल्क खाना खुवाइरहेको छ । हाम्रो टिम नेपालका सक्रिय सदस्य विमल पन्तले निषेधाज्ञा लम्बिँदै जाँदा खानाको खोजी गर्नेहरूको संख्या पनि बढिरहेको जनाए । उनले सोमबार करिब ३ सय जनालाई खाना खुवाएकोमा मंगलबार खानेको संख्या झन्डै ५ सय पुगेको बताए ।

यी दुई समूह र सहानुभूति नेपाल समूह मिलेर आइतबारदेखि अक्सिजन बैंकको पनि सुरुवात गरेका छन् । समूहका सक्रिय सदस्य पुकार बमले आफूहरूलाई ३ दिनमै हजार जनाभन्दा बढीको फोन आएको बताए । उनले बजारमा अक्सिजनको कालोबजारी व्यापक भएको, आवश्यक पर्ने संक्रमितले अक्सिजन नपाएर ज्यानै गुमाउनुपर्ने अवस्था आउन लागेको देखेपछि आफूहरूले अक्सिजन बैंकको काम थालेको बताए । समूहले मंगलबार मात्रै भक्तपुरको सरकारी अस्पताल र मेडिसिटी अस्पतालमा अक्सिजन नपाएका र किन्ने आर्थिक हैसियत नभएकालाई ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गरायो ।

पुकारले आफूहरूलाई अक्सिजनका अलावा अस्पतालमा बेड मिलाइदिन, सिकिस्त भएका संक्रमितका लागि आवश्यक पर्ने भनिएको रेम्डेसिभियर औषधि उपलब्ध गराइदिन भन्दै दर्जनौं फोन आइरहेको सुनाए । उनले भने, ‘हाम्रो स्रोत र सम्पर्क प्रयोग गरेर कहाँ अक्सिजन सिलिन्डर उपलब्ध छ, खाली सिलिन्डर लगेर कहाँ भर्न सकिन्छ भनेर पनि सूचना दिइरहेका छौं ।’

केही दिनअघिबाट ज्वरो आएका हाँडीगाउँका नकुल गुरुङलाई सोमबार मात्रै आफू संक्रमित भएको थाहा भयो । श्वासप्रश्वासमा समस्या देखिँदै गएपछि उनका भाइ मनोजले सुरुमा त दाइलाई अस्पतालमा भर्ना गर्न सकिन्छ कि भनेर खोजी गरे । ‘कुनै अस्पतालमा बेड नपाएपछि घरमै राखेर अक्सिजन दिने भनेर सिलिन्डर खोज्दै हिँडे । तर कतै पाइएन,’ उनले भने । दाइको स्वास्थ्य जटिल भए पनि अक्सिजन नपाइरहेका बेला उनले हाम्रो सानो प्रयास, हाम्रो टिम नेपाल र सहानुभूति नेपालको सेवा दिइरहेको खबर थाहा पाए । तत्कालै उनले समूहका सदस्य विमल पन्तलाई फोन गरे । विमलले अनेकतिरबाट खोजी गरेर बुधबार उनको घरमै अक्सिजन सिलिन्डर पुर्‍याइदिए । ‘आज मात्रै दुई जना बिरामीलाई घरमै निःशुल्क अक्सिजन पुर्‍याइदियौं,’ विमलले भने ।

त्यस्तै, थापाथलीको प्रसूति गृह पछाडि साँझको समयमा निःशुल्क भोजन सेवाले पनि खाना खुवाइरहेको छ । समूहका सदस्य अंशु यादवले आफूहरूले अन्य स्थानमा पुगेर पनि खाना बाँडिरहेको बताए । उनका अनुसार पछिल्ला दिनहरूमा खानाको खोजी गर्नेको संख्या बढिरहेको छ । ‘मंगलबार साँझ मात्रै २ सय ७३ जनाले खाना खाए । यो संख्या आइतबारतिर केही कम थियो,’ उनले भने । यो समूहमा सामान किनमेल गर्ने, खाना बनाउने र वितरण गर्ने गरेर २१ जना खटिएका छन् । ‘निषेधाज्ञा लम्बिँदै गए पनि भोकले कोही नमरून् भनेर खटिएका हौं,’ यादवले भने ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?