उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्‍ने पालिकाको पत्र अनिवार्य- समाचार - कान्तिपुर समाचार

उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्‍ने पालिकाको पत्र अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्‍ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुने भएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो ।

त्यस्तै पत्रकार तथा सञ्‍चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको प्रेस पास नभएका सञ्‍चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्‍चार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णय गरिएको छ ।

बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई झन् कडा पार्दै २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्‍चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैंक जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

थप निर्णयहरु

  • अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्‍चालन गर्न व्यवस्था मिलाउने ।
  • सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवातजावत गर्न दिने ।
  • बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्‍चालन गर्ने व्यवस्था मिलाउने । सो को विवरण नेपाल राष्ट्र बैंक जिल्ला प्रशासन कार्यालयलाई दिने ।
  • बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्‍चालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने ।
  • अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने ।
  • विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्‍चालन गर्ने/गराउने
  • फुटपाथ तथा खुला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्‍चालन हुने विभिन्‍न व्यापार व्यवसाय सञ्‍चालन एवं कवाडी स‌ंकलन गर्न रोक लगाउने

प्रकाशित : वैशाख २१, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो [अपडेट]

तृप्ति शाही

बैतडी — बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । 

उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा खेमसिंह भण्डारीको मृत्यु भएपछि मृतकको संख्या ६ जना पुगेको हो । यसअघि चालक तेजबहादुर बोहराको पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परेर ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् ।उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो । मृतक ५ जना वडा नम्बर–६ कै रोडिदेवलका स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालक भने दशरथचन्द नगरपालिका वडा नम्बर ४ का हुन् । उनका अनुसार घाइते ४ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

...

बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा चालक तेजबहादुर बोहराको मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परि अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

मृतक ४ जना वडा नम्बर–६ कै स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालनको ठेगानाबारे जानकारी लिइरहेको बताए । उनका अनुसार घाइते ५ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

...

बैतडीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । घाइतेलाई हतारमा अस्पताल पठाइएकोले अवस्थाबारे अहिले भन्न नसकिने खड्काले बताए । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित : वैशाख २१, २०७८ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×