कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माथि सल्लाह गरेपछि अहिलेलाई एमालेलाई नै समर्थन गर्ने निर्णय  लियौं : शाही 

लुम्बिनीमा स्वतन्त्र सांसदको 'ट्विस्ट'

काठमाडौँ — लुम्बिनी प्रदेश सभामा सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएका दुई सांसदले आफूहरूको समर्थन एमाले दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेललाई नै भएको बताएका छन् ।

माथि सल्लाह गरेपछि अहिलेलाई एमालेलाई नै समर्थन गर्ने निर्णय  लियौं : शाही 

आइतबार मात्रै माओवादी र कांग्रेस गठबन्धन्का मुख्यमन्त्रीका दाबेदार कुलबहादुर केसीलाई समर्थन गरेर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले सोमबार भने आफूहरू एमालेमै रहेको विज्ञप्ति जारी गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी संयोजक रहेको स्वतन्त्र राजनीतिक समूहमा आबद्ध श्रीवास्तव र शाही सोमबार पोखरेललाई नै समर्थन दिने निर्णयमा पुगेका हुन् ।

केसीलाई समर्थन दिँदा कानुनी र राजनीतिक रूपमा अन्योलता भएकाले निर्णय फेर्नुपरेको शाहीले बताएका छन् । 'हिजो कानुनी र राजनीतिक रूपले अन्योलता भयो । आज छलफल सल्लाह गरेपछि पहिले जे थियो त्यसमै बस्ने भन्ने कुरा भयो,' उनले कान्तिपुरसँग भने, 'हामी स्वतन्त्र राजनीतिक समूहको सांसद हो तर पार्टीको अनुसार उहाँहरूको चुनाव चिह्नबाट लडेको हुनाले उहाँहरूसँगै बस्नुपर्छ भन्ने कुरा भयो । हामीबीच आपसी सल्लाह भयो र माथि (हृदयेश त्रिपाठी)सँग पनि सल्लाह भयो । जे छ त्यसैमा रहनुपर्छ अहिलेलाई त्यस्तो गर्नु हुन्न भन्ने कुरा भएरै हामीले निर्णय लिएका हौं ।'

आफूहरूले समर्थन गर्दा पनि मुख्यमन्त्रीमा पोखरेल कायम रहने वा नरहने भन्नेबारे भने पछि थाहा हुने शाहीको भनाइ थियो । 'मुख्यमन्त्रीमा पोखरेलले हिजो शपथ लिइसक्नुभएको छ । ३० दिनिभत्र विश्वासको मत लिन पाउनुहुन्छ अब,' उनले थपे, 'संख्या त उहाँ कसरी पुर्‍याउनुहुन्छ विश्वासको मत लिएपछि थाहा भइहाल्छ ।'

माओवादी र कांग्रेससहितको गठबन्धनले शाही र श्रीवास्तवले आफूलाई समर्थन गरेको भन्दै प्रदेश प्रमुख समक्ष हस्ताक्षर प्रस्तुत गरेका थिए । तर सोमबार शाही र श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भने आइतबार माओवादीका कुलप्रसाद केसीलगायतले आफ्नो गठबन्धनको सरकार बनाउन लिएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको बताएका छन् ।

श्रीवास्तव कपिलवस्तु– २ ‘ख’ बाट र शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।

प्रकाशित : वैशाख २०, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?