पोडीचरी विश्वविद्यालयद्वारा सबै विदेशी विद्यार्थीलाई होस्टल छाड्न आदेश- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोडीचरी विश्वविद्यालयद्वारा सबै विदेशी विद्यार्थीलाई होस्टल छाड्न आदेश

होस्टल नछाडे पानी र बिजुली बन्द गर्ने नेपाली विद्यार्थीलाई कर्मचारीको धम्की
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतको पोडीचरी विश्वविद्यालयले पनि महामारीको कारण देखाउँदै आवासीय विद्यार्थीहरुलाई शुक्रबार (३० अप्रिल) सम्म होस्टल छाड्न भनेको छ । विश्विद्यालयले २२ तारिखमा एक सूचना जारी गर्दै होस्टल खाली गर्न भनेको थियो । त्यत्तिमात्र होइन होस्टल छाड्नका लागि कर्मचारीहरुले धम्कीसमेत दिएका छन् ।

विश्वविद्यालयको होस्टल छाड्ने आदेश र कर्मचारीको धम्कीका कारण होस्टलमा रहेका छ जना विदेशी विद्यार्थीहरु तनावमा परेका छन् । तिनमा नेपाल, बंगलादेश, श्रीलंका, जिम्बाबेबाट एक/एक जना र दुई जना अफगानिस्तानका छन् । ‘गत वर्ष पनि होस्टल खाली गराइएको थियो तर, विदेशी विद्यार्थीहरुलाई बस्न दिइएको थियो । यसपटक पनि त्यस्तै होला भनेर ढुक्क थियौं । तर, यसपटक होस्टल छाड्न धम्की नै दिइएको छ जसले गर्दा हामी सबै तनावमा छौं’, अन्तर्राष्ट्रिय मामिला विषयमा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेलले भनिन् ।

उनले बुधबार दुई जना कर्मचारीहरु अनुमति नलिई कोठामा छिरेको र दुई दिनमा होस्टल छाड् भनेर धम्की दिएको बताइन् । ‘म बाथरुम गएको बेला नसोधी सिधै कोठामा आए अनि शुक्रबारसम्म नछाडे पानी र बिजुली बन्द गरिदिन्छु भन्ने धम्की दिएर गए’ लुइँटेलले भनिन् ।

लुइँटेलले महामारीका कारण विद्यार्थीहरु आफै तनाव र त्रासमा रहेका बेला विश्वविद्यालयले होस्टल छाड्न भन्दै अमानवीय व्यवहार गरेको बताइन् ।‘बाहिर डेरा पनि पाइँदैन नेपाल जान पनि यहाँबाट सहज छैन’ उनले भनिन् । साथै उनले विश्वविद्यालयमा अझै पनि धेरै कर्मचारी बसिरहेको तर, विद्यार्थीहरुलाई मात्र जबर्जस्ती होस्टल छाड्न भनिएको आरोप लगाइन् । ‘अझै पनि धेरै कर्मचारी यहाँ बसिरहेका छन् । तर हामीलाई मात्र यस्तो व्यवहार गर्नु खेदजनक हो’ उनले भनिन् ।

विश्वविद्यालयको होस्टल खाली गराउने र कर्मचारीले होस्टल छाड्न धम्की दिएको प्रति त्यहाँको विद्यार्थी काउन्सिलले पनि गम्भीर चासो प्रकट गरेको छ । ‘अहिलेको कठिन समयमा विद्यार्थीलाई अलपत्र नपार्न र महामारीको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी होस्टलमा बस्न आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्छौं’ परिषद्ले विश्वविद्यालयलाई लेखेको पत्रमा भनेको छ । साथै परिषद्ले विद्यार्थीहरुलाई कर्मचारीहरुले होस्टल छाड्न धम्की दिइएको प्रति पनि चासो प्रकट गर्दै त्यस किसिमका गतिविधिले विद्यार्थीहरुको जीवन नै खतरा पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

विद्यार्थीहरुलाई होस्टल छाड्न धम्की दिइएको विषयमा दिल्लीस्थित नेपाली दूतावासले पनि चासो देखाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यस विषयमा विश्वविद्यालय प्रशासनलाई पत्राचार भइसकेको र विश्वविद्यालयले विद्यार्थीलाई होस्टलबाट नहटाउने प्रतिबद्धता जनाएको बताए । ‘विश्वविद्यालयले लिखित पत्र मागेको थियो, हामीले पठायौं । र, अब नहटाउने जानकारी दिएको छ’ राजदूत आचार्यले भने ।

राजदूत आचार्यले त्यसो भने पनि नेपाली विद्यार्थी लुइँटेलले कान्तिपुरसँग विश्वविद्यालयले अझै पनि होस्टल छाड्न दबाब दिइरहेको बताइन् । ‘दूतावासले पत्र लेखेर आग्रह गरे पनि मलाई विश्वविद्यालयका निर्देशकले नै होस्टल जसरी पनि छाड्नु पर्छ भनेका छन्’ उनले भनिन् ।

यसअघि दिल्लीस्थित साउन एसियन युनिभर्सिटि (साउ) ले पनि आवासीय विद्यार्थीहरुलाई १० मेभित्र होस्टल छाड्न भनेको थियो । जसले गर्दा होस्टलमा रहेका २० नेपालीलाई कोरोना त्रासकै बीच घर जाने चिन्तामा परेका छन् ।


प्रकाशित : वैशाख १६, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोना कहर : २४ घण्टामा चार नेपालीको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरसको संक्रमणबाट भारतमा गएको पछिल्लो २४ घण्टामै चार प्रवासी नेपालीले ज्यान गुमाएका छन् ।

रोजगारीका लागि दिल्लीमा बस्दै ५४ वर्षीय विष्णु पौडेलको कोरोना भाइरसको संक्रमणबाट सोमबार मृत्यु भएको छ । आफन्त शिवलाल गौतमका अनुसार बुटवल निवासी गौतमको सोमबार दिउँसो करिब एक बजे दिल्लीको सफदरजंग अस्पतालामा उपचारका क्रममा मृत्यु भएको हो । पौडेललाई एक साताअघि ज्वरो आउने, सास फेर्न गाह्रो, अक्सिजनको लेभल घट्ने जस्ता समस्या देखिएको थियो । ती समस्या देखिनासाथ आफूहरुले अस्पताल भर्नाको प्रयास गरे पनि नपाइएको गौतमले बताए ।

बेड नपाएर चार दिनसम्म दिनभर अस्पतालको गेट धाउने र साँझ घर फर्कने क्रम चलेको उनले सुनाए । ‘कुनैले बेड छैन त कुनैले अक्सिजन छैन भनेर फर्काए । तीन दिनपछि मात्र निकै मुस्किलले सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो,’ गौतमले भने । अस्पताल भर्ना गरेपछि पौडेलको स्वास्थ्यमा सुधार देखिए पनि सोमबार अचानक अक्सिजनको लेभल घटेपछि उनको मृत्यु भएको गौतमले जानकारी दिए ।

त्यसैगरी अर्का एक नेपाली कामदार ३५ वर्षीय दीपक विकले पनि आइतबार संक्रमणकै कारण ज्यान गुमाएका छन् । अर्घाखाँची घर भएका विकको दिल्ली छेउको नोयडाको जिम्स अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको छिमेकी विष्णु केसीले कान्तिपुरलाई बताए । केसीका अनुसार ६ दिनअघि कोरोना पुष्टि भएपछि पहिले दिल्लीकै एउटा नर्सिङ होममा बाह्रदिन उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि ६ दिनअघि उनलाई नोयडाको जिम्स अस्पतालमा आईसीयूमा भर्ना गरिएको केसीले भने । उनलाई दुई पटक प्लाज्मा समेत चढाइएको थियो । तर, उपचार निधन भएको हो ।

त्यस्तै, अर्का एक नेपाली कामदार चन्द्रघर्ती मगरको पनि कोरानाले ज्यान लिएको छ । उत्तरभारत नेपाल तरुण दलका कोषाध्यक्ष चन्दरहम्जाली मगरका अनुसार मृतक मगरको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मगर दिल्लीको अलीगाउँमा रेष्टुराँ व्यवसाय गर्दै आएका थिए । उनलाई १० दिनअघि कोरोना संक्रमण देखिएको थियो । सास फेर्न गाह्रो भएपछि दुई दिन अघि दिल्लीकै होली फेमली अस्पतालको इमरजेन्सी पुर्‍याइयो । अस्पतालले बेड छैन भनेपछि सोही दिन साँझ आफन्तले आरएमएल लगे । बेड छैन भनिरहेको अस्पतालले निकै जोडबल गरेपछि २४ घन्टा राख्न दिएको चन्दरहम्जालीले बताए । आइतबार बिहान उनलाई अक्सिजन सिलिण्डिरसहित हरियाणाको फरिदाबाको सोनारोड अस्पताल पुर्‍याएको तर, त्यहाँ अवस्था सुधार नभएपछि दिल्लीकै अपोलो लगियो । तर, अस्पताल छिर्नु अघि नै उनको छटपटिएर निधन भएको चन्दरहम्जालीले बताए । ‘अस्पताल छिर्नै पाउनु भएन । गेट बाहिरनै छटपटिएर बित्नु भयो’ उनले भने ।

दिल्लीमा मात्र नभएर संक्रमणका कारण भारतका अन्य सहरमा पनि नेपालीहरुको मृत्यु हुने क्रम जारी छ । सोमबार नै गोवामा कैलालीकी ३० वर्षीय राधा तिरुवाको उपचारकै क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित राधाको केहीदिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अखिल भारत नेपाली एक समाजका आरबी खड्काका अनुसार उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको हो । उनका श्रीमान अमर तिरुवा पनि संक्रमित हुन् र हाल उनलाई पनि आईसीयू राखिएको छ ।

गएको २४ घण्टामै चार नेपालीको मृत्युले भारतमा रहेका नेपाली कामदारहरु संक्रमणको उच्च जोखिम रहेको प्रष्ट संकेत गर्छ । प्रवासी नेपाली संगठनहरुका अनुसार पछिल्लो एक सातामै ४० भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । उनीहरुको भनाइमा आफन्तहरुले कोरोनाबाट मृत्यु भए पनि नखुलाउने भएकाले संक्रमणबाट मृत्यु हुनेको संख्या निकै धेरै छ । ‘संक्रमित हुनेहरुको त हिसाब नै छैन । एक हप्तामै चालिसभन्दा बढीको मृत्यु भएको छ, अझ कति त कोरोनाबाट ज्यान गए पनि आफन्तहरुले नै बताउँदैनन्,’ अखिल भारत नेपाली एक समाजका आरबी खड्काले भने ।

प्रकाशित : वैशाख १३, २०७८ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×