कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोडीचरी विश्वविद्यालयद्वारा सबै विदेशी विद्यार्थीलाई होस्टल छाड्न आदेश

होस्टल नछाडे पानी र बिजुली बन्द गर्ने नेपाली विद्यार्थीलाई कर्मचारीको धम्की
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतको पोडीचरी विश्वविद्यालयले पनि महामारीको कारण देखाउँदै आवासीय विद्यार्थीहरुलाई शुक्रबार (३० अप्रिल) सम्म होस्टल छाड्न भनेको छ । विश्विद्यालयले २२ तारिखमा एक सूचना जारी गर्दै होस्टल खाली गर्न भनेको थियो । त्यत्तिमात्र होइन होस्टल छाड्नका लागि कर्मचारीहरुले धम्कीसमेत दिएका छन् ।

विश्वविद्यालयको होस्टल छाड्ने आदेश र कर्मचारीको धम्कीका कारण होस्टलमा रहेका छ जना विदेशी विद्यार्थीहरु तनावमा परेका छन् । तिनमा नेपाल, बंगलादेश, श्रीलंका, जिम्बाबेबाट एक/एक जना र दुई जना अफगानिस्तानका छन् । ‘गत वर्ष पनि होस्टल खाली गराइएको थियो तर, विदेशी विद्यार्थीहरुलाई बस्न दिइएको थियो । यसपटक पनि त्यस्तै होला भनेर ढुक्क थियौं । तर, यसपटक होस्टल छाड्न धम्की नै दिइएको छ जसले गर्दा हामी सबै तनावमा छौं’, अन्तर्राष्ट्रिय मामिला विषयमा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेलले भनिन् ।

उनले बुधबार दुई जना कर्मचारीहरु अनुमति नलिई कोठामा छिरेको र दुई दिनमा होस्टल छाड् भनेर धम्की दिएको बताइन् । ‘म बाथरुम गएको बेला नसोधी सिधै कोठामा आए अनि शुक्रबारसम्म नछाडे पानी र बिजुली बन्द गरिदिन्छु भन्ने धम्की दिएर गए’ लुइँटेलले भनिन् ।

लुइँटेलले महामारीका कारण विद्यार्थीहरु आफै तनाव र त्रासमा रहेका बेला विश्वविद्यालयले होस्टल छाड्न भन्दै अमानवीय व्यवहार गरेको बताइन् ।‘बाहिर डेरा पनि पाइँदैन नेपाल जान पनि यहाँबाट सहज छैन’ उनले भनिन् । साथै उनले विश्वविद्यालयमा अझै पनि धेरै कर्मचारी बसिरहेको तर, विद्यार्थीहरुलाई मात्र जबर्जस्ती होस्टल छाड्न भनिएको आरोप लगाइन् । ‘अझै पनि धेरै कर्मचारी यहाँ बसिरहेका छन् । तर हामीलाई मात्र यस्तो व्यवहार गर्नु खेदजनक हो’ उनले भनिन् ।

विश्वविद्यालयको होस्टल खाली गराउने र कर्मचारीले होस्टल छाड्न धम्की दिएको प्रति त्यहाँको विद्यार्थी काउन्सिलले पनि गम्भीर चासो प्रकट गरेको छ । ‘अहिलेको कठिन समयमा विद्यार्थीलाई अलपत्र नपार्न र महामारीको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी होस्टलमा बस्न आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्छौं’ परिषद्ले विश्वविद्यालयलाई लेखेको पत्रमा भनेको छ । साथै परिषद्ले विद्यार्थीहरुलाई कर्मचारीहरुले होस्टल छाड्न धम्की दिइएको प्रति पनि चासो प्रकट गर्दै त्यस किसिमका गतिविधिले विद्यार्थीहरुको जीवन नै खतरा पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

विद्यार्थीहरुलाई होस्टल छाड्न धम्की दिइएको विषयमा दिल्लीस्थित नेपाली दूतावासले पनि चासो देखाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यस विषयमा विश्वविद्यालय प्रशासनलाई पत्राचार भइसकेको र विश्वविद्यालयले विद्यार्थीलाई होस्टलबाट नहटाउने प्रतिबद्धता जनाएको बताए । ‘विश्वविद्यालयले लिखित पत्र मागेको थियो, हामीले पठायौं । र, अब नहटाउने जानकारी दिएको छ’ राजदूत आचार्यले भने ।

राजदूत आचार्यले त्यसो भने पनि नेपाली विद्यार्थी लुइँटेलले कान्तिपुरसँग विश्वविद्यालयले अझै पनि होस्टल छाड्न दबाब दिइरहेको बताइन् । ‘दूतावासले पत्र लेखेर आग्रह गरे पनि मलाई विश्वविद्यालयका निर्देशकले नै होस्टल जसरी पनि छाड्नु पर्छ भनेका छन्’ उनले भनिन् ।

यसअघि दिल्लीस्थित साउन एसियन युनिभर्सिटि (साउ) ले पनि आवासीय विद्यार्थीहरुलाई १० मेभित्र होस्टल छाड्न भनेको थियो । जसले गर्दा होस्टलमा रहेका २० नेपालीलाई कोरोना त्रासकै बीच घर जाने चिन्तामा परेका छन् ।


प्रकाशित : वैशाख १६, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?