१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कोभिड-१९ विरुद्ध सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माओवादी केन्द्रको माग

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।

कोभिड-१९ विरुद्ध सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माओवादी केन्द्रको माग

‘कोभिड १९ को महामारीका विषयमा गम्भीर छलफल भयो । पहिलो कुरा विश्व नै कोभिड महामारीको अर्को लहरबाट गाँजिएको छ । नेपालमा पनि दोस्रो लहर तीव्र रुपमा अगाडि बढिरहेको छ । त्यसले जनताको जनजीवन, जनताको रक्षाको प्रश्न, जनस्वाथ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रलगायत सबैतिर नकारात्मक असर पर्दै गइरहेको छ,' बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, 'त्यसैले कोभिड १९ बहुआयामिक प्रभावलाई सम्बोधान गर्न र मूख्यत: यसको रोकथाम र नियन्त्रणका लागि देशका सबै सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्य विद्, सामाजिक संघ संगठन, स्वाथ्यकर्मीहरु हातेमालो गर्दै अगाडि बढ्न माग गरेको छ । साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ ।'

छिमेकी देश भारतमा कोभिड–१९ महामारी भयावह बनेको र नेपाल–भारत खुला सीमा रहेको अवस्थामा सीमामा कडाईपूर्वक नियन्त्रण गर्न माओवादीले सरकारसँग माग गरेको छ । साथै, नेपाली नागरिकहरुमात्र नेपाल आउने स्थितिलाई कडाईपूर्वक लागू गर्न र नेपाल आउने नागरिकहरु अनिवार्य परीक्षणसहित अन्य स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्ने गरी कडाईपूर्वक लागू गर्न पनि माग गरेको छ ।

‘निजी अस्पतालहरुसमेतसँगको सल्लाह सुझाव लिएर उनीहरुको पन सहयोग लिएर डेडिकेटेड कोभिड हस्पिटल तत्काल सञ्चालन गर्न सरकारसँग बैठकले माग गरेको छ । साथै अक्सिजन, भेन्टिलेटर, आइसोलेसन सेन्टरको व्यवस्था गर्न, आवश्यक औषधि, अन्य स्वास्थ्य सामग्री, चिकित्सक, सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान दिँदै उनीहरुलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ,’ बैठकपछि श्रेष्ठले भने, ‘साथै कोभिड–१९ का कारण किसान, मजदुर, श्रमजीवी वर्गहरुलाई छाक टार्न नै समस्या देखिएको हुँदा उनीहरुलाई तत्काल राहत प्याकेज दिन पनि माग गरेको छ । उत्पादन प्रक्रियालाई जारी राख्न पनि सरकारको आवश्यक ध्यान जाओस् भन्ने अनुरोध गरेका छौं । साथै राष्ट्रिय अर्थतन्त्रको पुनरुत्थानमा पहिला नै सचेत भएका त्यसको प्याकेजमा काम गर्न सरकारको ध्यानाकर्षण गरेका छौं ।’

प्रकाशित : वैशाख १४, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?