कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वर्षमा ५७ अर्ना बढे

अर्नाको संख्या बढ्नु सुखद हो । तर, यसको वृद्धिसँगै मानव–अर्ना द्वन्द्व व्यवस्थापनको चुनौती थपिएको छ
गणनाका क्रममा अर्नाको ‘ब्याक क्रस्ड’ को संख्या बढेको पाइयो
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र अर्ना पाइन्छ । अर्नाको संख्या ३ वर्षमा ४ सय ४१ बाट ४ सय ९८ पुगेको छ । यो १२.९ प्रतिशतले वृद्धि हो ।

३ वर्षमा ५७ अर्ना बढे

आरक्ष क्षेत्रमा प्रत्येक ५/५ सय मिटरको दुरीमा भगौलिक सूचना प्रणाली(जीपीएस) रिसिभर युनिट, दुरविन, एनड्रोइड मोबाइललगायत आधुनिक उपकरणसहितका प्राविधिकहरु हिँडेरै प्रत्यक्ष गणना विधिबाट वैशाख ६–११ गतेसम्म अर्ना गणना गरिएको थियो ।

४ सय ९८ वटा अर्नामध्ये २ सय २१ वटा वयस्क भाले, १ सय ६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई वर्षका पाडापाडी ३५ र एक वर्षका ३२ वटा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामले बताए ।

गणनामा अर्नाको लिंग र उमेर समूह पहिचान गरी विवरण संकलन गर्नुका साथै बासस्थानको अवस्था, आरक्षमा छाडिएका घरपालुवा पशु/चौपायाको संख्या, अर्ध जंगली चौपाया, मिचाहा वनस्तपि प्रजातिको तथ्यांकसमेत संकलन गरिएको उनले बताए ।

अर्नाको संख्या बढ्नु सुखद हो । तर, यसको वृद्धिसँगै मानव–अर्ना द्वन्द्व व्यवस्थापन अबको चुनौती रहेको प्रमुख रामले बताए । उनले भने, ‘अर्नाको संख्या बढ्नु सुखद हो । योसँगै चुनौती पनि बढेको छ । विगत ४/५ वर्षमा अर्नाको कारणबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या बढेको छ ।’ केही वर्षयता अर्नाको आक्रमणबाट ५ जनाको मृत्यु र १६ जना घाइते भएको उनले बताए । गएको वर्ष १० वटा अर्ना विभिन्न कारणले मरेको उनले जानकारी दिए । बफर क्षेत्रमा पनि अर्नाहरु निस्कने गर्दा द्वन्द्वका घटना बढिरहको उनले बताए । उनका अनुसार वन क्षेत्रमा खाना नपाएपछि कृषकहरुले लगाएको बाली खान वर्षेनी १०/१२ वटा अर्ना बस्ती आउने गर्छन् ।

‘ब्याक क्रस्ड’को चुनौती

गणनाका क्रममा अर्नाको ‘ब्याक क्रस्ड’को संख्या बढेको पाइयो । करिब ३ सय वटा ‘ब्याक क्रस्ड’ अर्नाहरु भेटिएको आरक्षका वार्डेन रामले सुनाए । यस्ता भैँसीका अनुहारका अर्नाहरु देख्दा अर्ना जस्तै देखिन्छन् । उनी भन्छन्, ‘हेर्दा यिनीहरु अर्ना जस्तै देखिन्छन् । तर नियालेर हेर्दा वास्तविक अर्नाभन्दा फरक हुन्छन् । सीङ, घाँटी, कानलगायत शारीरिक बनोटमध्ये कुनै एक वा दुई फरक हुन्छ ।’ घरपालुवा भैँसीहरु आरक्षभित्र जाँदा अर्नासँग प्रजनन भई यस्ता ‘ब्याक क्रस’ अर्नाहरु जन्मन्छन् ।

विश्वमै कोसी टप्पु दोस्रो ठूलो अर्ना रहेको क्षेत्र हो । पछिल्लो समय अर्नाको संख्या बढ्दै जाँदा कोसी नदीका भंगालाहरु नजिकका घाँसे मैदान अर्नाका लागि साँघुरा हुँदै गएका छन् । मुख्य बासस्थान साँघुरो हुँदै जाँदा यसको आनुवांशिक चुनौती थपिएको विज्ञहरु बताउँछन् । बासस्थान साँघुरो हुँदा यिनीहरुमा इन्ब्रिडिङ (नजिकको नातेदारमा हुने प्रजनन) को समस्या हुने गर्छ । जसका कारण आनुवांशिक विविधतामा ह्रास आउने र संख्या घट्ने खतरा रहन्छ ।

गणना गरिएका सबै अर्नाको वास्तविकता परीक्षण गर्न आनुवांशिक अध्ययनबाट थाहा हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । विभागले कोसी टप्पुका अर्नाको आनुवंशिक अध्ययन गर्ने तयारी गरिरहेको पनि उनले बताए । विभागले बासस्थान सुधारका लागि घाँसे मैदान व्यवस्थापनलगायतका कार्य गरिरहेको उनी बताउँछन् ।

चितवनमा पनि बढ्न सक्छ

सरकारले २०७४ सालमा चितवन निकुञ्जमा अर्ना पुन:स्थापना गर्ने भन्दै कोसी टप्पुबाट १२ र सदर चिडियाखानाबाट ३ वटा अर्ना लगेको थियो । कुनै समय चितवनमा पनि अर्ना पाइने भएकाले यसलाई पुन:स्थापना गर्ने उद्देश्यले लगिएको थियो ।

चितवन लगिएका १५ वटा अर्नामध्ये चिडियाखानाबाट लागेको अर्ना सोही वर्ष मरे । कोसीबाट लगिएकामध्ये २०७४ सालको बाढीले गर्दा ३ वटा अर्ना मरे । बाँकी ९ मध्ये ६ पोथी र ३ वटा भाले थिए । तिनबाट ६ वटा बच्चा जन्मिएका थिए । तीमध्ये एउटा बच्चाको माउलाई बाघले खाइदियो । बच्चाको उद्धार गरे पनि माउ मरेकाले त्यो पनि बाँचेन ।

प्रकृति संरक्षण कोष चितवनका इन्चार्ज एवं इकोलोजिस्ट बाबुराम लामिछानेका अनुसार ती ६ वटामध्ये हाल ५ वटा बच्चा जीवित छन् । ५ वटा बच्चा, ५ वटा पोथी र कोसीबाटै ल्याएको २ वटा भाले गरेर हाल चितवनमा १२ वटा अर्ना छन् । ती सबै तारबारको नियन्त्रित क्षेत्रमा छन् ।

इकोलोजिस्ट लामिछानेका अनुसार सरकारले पुन:स्थापना गरेर झुन्ड नबनाएसम्म अर्ना जंगलमा जान सक्ने अवस्था छैन । अहिलेको संख्यालाई त्यतिकै जंगलमा छाडिदिने हो भने सबै बाघको आहारा बन्छन् । घटीमा ५० वटा अर्नाको एक झुन्ड बनाएर जंगलमा छाडिदने हो भने पुन:स्थापना गर्न सकिने लामिछानले बताए । उनी भन्छन्, ‘अहिले संख्या नै थोरै छ । धेरै हुादा बाघले आक्रमण गर्न खोज्दा पनि जुधेर बाँच्न सक्छन् । यसको वृद्धिदर राम्रो छ तर बाँच्नका लागि ठूलो संख्या आवश्यक छ ।’

कोसी नदीको १ सय ७५ वर्ग किमि बहाव क्षेत्रमा अवस्थित कोसी टप्पु आरक्ष अर्नाको महत्वपूर्ण बासस्थान हो । भैँसीको पुर्खा मानिने अर्ना दुर्लभ जीव हो । यो स्तनधारी जीव हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुय संरक्षण ऐन, २०२९ अनुसार संरक्षित प्रजाति हो । साईटीसको अनुसूची ३ र आईयूसीएनको इन्डेन्जर्ड सूचीमा समेत रहेको छ ।

अर्ना नेपालसहित भारत, भुटान,थाइल्यान्ड,कम्बोडियामा पाइन्छन् । २०३२ सालमा आरक्ष स्थापना हुँदा अर्नाको संख्या ६३ थियो । सन् २०१८ मा ४ सय ४१, २०१५ मा ३ सय ५०, २०१० मा २ सय १९, २००५ मा १ सय ५९ वटा अर्ना थिए ।

प्रकाशित : वैशाख १४, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?