२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

कर फर्छ्योट अनियमिततामा दोस्रो मुद्दाको तयारी

३ अर्ब ३४ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको झन्डै ४ वर्षपछि कर फर्छ्योट आयोगका बाँकी फाइल हेर्दै अख्तियार
कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित कर फर्छ्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलहरूमाथि अनुसन्धान गरेर मुद्दा दायर गर्ने भएको छ ।

कर फर्छ्योट अनियमिततामा दोस्रो मुद्दाको तयारी

आयोगले २०७१ मा गठित कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव भई काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माविरुद्ध दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको हो । शर्माको बयानबाहेक अनुसन्धानका सबै प्रक्रिया पूरा भइसकेको आयोग स्रोतले जनायो ।

अख्तियारले २०७४ साउन १ मा आयोगका तत्कालीन पदाधिकारीहरू महत, ढकाल र शर्माविरुद्ध ३ अर्ब ३४ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बिगो र जरिवाना जोड्दा हरेकमाथि १० अर्ब रुपैयाँका दरले मागदाबी थियो । झन्डै चार वर्षदेखि विशेष अदालतमा उक्त मुद्दा विचाराधीन छ । कर फर्छ्योट आयोगबाट २१ अर्ब रुपैयाँ कर मिनाहा भएकामा अख्तियारले पहिलो चरणमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको फाइलमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । सोही अभियोगपत्रमा बाँकी फाइलहरूमाथि छानबिन भइरहेकाले अनुसन्धान सकिनासाथ मुद्दा पेस गरिने भनी निर्णयको प्रतिलिपि पठाइएको थियो ।

फेरि मुद्दा किन ?

‘अहिले विशेष अदालतले हरेक पटकको पेसीमा नयाँ मुद्दा आयो कि आएन भनेर जिज्ञासा राखिरहेको छ, अरू मुद्दा पनि आएपछि एकैसाथ हेर्ने भनेर पहिलो मुद्दाको सुनुवाइ नै अघि बढ्न सकेको छैन,’ अख्तियार स्रोतले भन्यो, ‘त्यही भएर बाँकी फाइलमाथिको अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने तयारी भएको हो ।’

आयोग स्रोतका अनुसार बयानका क्रममा कर फर्छ्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालले बयान दिए पनि निलम्बित अवस्थामा रहेका सहसचिव शर्मा आयोगमा उपस्थित भएका थिएनन् । त्यतिबेला अख्तियारले कुल १०६९ फाइलमध्ये पहिलो चरणमा करिब ४५ वटा फाइलमाथिको अनुसन्धान सकेर मुद्दा दायर गरेको थियो । त्यसमा एनसेललगायतका केही विवादास्पद र चर्चित कम्पनीहरूको फाइलसमेत थिए । अब छानबिन हुन लागेका फाइलहरू अधिकांश एक करोड रुपैयाँभन्दा कम रकमका छन् ।

बयानमै नआएको भन्दै अख्तियारले गत वैशाख ८ मा एउटा सार्वजनिक सूचना निकालेको थियो । ‘कर फर्छ्योट आयोगबाट कर फर्छ्योट का लागि सम्झौता भएका विभिन्न करदातासँग गैरकानुनी रूपमा सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने उजुरीको छानबिनका क्रममा,’ एक साताभित्र बयानका लागि आउनू भनी निकालिएको अख्तियारको सूचनामा भनिएको छ, ‘उपस्थित हुन नआएमा कानुनबमोजिम भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले कर फर्छ्योट आयोगको अनियमितताको विषयमा पहिलो चरणबाट मुद्दा गएपछि बाँकी रहेका फाइलहरूमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार त्यही क्रममा बयानका लागि नआएका व्यक्तिलाई उपस्थित हुन अनुसन्धान अधिकृतले सार्वजनिक सूचना निकालेका हुन् । शर्माले सोमबार उपस्थित हुने भन्दै अख्तियारलाई जानकारी गराएका स्रोतले बतायो ।

महालेखाको त्यो छानबिन

२०७३ चैतमा महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा कर फर्छ्योट आयोगको अनियमितताबारे औंल्याएको थियो । प्रतिवेदनअनुसार कर फर्छ्योट आयोगले कर व्यवस्थापनका नाममा ठूलो अनियमितता गरेकाले थप अनुसन्धान हुनुपर्ने थियो । २०७१ मा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्छ्योट आयोग गठन गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा अर्का चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । सिद्धान्तत: अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाम मात्रैको बक्यौता उठाएका थिए ।

कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो । आयोगबाट ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । आयोगमा १ हजार ७ सय २६ वटा निवेदन परेकामा १ हजार ६९ वटा निवेदनमाथि कारबाही गरी सम्झौता भएको थियो । ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको देखिन्छ । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा आएको थियो । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशत मात्रै आम्दानी भएको थियो ।

भ्रष्टाचार मुद्दामा ‘ह्याट्रिक’ !

अख्तियारले कर फर्छ्योट आयोगका बाँकी फाइलहरूमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेमा चूडामणि शर्माविरुद्ध लाग्ने भ्रष्टाचार मुद्दामा ‘ह्याट्रिक’ हुनेछ । यसअघि कर फर्छ्योट आयोगको कामकारबाहीमा भ्रष्टाचार मुद्दा खेपेको ६ महिनाभित्र उनले गैरकानुनी सम्पत्ति आर्जनको दोस्रो मुद्दा खेपेका थिए । उनीमाथिको ४ करोड २९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसम्बन्धी मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

सामान्य परिवारमा जन्मिएका शर्माको २५ आना जग्गामा साढे ३ तले घर भन्दै अख्तियारले उनले किताब बिक्रीबाट आर्जन गरेको १ करोड ६ लाख रुपैयाँलाई अस्वाभाविक भनेको थियो । अनुसन्धानका क्रममा अख्तियारले उनको कुल ७ करोड ९३ लाख रुपैयाँको सम्पत्ति फेला पारेको थियो । शर्माविरुद्ध सुपारी निकासीपछि अनियमित ढंगले कर फिर्ता गरेको उजुरी पनि अख्तियारमा थियो । शर्मा २०७४ जेठ १९ देखि निलम्बनमा छन् ।

प्रकाशित : वैशाख १३, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?