कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुइँचालो जाँदा सगरमाथामा...

गोविन्द पोखरेल

काठमाडौँ — दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले  । टेन्टभित्र बसेका उनीहरू आत्तिए । ठाने– पक्कै डरलाग्दो हिमपहिरो गयो । सन् २०१५ अप्रिलको घटना हो यो ।

भुइँचालो जाँदा सगरमाथामा...

२२ वर्षीय अनिश लुइँटेल पहिलोपटक सगरमाथा यात्रामा थिए । झापाका उनी सिंगो जिल्लाको प्रतिनिधित्व गरेर सर्वोच्च चुचुरो चुम्ने अभियानमा थिए । उनीसहित भारत, अस्ट्रेलिया, बेल्जियमका १६ जनाको टोली थियो ।

हुँदाहुँदै टेन्ट नै हल्लिन थाल्यो । केही बेरमा डाँडै हल्लिएको महसुस भयो । यति बेला टोलीका हरेक सदस्यको मुहारमा डरबाहेक केही थिएन ।

‘एक छिन त डाँडाले झरेर किच्छ कि जस्तो फिलिङ आयो, बेस्सरी हल्लायो,’ अनिशले भने । हावा र हिमपातका कारण उनीहरू लामै समय टेन्टभित्र अड्किए । भोलिपल्ट मौसम केही सफा भयो । सबै जना क्याम्प १ फर्किए । उनीहरूले बल्ल थाहा पाए– हिमपहिरो मात्र होइन, शक्तिशाली भुइँचालो नै गएको रहेछ । हिमपहिरोमा परेर १० नेपालीसहित २२ जनाले ज्यान गुमाइसकेछन् ।

त्यसपछि अनिशको टोलीलाई हेलिकप्टरबाट उद्धार गरियो । जमिन अझै बेलाबेलामा हल्लिरहेकै थियो । जताततै डर र अनिश्चयको माहोल थियो ।उनी बेसक्याम्प, लुक्ला हुँदै ३ दिनपछि झापा, भद्रपुरस्थित घर पुगे ।

०००

सगरमाथा चढ्न भनेर अनिशलाई जिल्लामा धेरैले सहयोग गरेका थिए । त्यो दर्दनाक घटनापछि उनी केही हताश भए । तर फेरि स्काउट सम्झँदै अठोट लिए, ‘जुनसुकै हालतमा हार खानु हुँदैन, आफ्नो सपना पूरा गरेरै छाड्नुपर्छ ।’

त्यसपछि उनी सन् २०१६ मा फेरि लागे सगरमाथातिर । यसपालि कुनै अवरोध थिएन । उनी चुचुरो पुगेरै छाडे । उनी आफू मात्र पुगेनन्, भर्खरै जारी भएको नेपालको संविधान पनि सगरमाथाको टुप्पोमा पुर्‍याए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई संविधान र नेपालको झन्डा थमाउँदै भनेका थिए– ‘सगरमाथाबाट सानो ढुंगो पनि ल्याइदिनू है !’ अनिशले वाचा पूरा गरे तर अलि ढिलो । केही साताअघि मात्र उनले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई सगरमाथाको ढुंगो टक्य्राए ।

अनिशले सन् २०१८ को मे १४ मा तिब्बतबाट पनि सगरमाथा चढे । विश्व स्काउटको झन्डा लिएर दोस्रोपटक ‘धर्तीको शिर’ छोए ।

०००

भद्रपुरका अनिश अहिले २७ वर्ष पुगे । पासाङल्हामु शेर्पाको कथा पढेपछि सगरमाथा चढ्ने सपना बनेका थिए उनले । त्यसैका लागि स्काउटमा सहभागी भए । ‘साहसिक कार्यका लागि स्काउट चिनिन्छ । विद्यालय तहबाटै यहाँ संलग्न भएकाले मैले सानैदेखि हाइकिङ र ट्रेकिङ गर्न थालेँ, त्यसैले मलाई सगरमाथासम्म चढ्ने हिम्मत दिलायो,’ अनिशले भने ।

सगरमाथा आरोहण गर्नुअघि उनले ६ हजार १६० मिटरको आइल्यान्ड पिक आरोहण पनि गरेका थिए ।

०००

तराईमा जन्मे/हुर्केकाहरुलाई पहाडी तथा हिमाली क्षेत्रमा हिँडडुल गर्न गाह्रो हुन्छ । सुरुमा अनिशलाई पनि हिमाली क्षेत्रमा गएर आउँछु भन्ने लागेको थिएन । तर,आत्मविश्वास र शेर्पा दाजुभाइहरूको सहयोगले सगरमाथा चढ्न सकिने उनको अनुभव छ । शेर्पाहरू हिमाली क्षेत्रका रैथाने । त्यस क्षेत्रका बारेमा धेरै जानकारी भएका उनीहरूले सामान लैजानेदेखि अन्य कुराहरूमा समेत सहजकर्ताको भूमिका खेल्ने उनले बताए । सगरमाथा चढ्न एक नेपाली नागरिकको न्यूनतम २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुने उनले सुनाए ।

सुरुमा त आरोहण अनुमति, तालिम, विभिन्न किसिमका उपकरण तथा सामग्रीमै खर्च हुन्छ । उच्च हिमाली क्षेत्रमा आवश्यक स्लिपिङ ब्याग, जुत्ता, पञ्जा, चस्मा, एसेन्डर, हेल्मेटलगायत सामग्री किन्दै लाखौं सकिन्छ ।

०००

हाम्रो शरीर नयाँ वातावरणमा सजिलै अभ्यस्त हुँदैन ।उच्च भेगमा लेक लाग्न सक्छ । त्यसबाट बच्न शरीरलाई त्यो क्षेत्रसँग घुलमिल गराउनुपर्छ । सगरमाथा चढ्न जाँदा पनि यही लागू हुन्छ । बेसक्याम्पबाट रोटेसन गराइन्छ । पहिलो पटक बेसक्याम्पबाट क्याम्प १ मा लगिन्छ । क्याम्प १मा एक रात बसेर पुन: बेसक्याम्प फर्किएको स्मरण गर्छन्, अनिश । भन्छन्, ‘हाई अल्टिच्युड सिक्नेस हुन सक्ने भएकाले क्याम्पबाट आउँदै जाँदै गरेर त्यहाँको वातावरणसँग अनुकूल बनाउन खोजिन्छ । यसबाट लेक लाग्ने जोखिम पनि केही कम हुन्छ । ’ आरोहणका लागि उपयुक्त मौसमको पर्खाइ हुन्छ । प्राय: रातको समयमा क्याम्प ४ बाट चुचुरोका लागि गइन्छ । क्याम्प ३ बाट बिहान ६ बजे हिँडेर १२ बजे क्याम्प ४ पुगेको अनिशले बताए ।

क्याम्प ४ मा धेरै नै हावा चल्ने गर्छ । ७ हजार ९ सय ६ उचाइमा रहेको यो क्याम्प सगरमाथा र लोत्सेको बीचमा छ । यसलाई कतिपयले ‘डेथ जोन’ समेत भन्ने गर्छन् । यसको कारण लेक लाग्नु नै हो । यहाँबाट प्राय: आरोही अक्सिजन मास्क लगाएर अघि बढ्छन् । रातको समयमा घाम नहुने र हावा पनि कम चल्ने भएकाले आरोही प्राय: त्यही बेला हिँड्ने गरेको अनिशको भनाइ छ ।

अनिशको टोली रातको ८ बजे यात्रा सुरु गरेर अर्को दिनको बिहान ५ बजेर ३३ मिनेटमा सगरमाथाको चुचुरो पुगेको थियो । त्यसै दिन उनी नेपाल स्काउटको पहिलो आरोही पनि बने । उनी हाल अमेरिका र लन्डनमा स्काउट स्वयंसेवकका रूपमा कार्यरत छन् ।

०००

अनिशको अनुभवमा सगरमाथाको तिब्बततर्फको मोहडा केही सहज छ । तिब्बतबाट धेरै सुविधा छ । बेसक्याम्पसम्मै गाडी पुग्छ । नेपालपट्टि भने धेरै नै सिँढी र खाडलहरु छन् ।

‘तिब्बततर्फको मोहडाबाट चढ्दा समिटको छेवैमा पुगेपछि चुचुरो पुग्ने बेला गोलाकार तरिकाले जानुपर्छ, त्यहाँ ढुंगा धेरै छ, हिउँमा लगाउने जुत्ता पनि हुन्छ, हिँड्न धेरै गाह्रो हुन्छ, नेपालमा चाहिँ खुम्बु आइसफल र समिट पुसका लागि जाँदा हिलारी स्टेप्स धेरै गाह्रो हुन्छ । ’

०००

अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर निकै देखिन थालेका छन् । सगरमाथा पनि त्यसबाट अछुतो छैन । हिमालय क्षेत्रका ग्लेसियरहरु धेरै नै पग्लिन थालेका छन् । उसै गरी हिमाल पनि पग्लिरहेकै छन् ।

अहिले सगरमाथामा क्षेत्रमा विशेष गरी आरोहीका कारण फोहोर हुने गरेको अनिशले सुनाए । यसै कारण त्यहाँ प्रदूषण पनि बढेको छ। आरोहीहरूले लैजाने सामग्रीहरु हिमालतिर छाड्ने, पुर्ने गर्दा हिमालमा प्रदूषण बढेको हो ।

विशेष गरी ओरोहीहरुले ट्वाइलेट ब्यागहरु हिमालमै छाड्ने र त्यहीँ बरफले पुरिदिने गरेकाले यस्ता कार्यहरु रोक्नुपर्ने अनिशले बताए ।

०००

कोभिड–१९ का कारण यति बेला मुलुकको पर्यापर्यटन बिथोलिएको छ । अनिशचाहिँ हिमाली क्षेत्रको विशेषता बुझाउने उद्देश्यले सातवटै महादेशका सात अग्ला हिमाल चढ्ने तयारी गरिरहेका छन् । सन् २०२१को अन्त्यबाट आरोहण सुरु गर्ने उनले बताए । अफ्रिकाको कालिमिन्जारोबाट सुरु गरेर सगरमाथा आरोहण गरेर यो अभियान सम्पन्न गर्ने अनिशको योजना छ । उनको यो अभियानमा विभिन्न संस्थाहरुले स्पोन्सर गरेका छन् ।

हाल जलवायु परिवर्तन, हिमाली क्षेत्रको विशेषतालगायत स्काउटसम्बन्धी जानकारीमूलक सन्देश तथा सूचना दिँदै उनी नेपालको जैविक विविधता चिनाउने अभियानमा लागेका छन् । एक वर्ष लन्डन बसेर हाल अमेरिकामा बस्दै आएका उनी त्यहाँको स्काउटमार्फत विद्यार्थीलाई आरोहणसम्बन्धी प्रशिक्षण दिन्छन् ।

जीवनमा असफल भएपछि सहयोग गर्ने मानिसहरु धेरै कम हुने अनिशको अनुभव रहेछ । भन्छन्, ‘एक दुई पटक असफल भइएला तर देखेको सपना पूरा हुन्छ । धैर्यचाहिँ गर्नुपर्छ ।’

सगरमाथा आरोहणको पहिलो यात्राका क्रममा भोगेका भूकम्पको घटना उनले अझै स्मरण गरिरहेका छन् । बर्सेनि भूकम्पको दिन सम्झँदा उनलाई त्यो पहिलो यात्राको त्रासदी आँखामा झलझली आउँछन् ।

प्रकाशित : वैशाख १२, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?