कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद् र महामारीमा झनै हिंसा

अध्ययनमा सहभागी १६० उत्तरदातामध्ये ५६.१८ प्रतिशतले लकडाउनको समयमा आफू हिंसामा परेको बताएका छन्
हिंसा भोग्न बाध्य अपांगता भएका बालबालिका र महिलामध्ये ४२.२२ प्रतिशत छिमेकीबाट र २८.८९ प्रतिशत परिवारबाट पीडित
जब प्राकृतिक प्रकोप, विपद् र महामारी हुन्छ, सबैभन्दा बढी अपांगता भएका महिला नै हिंसाको सिकार हुन पुग्छन् : टीका दाहाल, अधिकारकर्मी
विद्या राई

काठमाडौँ — बौद्धिक अपांगता भएकी बालिकालाई अभिभावकले काठमाडौंकै एक होस्टलमा राखेर विशेष विद्यालयमा पढाउँथे । कोरोना महामारीमा विद्यालय बन्द भएपछि उनलाई घर पठाइयो ।

विपद् र महामारीमा झनै हिंसा

दिनभर उनी छिमेकीको घरमा टीभी हेरेर काट्थिन्, मेलापात गएका परिवारका सदस्य साँझ फर्केपछि मात्रै घर आउँथिन् । यही मौका छोपेर छिमेकी (टीभी भएको घरकै पुरुष) ले बालिकामाथि बलात्कार गरे ।

कोरोना महामारी र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अपांगता भएका बालिका तथा महिला परिवार, आफन्त तथा छिमेकीबाटै यौन तथा लैंगिक हिंसाको सिकार भएको यो घटनाले देखाउँछ । ‘अपांगता भएका महिला तथा बालिकामा कोभिड–१९ को प्रभावसम्बन्धी द्रुत अध्ययन’ मा सहभागी सबै प्रदेशका १६० उत्तरदातामध्ये ५६.१८ प्रतिशतले लकडाउनको समयमा आफू हिंसामा परेको बताएका छन् । उनीहरूमध्ये २८.०९ प्रतिशतले मानसिक यातना भोग्नुपरेको, १४.६१ प्रतिशतले आफूलाई एक्ल्याइएको र १०.११ प्रतिशतले मौखिक गालीगलौज सहनुपरेको भनेका छन् ।

त्यसका अलावा ३.३७ प्रतिशत उत्तरदाताले शारीरिक हिंसासमेत भोग्नुपरेको बताए । त्यसरी हिंसा भोग्न बाध्यमध्ये ४२.२२ प्रतिशतले आफू छिमेकीबाट र २८.८९ प्रतिशतले परिवारबाट हिंसा भोगेको बताएको नेपाल अपांग महिला संघले डिसेम्बर २०२० मा प्रकाशन गरेको उक्त अध्ययनमा छ ।

अपांगता महिलाका क्षेत्रमा साढे दुई दशकदेखि काम गर्दै आएकी अधिकारकर्मी टीका दाहाल भन्छिन्, ‘जब प्राकृतिक प्रकोप, विपद् र महामारी हुन्छ, सबैभन्दा बढी अपांगता भएका महिला नै हिंसाको सिकार हुन पुग्छन् ।’ २०७२ वैशाख १२ को भूकम्प र कोरोना महामारीमा यही अवस्था देखिएको उनको भनाइ छ । ‘भूकम्पका बेला घरबाहिर बस्नुपर्दा वा कोरोनाकालमा घरभित्रै बा, दाजुभाइ, आफन्त, छिमेकीबाटै असुरक्षा भएर हिंसा र दुव्र्यवहारका घटना भए,’ उनले भनिन् ।

भूकम्पपछि त्रिपालमुनि आश्रय लिइरहेकी अपांगता भएकी एक महिला बलात्कारमा परेपछि अर्को आश्रयथलोमा सारिएको र त्यहाँबाट अरू ठाउँ सार्दा पनि तीनपटक बलात्कृत भएको दाहालले सुनाइन् । २०७२ को भूकम्पपछि अस्थायी आश्रयस्थलमा बस्ने क्रममा अपांगता भएका महिला नजिकका आफन्त, परिवारका सदस्य र अवसरवादी व्यक्तिबाट मानसिक, शारीरिक र यौन हिंसा भोग्न बाध्य भएको पनि अध्ययनले देखाएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालकी अध्यक्ष प्रतिमा गुरुङ भन्छिन्, ‘अपांगता हुनु नै कमजोरी हो भन्ने बुझाइ छ, राज्यको न्याय सेवा नै पहुँचयोग्य नभएपछि झनै समस्या छ ।’ उनले भूकम्पको समयमा जावलाखेलको अस्थायी आश्रयस्थलमा बस्दै गरेका अपांगता भएका महिला, बालिका र किशोरीहरूको अवस्थालाई नजिकबाट नियालेकी थिइन् । ‘त्यतिबेला चाउचाउ, बिस्कुट, लुगाफाटाजस्ता राहत सामग्री अरूलाई बाँडेर उब्रिएको मात्रै अपांगहरूले पाउँथे,’ उनले भनिन्, ‘विशेष गरी अपांगता भएका दिदीबहिनीलाई दाताहरूले नै राहतमा लोभ्याएर बलात्कार र दुर्व्यवहार गरेको पाइयो । उनीहरूविरुद्ध जाँदा पाइरहेको राहत गुम्ला भनेर चिन्ता पनि पीडितमा देखियो ।’

गोरखा, सिन्धुपाल्चोक, काठमाडौंलगायत भूकम्प प्रभावित १४ जिल्लामा ४० हजार महिला तथा बालिकामा अपांगता समस्या देखिएको दलित गैरसरकारी संस्था महासंघले तयार गरेको ‘भूकम्पपछिको पुनर्निर्माणमा दलित तथा महिलाका सवालहरू’ मा उल्लेख छ । विपद् तथा महामारीजन्य समयले मुख्य गरी रोजगारी गुम्ने हुँदा अन्य महिलासरह अपांगता भएका महिला पनि हिंसा, दुव्र्यवहार र अपहेलनाको सिकार बन्ने गरेको राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेत बताउँछन् । ‘आय गुम्ने तर आवश्यकता बढ्ने हुँदा बिस्तारै पारिवारिक किचलो थपिन्छ,’ उनले भने, ‘कोरोनाका बेला कोही घरबाहिर निस्कन पाएनन्, कतै बाहिर ‘इन्गेज’ हुन नपाएपछि नकारात्मक सोचाइले अपांगता भएका महिलालाई जोखिम भयो ।’

कोरोना महामारीले गर्दा लकडाउनको पहिलो डेढ महिनामा ४०.०८ प्रतिशतले आयस्रोत गुमाएको राष्ट्रिय अपांग महासंघको प्रतिवेदनमा उल्लेख छ । महासंघले यसका लागि ३० चैत ०७६ देखि १० वैशाख ०७७ सम्म सबै प्रदेशलाई समेटेर ७१ जिल्लाका ४ सय २२ जना अपांगता भएका व्यक्ति वा तिनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १ सय १ जना अपांगता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग टेलिफोनमार्फत अन्तर्वार्ता लिई सर्वेक्षण गरेको थियो ।

प्रकाशित : वैशाख १०, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?