कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप ल्याउन सरकारी पहल

भारत आफैं संकटमा परेपछि खोप ल्याउन सरकारले चीन, रूस, अमेरिका र बेलायतसँग संवाद र गृहकार्य अघि बढाएको छ
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोनाविरुद्धको खोप अभाव हुने अवस्था आएपछि सरकारले खरिदका लागि प्रमुख खोप उत्पादक मुलुकसँगको संवादलाई अगाडि बढाएको छ । खोप उत्पादक प्रमुख मुलुक अमेरिका, चीन, रुस र बेलायतसँगको संवादलाई सरकारले तीव्रता दिएको हो । भारत आफैंलाई खोप अभाव हुन थालेपछि भारतबाहेकका मुलुकसँग आयातका लागि गृहकार्य थालेको सरकारी भनाइ छ ।

खोप ल्याउन सरकारी पहल

‘आवश्यक खोप आयातका लागि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना मिसन र नेपालमा पनि सम्बन्धित मुलुकमा प्रतिनिधिमार्फत संवाद गरिरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कान्तिपुरसँग भने, ‘अहिले विश्वमा कोभिड–१९ खोपको आवश्यकता बढी र उत्पादन कम छ । त्यसैले आवश्यकताअनुसार सहजै खोप आयातमा कठिनाइ भएको हो ।’

नेपालले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप ल्याउने खरिद सम्झौता गरे पनि हालसम्म १० लाख डोज मात्रै आइपुगेको छ । भारतमा कोरोनाको दोस्रो लहरका कारण खोपको अभाव हुन थालेपछि त्यहाँको अदालतले चैत २ गते खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसका बाबजुद चैत २७ गते परराष्ट्रमन्त्री ज्ञवालीसँग संवाद गर्दै भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाललाई आवश्यक खोप उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताएका थिए । भारत आफैं संकटमा परेको कारण विदेशमन्त्री जयशंकरले गरेको वाचा पूरा हुन सकेको छैन ।

सिरमकै १० लाख कोभिसिल्ड माघ ८ गते अनुदानमा प्राप्त भएको थियो । अनुदानको १० लाख र खरिद गरेको १० लाख तथा भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेको एक लाख खोपसहित नेपालमा भारतबाट हालसम्म २१ लाख मात्रा खोपको आयात भएको छ । उत्तरी छिमेक चीनले आफ्नै सरकारी कम्पनी सिनोफार्मद्वारा उत्पादित ८ लाख डोज खोप नेपाललाई सहयोग गरेको थियो । यस्तै, कोभाक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ । नेपालमा सबैभन्दा बढी खोपको निर्यात गरेको भारत आफैं संकटमा परेपछि सरकारले चीन, रुस, अमेरिका र बेलायततर्फ खोप आयातका लागि जोड दिएको हो । नेपालस्थित चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीका अनुसार नेपालले आवश्यक खोप खरिदका लागि सिधै चिनियाँ कम्पनीहरूसँग सम्पर्क गर्न सक्नेछ । उनले केही व्यापारिक नेपाली कम्पनीले खोप खरिदका लागि चिनियाँ कम्पनीसँग पहल गरिरहेको पनि जानकारी दिए ।

औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी भ्याक्सिन स्पुतनिक–५ लाई स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाइसकेको छ । सरकारले रुसी खोप निर्यातका लागि पनि तीव्रता दिइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बिहीबार दिउँसो नेपालस्थित रुसी दूतावासका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्यमन्त्री त्रिपाठीले बिहीबार बेलुकी भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत यसबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को बैठकपछि रुसी दूतावासको सहकार्यमा मस्कोमा रहेका रुसका उच्च पदाधिकारीहरूसँग त्रिपाठीले छलफल गरे । ‘थप खोप ल्याउनका लागि प्रयास भइरहेको छ,’ उनले भने । रुसी दूतावासका एक प्रतिनिधिले कान्तिपुरसँग कुरा गर्दै नेपाललाई आवश्यक खोप उपलब्ध गराउन रुसी सरकार तयार रहेको बताएका छन् । ‘हामी नेपालको आवश्यकता र चाहनाअनुसार निर्यात गर्न तयार छौं,’ उनले भने ।

बेलायतले नेपाललाई खोप सहयोग गर्ने भने पनि हालसम्म उपलब्ध गराएको छैन । बेलायतसँगको संवादमा कोभ्याक्सअन्तर्गत नै नेपाललाई खोपको सहयोग गर्ने सोच बनाइरहेको जानकारी पाएको मन्त्री ज्ञवालीले बताए । ‘उहाँहरूले द्विपक्षीय रूपमा सहयोग गर्न निष्कर्षमा पुगेका छैनौं भन्नुभएको छ । हामीले द्विपक्षीय रूपमा पनि अलिकति हेर्नू भनेर कुराकानी गरेका छौं,’ मन्त्री ज्ञवालीले बेलायतसँगको छलफलबारे भने ।

नेपालले अमेरिकासँग पनि द्विपक्षीय रूपमा खोप सहयोगका लागि आग्रह गरेको छ । ‘अमेरिकाले आफ्ना करिब ५० प्रतिशत जनतालाई खोप लगाइसकेको छ, त्यसले गर्दा अब रिस्क पनि कम होला । त्यस हिसाबले खोपको मामलामा हामी सहकार्य गर्न चाहन्छौं भनेर अमेरिकासँग कुराकानी गरेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘उहाँहरूले हामी छलफल गर्छौं भन्नुभएको छ ।’ रुससँग पनि सरकारीस्तरमा वार्ता भइरहेको उनले बताए ।

कूटनीतिज्ञ दिनेश भट्टराई संकटको बेला सरकारले आफ्ना कूटनीतिक मिसनलाई प्रभावकारी रूपमा परिचालन गरेर काम गर्नुपर्ने बताउँछन् । ‘नेपालमा अहिले खोपको अभाव छ । त्यसका लागि सरकारले बेलैमा आफ्ना मिसन र त्यहाँ रहेका प्रतिनिधिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । यस्तै समस्या आयो भने त्यसबाट जुध्न हाम्रा मिसन र प्रतिनिधिहरू खटाइएका हुन्,’ उनले भने, ‘अहिले कोरोनाका कारण भारत आफैं संकटमा छ । नेपालले अन्य मुलुकसँग संवाद गरेर खोप निर्यातमा तदारुकता देखाउनुपर्छ ।’

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार गम्भीर नभएकैले खोप आयातमा अलमल भएको आरोप लगाए । ‘पहिलो कुरा त सरकार यसलाई लिएर गम्भीर हुनुपर्छ । त्यसपछि परराष्ट्रको संयन्त्र प्रयोग गरेर खोपको निर्यात गर्ने कुरा हो,’ उनले भने ।

प्रकाशित : वैशाख १०, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?