न्यायाधीश चुडाल र सुवेदीबाट शपथ- समाचार - कान्तिपुर समाचार

न्यायाधीश चुडाल र सुवेदीबाट शपथ

रासस

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् । 

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सोमबार न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित : वैशाख ८, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

जागिर छाडेर कृषिमा रम्दै

वार्षिक ४५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–६, पक्वैका ३३ वर्षीय वसन्त चौधरीले ११ वर्षसम्म विभिन्न संघसंस्थामा उद्यम विकास सहजकर्ताको जागिर खाए । मुख्य विषय नेपाली लिएर बीएड उत्तीर्ण गरे । शिक्षण अनुमतिपत्र लिए । समाजशास्त्रमा स्नातकोत्तर भर्ना भए ।

शिक्षाशास्त्र पढेर शिक्षक बन्ने या संघसंस्थामा जागिर खाने उनको लक्ष्य थियो । तर, चार वर्षअघि उनको योजना एकाएक मोडियो । पढ्दापढ्दै र जागिर गर्दागर्दै उनी कृषितिर आकर्षित भए । उद्यम विकास सहजकर्ता भएर किसानलाई सहजीकरण गर्दा उनी आफैंलाई व्यावसायिक कृषिकर्म गर्न मन लाग्यो । त्यसपछि उनी जागिर र पढाइ छोडेर कृषिकर्ममा लागेका हुन् ।

चार वर्षदेखि उनी व्यावसायिक तरकारी खेतीमा छन् । ‘लामो समय किसानलाई तालिम दिइयो । किसानका बारीमा पुगेर अध्ययन, अवलोकन गरियो,’ चौधरीले भने, ‘किसानको काम देखेर आफैंलाई पनि त्यही कर्म गर्न हौसला मिल्यो अनि जागिर र पढाइ छोडेर पूर्णकालीन कृषिकर्ममा लागें ।’ उनले अहिले पक्वैमा डेढ बिघा आफ्नै जग्गामा काउली, टमाटर र बन्दागोभीको खेती गरेका छन् । दुई वर्षदेखि लमही नगरपालिका–८ सतबरियामा पनि पाँच बिघा जमिन भाडामा लिएर खुर्सानी, काँक्रा, तरबुजा र टमाटर खेती गरिरहेका छन् । चार जनालाई नियमित रोजगारी दिएका छन् । तरकारी रोप्दा र टिप्दा २० जनाजतिले काम पाउँछन् । उनी दाङ र देउखुरी दिनहुँ ओहोरदोहोर गरिरहन्छन् ।

उनले अहिले वार्षिक ४५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन् । जसबाट ५८ प्रतिशत आम्दानी हुने गरेको उनले बताए । उनी अहिले पनि राम्रो खेती गरेका किसानका बारीमा पुगेर सिक्छन् । ‘अहिले पनि कसरी राम्रो खेती गर्न सकिन्छ भनेर नियमित सिकिरहेको छु,’ उनले भने, ‘सिकाइबाट उत्पादन वृद्धि गर्न सहयोग मिल्छ ।’ बजारको समस्या छैन, बारीमै गाडी लिएर खरिद गर्न आउँछन् । लकडाउनको समयमा बिक्री नभएपछि भने उनी गाडी रिजर्भ गरेर घरघरमै बिक्री गर्न हिँडेका थिए । अहिले उनलाई तरकारी बिक्रीमा कुनै समस्या छैन ।

पहिले उनको खेतबारीमा धान र मसुरो मात्रै खेती हुन्थ्यो, जसबाट मुस्किलले वार्षिक ३० हजार रुपैयाँ बच्थ्यो । अहिले व्यावसायिक तरकारी खेती सुरु गरेपछि उनको उत्पादन लाखौंमा पुगेको छ । आधुनिकीकरण गर्दै व्यावसायिक खेती गरेमा राम्रो आम्दानी गर्न सकिने उनले सुझाए । सुरुमा उनलाई यति धेरै पढेलेखेको, जागिरे मान्छे किन सबै छोडेर कृषिमा लागेको होला भनेर छिमेकी र साथीभाइले अनौठो मान्थे । अहिले भने सबै उनको कामदेखि दंग परेका छन् । उनले आफूमात्रै होइन, पढेलेखेकी बहिनीलाई समेत कृषिमै लगाएका छन् । बहिनी सुनिता चौधरीले बीबीएस पढेकी छन् ।

बहिनीलाई उनले सहकारीमार्फत कृषिको तालिम लिन चार वर्षअघि इजरायल पठाए । ११ महिनाको तालिम लिएर आएपछि सुनिता पनि पूर्णरूपमा दाइलाई सघाउँदै कृषिमै लागेकी छन् । बीउ नपाउनु, चाहेको ठाउँमा जग्गा भाडामा नपाउनु, सरकारी अनुदान वास्तविक किसानले नपाउनु, प्रविधिको प्रयोग नहुनुजस्ता समस्या भए पनि कृषिमा सम्भावना राम्रो रहेको चौधरीले बताए । ‘व्यावसायिक खेती गर्नेले राम्रो आम्दानी गर्न सक्छ । पढेर जागिर मात्रै खानुपर्छ भन्ने छैन,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७८ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×