कोभिड मापदण्ड : नियम बनाउनेले नै पालना गरेनन्- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड मापदण्ड : नियम बनाउनेले नै पालना गरेनन्

‘नियम फरक–फरक मान्छेलाई फरक–फरक लाग्दा महामारी नियन्त्रण प्रभावकारी हुन सकेन’
जगदीश्वर पाण्डे

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर बढेसँगै मन्त्रिपरिषद्को सोमबार बिहानको बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि ३० बुँदे आदेश जारी गर्‍यो । जुन आदेशको ५ नम्बर बुँदामा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । तर मन्त्रिपरिषद्बाट भएको निर्णय केही घण्टामै त्यसको उल्लंघन बालुवाटारभित्रैबाट भयो ।

जहाँ प्रधानमन्त्री केपी ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्यसमेतको उपस्थितिमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्यो । उक्त बैठकले २५ जना भेला हुन नहुने भन्ने केहीबेरअघि जारी भएको आदेशलाई गिज्याइरहेको थियो । तस्बिरमा देखिएअनुसार केही नेताले त मास्कसमेत लगाएका थिएनन् ।

मन्त्रिपरिषद्बाट सरकारले नै जारी गरेको आदेशको उल्लंघन सोमबार मात्र होइन मंगलबार पनि जारी रह्यो । मंगलबार प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राखिने राम–सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई प्रधानमन्त्री निवासमै पूजापाठ गरी पठाए । ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिको पूजा गरेका थिए । यस क्रममा प्रधानमन्त्री निवासको प्रांगणमा एक सय जनाभन्दा बढी जम्मा भएका थिए । अर्कोतर्फ मंगलबारै ओलीकै पार्टी एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले राष्ट्रिय सभागृहमा कार्यकर्ता भेला गर्‍यो । जसमा करिब ५ सय युवाको उपस्थिति थियो । उक्त भेलाका प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओली नै बोलाइएका थिए । उनी त भेलामा गएनन् तर सत्तारूढ पार्टीकै जिम्मेवार नेताहरूले सरकारी मापदण्डको खिल्ली उडाए । सभागृहमा स्वास्थ्य मापदण्ड अपनाइएको थिएन । कसैले मास्क नै लगाएका थिएनन् भने कसैले च्यापुमा त कसैले खल्तीमा हालेका थिए । तर उनीहरू कसैलाई पनि संक्रामक रोग ऐनअनुसार कारबाही भएन ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि कागजमा बलियो र अब्बल मापदण्ड ल्याए पनि उक्त मापदण्ड प्रधानमन्त्री निवास बालुवाटारभित्र र ओली निकटका नेता–कार्यकर्ताका लागि भने लागू नभएको देखियो । आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने उल्लेख छ । प्रधानमन्त्री ओलीले नै उक्त निर्णयको उल्लंघन गरिदिएपछि कानुनी व्यवस्था व्यर्थ बनेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालको सन्दर्भमा नियमहरू फरक–फरक मान्छेलाई फरक–फरक रूपमा लागू हुने गरेको बताउँछन् । ‘त्यसैकारण हाम्रोमा महामारी नियन्त्रण प्रभावकारी हुन सकेको छैन,’ उनले भने, ‘नाकामा कडाइ गरिन्छ तर हवाईजहाजमा पीसीआर टेस्ट नगरीकनै उडाउने काम भइरहेको छ । पहिला नेपालमै पीसीआर नगरी चढ्न पाइँदैन थियो ।’ भौगोलिक र आर्थिक रूपमा असमान मान्छेलाई उही नियम फरक रूपमा लाग्ने गरेको उनले बताए ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस रोकथाम र नियन्त्रणको सवालमा मन्त्रिपरिषदबाट आदेश जारी भएको हुँदा यसलाई सम्बन्धित निकायहरूबाट पालना हुनुपर्ने बताए । ‘यो आदेशलाई पालना गर्न केन्द्रमा केन्द्रीय सरकार र यसका अंग, प्रदेशमा प्रदेश सरकार, स्थानीय तहमा स्थानीय सरकार तथा जिल्लामा सम्बन्धित निकायले भूमिका खेल्ने हो,’ उनले कान्तिपुरसँग भने । मन्त्री गुरुङले भनेजस्तै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको आदेश उल्लंघन गर्नेलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने हो । प्रधानमन्त्री ओली, शीर्ष नेता तथा कार्यकर्ताहरू भने खुलेआम सरकारकै आदेशलाई चुनौती दिइरहेका छन् । तर सन्निकट संकटबारे कसैले ख्याल गरेका छैनन् ।

यो पनि पढ्नुहोस्ः

सरकारको आदेशविपरीत खेलकुद महासंघको भेला [तस्बिरहरु]

प्रकाशित : वैशाख ८, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्जमा स्वास्थ्य संकट

मधु शाही, रूपा गहतराज

बाँके — कोरोना संक्रमणको दोस्रो लहरले भारतसँगको सीमावर्ती सहर नेपालगन्ज र आसपासको बस्तीलाई गाँजेपछि स्वास्थ्य संकट चुलिएको छ । संक्रमितको उपचारदेखि मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्म समस्या सुरु भएको छ । कोहलपुर मेडिकल कलेजमा सोमबार दुई संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापन गर्न ठूलै समस्या आइलाग्यो ।

नेपालगन्ज चोक । फाइल तस्बिर ।

सोमबार दिउँसो कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । ती महिलाको अन्त्येष्टि कसले र कतिबेला गर्ने भन्ने टुंगो लगाउन झन्डै २० घण्टा छलफलमा बित्यो । परिवारले जिम्मा लिन मानेनन् । प्रशासनले राति सेना खटाउन ढिलासुस्ती गर्‍यो । एउटा शव अन्त्येष्टि गरिनसक्दै सोमबार राति ९ बजे कोहलपुर–२ का ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भयो । शिक्षण अस्पतालको मुर्दा घरमा दुईवटा शव अट्ने ठाउँ छ । छिटो शव व्यवस्थापन गर्न नसक्दा तनाव सहनुपरेको अस्पतालका कर्मचारीले बताए ।

‘शव छिटो व्यवस्थापन भइरहेको छैन,’ अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने, ‘मुर्दा घरमा दुईवटा शव मात्र अट्छन् ।’ अहिलेसम्म संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । उपनिर्देशक श्रेष्ठ सरकारले संक्रमितको शव व्यवस्थापनमा प्रस्ट नीति नल्याउँदा जटिलता थपिएको बताउँछन् । उनका अनुसार संक्रमित मृत्यु भएलगत्तै सम्बन्धित कोभिड अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयसमक्ष जानकारी गराउनुपर्छ । स्वास्थ्य कार्यालयले शव परिवारको जिम्मा लगाउने कि सेनाको भन्ने निर्णय गर्छ । परिवारलाई जिम्मा लगाउँदा संक्रमणको जोखिम हुने भएकाले दाहसंस्कार गर्न मान्दैनन् । त्यसपछि सेनाको पर्खाइमा घण्टौं मुर्दा घरमा शव राख्नु परिरहेको श्रेष्ठले सुनाए । सेनाले डोजर प्रयोग गरेर खाडल बनाउने, पुर्नका लागि छुट्टै मान्छेसमेत खटाउनुपर्ने, त्यसमा प्रयोग भएका सामान र व्यक्तिलाई सेनिटाइज गर्दा एउटा शव व्यवस्थापनमा लगभग ७० हजार रुपैयाँ खर्च लाग्ने गरेको श्रेष्ठले बताए । ‘यो भनेको राज्यलाई आर्थिक भार पनि हो,’ उनले भने, ‘शवबाट संक्रमण सर्ने होइन, पीपीई प्रयोग गरेर परिवारले पनि दाहसंस्कार गर्न सक्छन् ।’

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन तेज वलीले संक्रमितको शव व्यवस्थापनमा परिवार विमुख भएको बताए । होम आइसोलेसनमा संक्रमित बसेर उपचार गरेजस्तै सुरक्षा अपनाएर परिवारले नै दाहसंस्कार गराउँदा खासै फरक नपर्ने उनको भनाइ छ ।

नेपालगन्जस्थित भेरी अस्पताल अहिले कोरोना संक्रमितले भरिएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३२ जनाको परीक्षण गर्दा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । तीमध्ये २ सय ६४ जना बाँकेका हुन् । ‘खतराको घण्टी दिनानुदिन बजिरहेको छ,’ केन्द्रका फोकल पर्सन वलीले भने, ‘यहाँका अस्पतालमा एउटा एम्बुलेन्सको समेत व्यवस्था छैन, न त शववाहन चलाउने चालक नै छन् ।’ एम्बुलेन्स बिग्रिएको दुई वर्षभन्दा बढी भएको अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियन डा. पारस पाण्डेले बताए । उनका अनुसार अहिलेसम्म समुदायस्तरको एम्बुलेन्समा भर पर्नुपरेको छ । अस्पतालमा आएका अधिकांश संक्रमित बिरामी गम्भीर प्रकृतिका छन् । उनीहरूलाई भेन्टिलेटरमा राख्न पनि जनशक्तिको अभाव रहेको उनले सुनाए । अस्पतालमा उनी एक्ला चिकित्सक हुन्, जसले कोभिडका र ओपीडीका बिरामीलाई अक्सिजन दिने भेन्टिलेटरमा अक्सिजनको मात्रा जाँच गर्ने काम गर्छन् । मेसिनरी काम भएकाले सबैले यो भूमिका निर्वाह गर्न सक्दैनन् । अस्पतालमा १७ वटा भेन्टिलेटरमध्ये १४ वटा कोभिडका लागि प्रयोग भएका र ६ वटा ओपीडीमा रहेका डा. पाण्डेले बताए । पर्याप्त जनशक्ति नहुँदा ६ वटा भेन्टिलेटरमात्रै सञ्चालनमा छन् । कोहलपुरस्थित नेपालगन्ज मेडिकल शिक्षण अस्पतालमा अहिले ३३ जना संक्रमित आइसोलेसनमा छन् । ५ सय ६० जना स्वास्थ्यकर्मी रहेको अस्पतालमा कोभिडकै लागि ६० जना खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड व्यवस्थापन गर्न स्थानीय तहलाई जोड दिएको बताए । जिल्लामा रहेका आठवटै स्थानीय तहलाई एक/एकवटा कोभिड प्रयोजनका लागि एम्बुलेन्स व्यवस्था गर्न निर्देशन दिइएको छ । निर्देशनअनुसार जम्मा ४ वटा पालिकाले मात्रै पालना गरेको प्रमुख जिल्ला अधिकारी गेलालले सुनाए । ‘अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाले मात्रै कोभिड एम्बुलेन्स राखेका छन्,’ उनले भने, ‘सबै स्थानीय तहमा तुरुन्तै आइसोलेसन सेन्टर खोल्न भनेका छौं ।’

बाँकेमा मंगलबार एकै दिन १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा १ सय ९३ जनामा गरिएको परीक्षणमा ९२.७ प्रतिशतमा भाइरस पुष्टि भएको हो । अहिलेसम्म नेपालगन्जमा २७ जना स्वास्थ्यकर्मी, १० जनप्रतिनिधि, ३९ जना कर्मचारी संक्रमित भएका छन । ‘यही अवस्था रहने हो भने बिमारीले भेल्टिलेटर नपाउने अवस्था आउनेछ,’ डा. प्रकाश थापाले भने । सरकारीका साथै निजी कोरोना अस्पतालसमेत कोभिडका बिरामीले भरिएका छन् । विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिसम्ममा संक्रमण देखिएपछि स्वास्थ्य क्षेत्रमा चुनौती देखिएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×