कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकिस्त बिरामी फर्काइँदै

त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर भरिएपछि मंगलबार मात्रै ३ जना गम्भीर बिरामीलाई फर्काइएको थियो

काठमाडौँ — देशभर कोरोनाका सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ सय ६० जना आईसीयू र भेन्टिलेटरमा ४५ जना रहेका छन् । कतिपय अस्पतालमा सिकिस्त बिरामी राख्ने शय्या नभएकाले फर्काउन थालेका छन् ।

सिकिस्त बिरामी फर्काइँदै

वैशाख १ गते ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका थिए भने वैशाख २ गते वृद्धि भई ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका थिए । ३ गते १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा रहेकामा ४ गते ९४ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा पुगेका थिए । ५ गते १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा र ६ गते १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा बिरामी पुगेका थिए । ७ गते १ सय ६० जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर १ हजार १ सय ८ वटा आईसीयू र ४ सय ६० वटा भेन्टिलेटर उपलब्ध रहेको छ । सिकिस्त बिरामी सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेका छन् । वैशाख ७ गतेको तथ्यांकअनुसार वाग्मतीमा ७२ जना आईसीयू र ३० जना भेन्टिलेटरमा रहेका छन् । त्यसैगरी लुम्बिनीमा ५७ जना आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णालीमा १० जना आईसीयू र एक जना भेन्टिलेटरमा छन् ।

बलम्बुस्थित नेपाल एपीएफ अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले हाल ७० जना उपचाररत रहेकोमा १४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको बताए । जटिल संक्रमितको बिरामी बढेका छन् र डिस्चार्ज हुन पनि समय लागिरहेको छ । ‘बिरामीको चाप बढिरहेको छ । अबको १० दिनमा हाम्रो क्षमताले धान्न सक्दैन,’ उनले भने । यस अस्पतालमा २० आईसीयू र ८ भेन्टिलेटरको सुविधा छ । वीर अस्पतालमा आईसीयूमा ८ जना भर्ना भएकामा ३ जना भेन्टिलेटरमा रहेका छन् । वीरले कोभिडका लागि १० वटा आईसीयू र ५ भेन्टिलेटर छुट्याएकामा सबै भरिन लागेका छन् । कोभिडका फोकल पर्सन डा. अच्युत कार्कीले आईसीयू र भेन्टिलेटर भरिँदै गएकाले क्षमता बढाउनुपर्ने बताए । उनका अनुसार २३ जना उपचाररत रहेकामा हाल सरदर दैनिक ३ देखि ४ जना संक्रमित भर्ना भइरहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले सिकिस्त बिरामीको संख्या बढ्दै गइरहेको बताए । ‘अहिलेको अवस्था हेर्दा जेठसम्ममा हामी पिकमै पुगिसक्छौं । एकदम सजग हुन जरुरी छ,’ उनले भने । उनका अनुसार शुक्रराजमा हाल २७ जनाको उपचार भइरहेको छ । संक्रमित व्यक्तिहरू निको हुने समय लम्बिएकाले बेड अकुपाई भएर प्याक हुने स्थिति आइरहेको उनले बताए । अस्पतालमा २० वटा आईसीयू बेड र ११ वटा भेन्टिलेटर छ ।

त्रिवि शिक्षण अस्पतालका डा. मनु भट्टराईले हाल १० जना आईसीयूमा रहेकामा ७ जना भेन्टिलेटरको सपोर्ट चाहिने बिरामी भएको बताए । ‘हाम्रो त प्याक भइसक्यो । आजै मात्र २–३ जना फर्काउनुपर्‍यो,’ उनले भने । स्वास्थ्य मन्त्रालयले मंगलबार निर्देशन जारी गर्दै कोरोनाका सिकिस्त बिरामीको आकस्मिक उपचारको व्यवस्थापन गरेर मात्र रिफर गर्न निर्देशन दिएको छ । अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले जारी गरेको निर्देशनमा ‘अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितता समन्वय गरेर मात्रै पठाउन’ उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १ हजार ६ सय ६७ जना संक्रमित फेला परेका हुन् । त्यस्तै, ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसमेत कुल संक्रमित १ हजार ७ सय ३६ पुगेका छन् । हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । २४ घण्टामा २ सय ५१ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?