४५ को सिमी एक महिनामै १४०- समाचार - कान्तिपुर समाचार

४५ को सिमी एक महिनामै १४०

तरकारी १८९ प्रतिशतसम्म महँगियो, कुखुराको मासुमा रेकर्ड
आन्तरिक उत्पादन घट्दा बजार आयातमा निर्भर 
राजु चौधरी

काठमाडौँ — खरिद गरेको केही दिनसम्म ताजै रहने, छिटो नसड्ने र तरकारीमा स्वास्थ्यवर्द्धक गेडागुडी खोज्नेहरूले किन्छन् घिउसिमी । गत चैत ७ मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा लोकल घिउसिमी थोकमा प्रतिकेजी औसत ४५ रुपैयाँ थियो । मंगलबार वैशाख ७ मा यसको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । राज्मा ७० बाट १ सय १० र हाइब्रिड घिउसिमी ४० बाट ९० रुपैयाँ प्रतिकेजी पुगेको छ । 


तरकारी बजारमा सिमीमा मात्रै भाउ अचाक्ली भएको होइन, सबैजसो तरकारीको मूल्य थोकमै करिब १८९ प्रतिशतसम्म बढेको छ । फलफूलको मूल्य ४१ प्रतिशतसम्मले वृद्धि भएको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि अकासिएको छ । त्यसमाथि बिचौलियाहरूको चलखेलले आम उपभोक्तालाई थप महँगीको मार परेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बन्दा र मटरकोसाको मूल्य पनि होलसेलमै शतप्रतिशतले बढेको छ । हरियो फर्सी, हरियो धनियाँ, काउली, प्याजलगायत तरकारीको मूल्य पनि छोइनसक्नुभएको छ । होलसेलमै शतप्रतिशत वृद्धि हुँदा खुद्रामा पनि सोहीअनुसार मूल्य बढाएर बिक्री गर्ने गरिएको छ । ‘केही दिनयता होलसेलमै बढेको छ । हामीले महँगोमा खरिद गरेपछि २/४ पैसा राखेर बेचिरहेका छौं,’ सुकेधारा तरकारी बजारका एक व्यापारीले भने, ‘महँगोमा खरिद भएपछि उपभोक्तालाई पनि बढी मूल्य पर्‍यो । प्रतिकिलो ८०/१०० रुपैयाँभन्दा कममा तरकारी पाउन मुस्किलै छ ।’

हरेक खुद्रा पसलमा मूल्य फरक–फरक छ तर केही खुद्रा व्यापारीहरूलाई मूल्य बढ्नुको कारण थाहा छैन । कालीमाटी तरकारी बजारले भने उत्पादनमै कमी भएको जनाएको छ । उत्पादन कमी र त्यसमाथि बिचौलियाको चलखेल हुँदा थप महँगो भएको हो ।‘तरकारीमा मूल्य बढ्नुको मुख्य कारण आन्तरिक उत्पादनकै कमी हो । बजारमा हिउँदे तरकारी सकिएको छ । बर्खे तरकारी आउने बेला भएको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘माग धान्न भारतबाट आयात भइरहेको छ । यसले गर्दा महँगी भएको हो ।’ समितिका अनुसार हाल भारतबाट दैनिक करिब ४५ प्रतिशत तरकारी भित्रिइरहेको छ । भारतबाट आए पनि बजारको मागका अनुपातमा पर्याप्त भने छैन । श्रेष्ठका अनुसार सामान्य अवस्थामा करिब दैनिक आठ सय टन भित्रिन्छ ।

कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको ७० प्रतिशत माग धान्छ । तर अहिले सात सय टन हाराहारीमा मात्रै भित्रिएको छ । समितिका अनुसार २०७७ चैत ७ मा किलोको ४५ रुपैयाँ रहेको घिउसिमी हाल बढेर १४० रुपैयाँ, १२ रुपैयाँ पर्ने बन्दा बढेर ३३ रुपैयाँ, ७५ रुपैयाँ पर्ने मटरकोसा बढेर १५५ रुपैयाँ, २८ रुपैयाँ पर्ने हरियो फर्सी बढेर ५५ रुपैयाँ पुगेको छ । होलसेल मूल्य ४५ रुपैयाँ पर्ने हरियो धनियाँ ८७ रुपैयाँ, ४७ रुपैयाँ पर्ने लोकल काउली बढेर ७५ रुपैयाँ, ५७ रुपैयाँ पर्ने प्याज हरियो ८७ रुपैयाँ, ६५ रुपैयाँ पर्ने काँक्रो बढेर ९० रुपैयाँ पुगेको छ । यस्तै भेडे खुर्सानी, मुला, हरियो लसुन, बोडी, ब्रोकाउलीलगायत तरकारीको मूल्य बढेको छ । गोलभेंडा, रातो आलु र भन्टाको मूल्य भने घटेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार तरकारीको मूल्य चैतबाटै बढ्न थालेको हो । त्यसपछि क्रमिक रूपमा बढिरहेको छ । उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लासँगै भारतबाट तरकारी भित्रिन्छ । यी क्षेत्रबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत बजारमा बिक्री हुन्छ ।

तरकारी जस्तै फलफूलको मूल्य पनि उच्च दरले अकासिएको छ । एक महिनाको अवधिमा हरियो अंगुरको मूल्य ४१ प्रतिशतले बढेर १ सय ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । अंगुर कालो ३८ प्रतिशतले बढेर २ सय ९० रुपैयाँ पुगेको छ । सुन्तलाको मूल्य २६ प्रतिशतले बढेर १ सय ९५, स्याउको ३ प्रतिशतले बढेर १ सय ९५, तरबुजा ६ प्रतिशतले बढेर प्रतिकिलो ४८ र केरा १० प्रतिशतले बढेर प्रतिदर्जन १ सय १५ रुपैयाँ पुगेको छ ।

फलफूलको मूल्य होलसेलमा बढेपछि खुद्रामा पनि सोही अनुपातमा वृद्धि भएको छ । ‘दैनिक उपभोग्य वस्तु छोइनसक्नुभएको छ । मूल्य दिनहँॅ अकासिए पनि नियामक निकाय मौन देखिन्छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘छिटपुट रूपमा हुने अनुगमनले सुधार भएन । रणनीतिक हिसाबले अनुगमन जरुरी छ । अनुगमन संख्याभन्दा मूल्य स्रोतमै नियन्त्रण गर्नुपर्छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले पनि उत्पादन नभएकै कारण मूल्य बढिरहेको बताए । ‘हामी कृषि उत्पादनमा आत्मनिर्भर भइसकेका छैनौं । आयात नगरी माग धान्न सक्ने अवस्था छैन, आयात भइरहेको छ,’ उनले भने, ‘यद्यपि आयातको दर घटेको छ ।’ तरकारी र फलफूलसँगै खाने तेल र भटमासको मूल्य पनि बढ्दो छ । खाने तेलको मूल्य ५/६ महिनाको अवधिमा प्रतिलिटर ६५ रुपैयाँ बढेको छ ।

खुद्रा व्यापार संघका अनुसार गत जेठमा प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेको भटमास तेल २ सय २० र १ सय ६० रुपैयाँ रहेको सनफ्लावर २ सय २५ रुपैयाँ पुगेको छ । सानो केराउ प्रतिकिलो ३० रुपैयाँ बढेर १ सय ७० र सेतो केराउ २० रुपैयाँ बढेर किलोको १ सय रुपैयाँ पुगेको छ ।

उद्योगीहरूले युक्रेन, सिंगापुर र मलेसियाबाट खाने तेलको कच्चा पदार्थ आयात गर्छन् । त्यसपछि यहाँ रिफाइन गरेर पुनः भारत पठाउँछन् । यसले प्रतिलिटर ४० रुपैयाँसम्म नाफा भएको व्यवसायीहरूले बताउने गरेका छन् । यही कारण कच्चा पदार्थ रिफाइन गरेर भारत पठाउने गरिएको हो । ‘खुद्रा मूल्यभन्दा होलसेलमा बढ्न थाल्यो । होलसेलमा बढेलगत्तै खुद्रामा पनि बढ्छ,’ संघका महासचिव अमूलकाजी श्रेष्ठले भने । तेल व्यवसायीहरूले भने मूल्य बढ्नुको कारण कच्चा तेलको मूल्यवृद्धिलाई मान्छन् । ‘केही साताअघि अन्तर्राष्ट्रिय बजारमा घट्ने क्रममा थियो । घटेपछि प्रतिलिटर ८/१० रुपैयाँ घटाएका थियौं,’ एक तेल उद्योगीले भने, ‘अहिले फेरि मूल्य बढ्न थालेको छ ।’

कुखुराको मासु पनि मूल्य उच्च

पछिल्लो समय कुखुराको मासुको मूल्यमा पनि वृद्धिको रेकर्ड बनिरहेको छ । उत्पादन नभएको भन्दै व्यवसायीहरूले आफूखुसी मूल्य बढाउँदा सरकारी निकाय भने मौन छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आइतबारसम्म प्रतिकिलो कुखुरा मासुको मूल्य ४ सय १५ रुपैयाँ तोकेको थियो । उक्त मूल्य पनि अहिलेसम्मकै उच्च हो । संघले ४ सय १५ रुपैयाँ तोक्दा खुद्रा व्यवसायीले भने किलोकै ४ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका थिए । संघले सोमबार प्रतिकिलो ४ सय ५० रुपैयाँ तोकेको छ । अब खुद्रामा भने ४ सय ७० रुपैयाँसम्ममा बिक्री भइरहेको जनाइएको छ ।

‘केही दिनयता कुखुराको मासुको मूल्यमा निकै उच्च भएको छ,’ संघका अध्यक्ष जंगबहादुर बीसीले भने, ‘प्रतिकिलो ४ सय ५० पनि मूल्यमा हालसम्मकै नयाँ कीर्तिमान हो । ठाउँअनुसार खुद्रामा ४ सय ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।’ गत वर्षभन्दा प्यारेन्ट कम भएकै कारण कुखुरा मासु अभाव भएको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले बताए । अघिल्लो वर्ष १८/१९ लाख आएको प्यारेन्ट अहिले ९ लाख हाराहारीमा मात्रै आयात भएको छ । जसले गर्दा चल्ला उत्पादनमा कमी आएको विभागको दाबी छ । ‘खोरै खाली हुने गरी रोग आएको छैन । पछिल्लो समय ह्याचरीले पनि कम उत्पादन गरेका छन् । बजार मूल्य माग र आपूर्तिको कुरा हो,’ उनले भने, ‘मूल्य बजारले नै निर्धारण गर्छ । रोगले मूल्य बढेको होइन ।’

अब स्रोतमै विशेष अनुगमन

बजारमा चौतर्फी मूल्य बढिरहँदा मूल्य हस्तक्षेपको दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्रोतमा अनुगमन गर्ने जनाएको छ । मूल्य नियन्त्रण गर्न विशेष अनुगमन गरिने विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग थप कर्मचारी माग गरिएको उनले बताए । ‘एक/दुई दिनमा विशेष अनुगमन गर्दै छौं । विभागका कर्मचारीले मात्रै पुग्दैन, मन्त्रालयबाट थप जनशक्ति मगाएका छौं,’ उनले भने, ‘अनुगमन विशेष हुन्छ । उत्पादकदेखि बजारसम्म अनुगमन र बिल विश्लेषण हुन्छ ।’

विभागका अनुसार तेलको हकमा व्यवसायीहरूले कच्चा पदार्थ र ढुवानी भाडा बढेको बताए पनि एक किलो/टनमा वृद्धि हुँदा यहाँ कति असर गर्ने जानकारी गराएका छैनन् । तेल व्यवसायीले मूल्यवृद्धिको सन्दर्भमा तीन पटक पत्र पठाए पनि चित्तबुझ्दो छैन । ‘अब कडाइका साथ अगाडि बढ्छौं,’ उनले भने । कुखुराको मासु भाउ बढे पनि किसानले राम्रो मूल्य पाएका छैनन् । किसानलाई थोरै दिएर व्यवसायीहरूले बढी मुनाफा राखेका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

ईएसएलको विरोधमा फिफा

एएफपी

मोन्ट्रेक्स — फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार युरोपेली सुपर लिग (ईएसएल) मा सहभागी हुने क्लबले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ईएसएलको विरोध बढ्ने क्रममा फिफा अध्यक्षको यो धारणा औपचारिक रूपमा अगाडि आएको हो । 

इन्फान्टिनोले युरोपेली फुटबल महासंघको समर्थन गर्दै युरोपेली च्याम्पियन्स लिग र घरेलु लिगलाई कमजोर पार्ने कुनै पनि कदम स्विकार्य नहुने पनि बताए । उनले फिफा कंग्रेसमा भने, ‘हाम्रो काम भनेको युरोपेली खेल ढाँचालाई जोगाउनु हो । यहीं कोही कसैले आफ्नै शैलीले काम गर्न खोज्छ भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी उसकै हुनेछ ।’

इंग्ल्यान्डका ६ र स्पेन तथा इटालीका ३–३ गरेर १२ शक्तिशाली क्लबले भर्खरै पृथक ईएसएल गर्ने घोषणा गरेका हुन् । त्यसमा सहभागी हुने संस्थापक सदस्यले करोडौं डलर पाउने निश्चित हुनेछ । त्यस लिगमा सहभागी हुने टिममा इंग्ल्यान्डका लिभरपुल, आर्सनल, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहम छन् ।

यस्तै स्पेनबाट रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र बार्सिलोना तथा इटालीबाट इन्टर मिलान, एसी मिलान र युभेन्ट्स छन् । अहिलेको च्याम्पियन्स लिगमा छनोट हुन सबैभन्दा पहिले आफ्नो घरेलु लिगमा नै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । छनोट भइसकेपछि पनि नकआउट चरण पुग्न कठिन समूह चरण पार गर्नैपर्ने हुन्छ । तर ईएसएलमा यसका संस्थापक सदस्यले प्रत्येक वर्ष प्रवेश पाउने निश्चत हुनेछ । यसकारण उनीहरूलाई छनोटको कठिन प्रक्रिया सामना गर्नुपर्ने छैन । यसले उनीहरूको आम्दानीमा कुनै फरक पार्ने छैन ।

प्रकाशित : वैशाख ८, २०७८ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×