कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन् । 

संक्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । मन्त्री त्रिपाठीले कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताए । उनले आदेश पालना गरे मात्र कोभिड–१९ भाइरसलाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिए । 'सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्', उनले भने, 'आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।' मन्त्री त्रिपाठीले कोभिड–१९ को संक्रमणलाई हल्कारुपमा नलिन र हल्का ढंगले लिए संक्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्नेसमेत बताए ।

उनले जनताको जीवन जोगाउन नै सरकारले आदेश जारी गरेको बताए । उनले सरकारको बन्दाबन्दी गर्ने कुनै चाहना नभएको पनि उल्लेख गरे । 'बन्दाबन्दीले हाम्रो जीवनलाई कस्तो असर गर्‍यो भन्ने कुरा हामीले विगतको अभ्यासबाट थाहा पाएका छौं । हामी भरसक बन्दाबन्दी गर्ने पक्षमा छैनौँ”, उनले भने ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पाँच हप्तादेखि संक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । उनले संक्रमणको नयाँ स्वरुप देखिएकाले सचेत रहनु पर्नेमा जोड दिए । मंगलबार मुलुकभर एक हजार ७३६ सङ्क्रमित फेला परेका छन् ।

प्रकाशित : वैशाख ७, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?