कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिनमै बदलियो सत्ताको खेल

लुम्बिनीमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु तीन घण्टामै मन्त्री 
जसपा प्रदेश कमिटीद्वारा चारै मन्त्रीलाई पार्टी जिम्मेवारीबाट निलम्बन, राजीनामा गरेर फिर्ता आउन निर्देशन
घनश्याम गौतम

रूपन्देही — आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार सांसदलाई तीन घण्टामै मन्त्री बनाएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाएका छन् । तत्काल सरकार जोगाए पनि संकट भने टरिसकेको छैन ।

छिनमै बदलियो सत्ताको खेल

मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा ९ अनुसार २०७४ फागुन ३ मा गठन भएको मन्त्रिपरिषद्मा सोमबार हेरफेर, पुनर्गठन र कार्यविभाजन गरेका हुन् । उनले आफूविरुद्धको अविश्वास प्रस्तावमा सोमबारै हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री पोखरेलले बहालवाला मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् । प्रदेशका ७ मन्त्रालय फुटाएर ९ वटा बनाइएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका सरकारका प्रवक्ता बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाको संसदीय दल बैठकले हस्ताक्षर गर्ने निर्णय गरेर सन्तोषकुमार पाण्डेसहित ५ जनाले हस्ताक्षर गरेलगत्तै माओवादी र कांग्रेसले सोमबार दिउँसो १ः१५ मा अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए । जसपाकी सांसद कल्पना पाण्डे काठमाडौंमा रहेको र भैरहवा आउँदै गरेको जानकारीपछि पाण्डे र राष्ट्रिय जनमोर्चाकी तारा जीसीले पछि हस्ताक्षर गर्ने गरी ४१ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको थियो । ८५ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ जना चाहिन्छ ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको सवा तीन घण्टा र मन्त्रीबाट राजीनामा दिएको तीन घण्टामै मुख्यमन्त्री पोखेरलले जसपाका तीन जना हस्ताक्षरकर्ता र एक जना हस्ताक्षर नगरेका सांसदलाई मन्त्री बनाएर साढे ४ बजे नै प्रदेश प्रमुख धर्मनाथ यादवबाट शपथ गराए । जसपाका ६ मध्ये ५ जना तत्कालीन संघीय समाजवादीका र कल्पना पाण्डे राजपातर्फका सांसद हुन् ।

मन्त्री बनेका चारै जनालाई जसपाको प्रदेश समितिले निलम्बन गरेको छ । जसपा संसदीय दलका नेता सहसराम यादवले पार्टी र संसदीय दलको निर्णयविपरीत काम गर्ने चारै जनालाई लुम्बिनी प्रदेश समितिले कारबाही प्रक्रिया अघि बढाएको बताए । लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै २४ घण्टे स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआउँदासम्म पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराएका छन् । राजीनामा दिएर फिर्ता आउन र नआएमा सांसद पद नरहने गरी कानुनी रूपमा कारबाही प्रक्रिया अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ । जसपाका ६ मध्ये ४ जना मन्त्री बनेपछि यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेंगामगर मात्र सरकारबाहिर छन् ।

नेकपा विवादले सरकार धरमरमा परेपछि फागुन २३ को मन्त्रिपरिषद् बैठकमै मुख्यमन्त्री पोखरेलले प्रदेशका मन्त्रालयको जिम्मेवारी हेरफेर गर्नेसम्बन्धी ‘मन्त्रालयहरूको कार्यविभाजन कार्यविधि’ प्रस्ताव पारित गराएका थिए तर सोही दिन सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र छुट्याइदिएपछि कार्यविधि थन्कियो । जसपाका नेतालाई मन्त्री पद दिएर नेकपा माओवादी र एमालेका खनाल–नेपाल समूहबाट हुन सक्ने असहयोगको सामना गर्ने गरी कार्यविधि तयार गरिएको थियो । तर पार्टी नै फरक परेपछि मुख्यमन्त्री स्वतः अल्पमतमा परेका थिए । कार्यविधि बनाएर जसपाका सांसदलाई मन्त्री थप गरी जोगिने उनको प्रयासले सोमबार सार्थकता पाएको हो ।

पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन चैत २३ देखि नै माओवादी र कांग्रेसले हस्ताक्षर सुरु गरेका थिए । त्यसपछि उनले चैत १८ बाट सुरु भएको प्रदेशसभा बैठक चैत २४ मा अन्त्य गरिदिए । त्यसले अविश्वास प्रस्तावविरुद्ध हस्ताक्षर सुरु गरेका दुवै पार्टी अलमलिएका थिए । नेकपा दुई पार्टीमा विभाजन भएपछि मुख्यमन्त्री हटाउने निर्णायक शक्ति जनता समाजवादी पार्टी बन्यो । अविश्वास प्रस्तावमा पनि जसपाका ६ सांसदको समर्थन आवश्यक थियो । तिनै ६ मध्येका तीन जनाले सुरुदेखि नै हस्ताक्षर गर्न आनाकानी गर्दै आएका थिए । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन कांग्रेससँग केन्द्रमा भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी निरन्तर लागेका थिए ।

तीन घण्टामै कसरी भयो नियुक्ति ?

जनता समाजवादी पार्टीका प्रमुख सचेतक पाण्डे, यादव र कल्पना पाण्डे सरकार बनेदेखि नै मन्त्री बन्ने प्रयासमा थिए । नेकपा विवादले मुख्यमन्त्री अल्पमतमा पर्न थालेपछि जसपा निर्णायक बन्यो । त्यसको फाइदा लिन पाण्डेद्वय र यादव मुख्यमन्त्रीसँग नियमित छलफलमा थिए । स्रोतका अनुसार आइतबारै मन्त्रालयको समेत टुंगो लागेको थियो । केन्द्रमा जस्तोसुकै निर्णय भए पनि प्रदेशमा पार्टी निर्णयका लागि स्वायत्त रहेको प्रमुख सचेतक पाण्डेले बताउँदै आएका थिए । ‘केन्द्रमा जे निर्णय भए पनि प्रदेश त्यो मान्न बाध्य नहुने’ उनको भनाइले मुख्यमन्त्री आफूले जसपाको साथ पाउनेमा ढुक्क थिए । तर, प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्रीले जोखिम मोलेर बर्खास्तीको निर्णय गर्न सकेका थिएनन् । त्यसले जसपाका नेतालाई मन्त्री बन्न रोक्यो । जसपाका ५ नेताले सोमबार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेलगत्तै माओवादी मन्त्रीले राजीनामा दिएपछि जसपाका नेतालाई बाटो खुल्यो र मन्त्री बने ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका प्रमुख सचेतक पाण्डेले प्रदेश स्वायत्त रहेकाले आफूहरूले मन्त्री बन्ने निर्णय लिएको बताए । ‘मुख्यमन्त्रीले पहिल्यैदेखि आउनुस्, मन्त्री बनाउँछु भन्नुहुन्थ्यो,’ उनले भने, ‘तर मन्त्रालय खाली थिएन, आज खाली भयो । मन्त्रालय विभाजनमा पनि कुरा मिल्यो अनि मन्त्री पनि बनियो ।’ प्रदेशको स्वायत्त अधिकार भएकाले केन्द्रले कुनै कारबाही र निर्णय लाद्न नसक्ने उनले बताए । जसपाका अन्य नेताले पनि सरकारलाई समर्थन गर्ने उनको दाबी छ ।

प्रदेश सत्ताको चाबी बोकेका जसपाका ४ सांसद मन्त्री बनेपछि सत्ता परिवर्तनमा लागेका कांग्रेस–माओवादी थप छलफलमा जुटेका छन् । अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित माओवादी नेता कुलप्रसाद केसीले हस्ताक्षर गर्ने चार जना नभए पनि आफूहरूले अविश्वास प्रस्ताव पास गर्ने बताए । ‘राजनीति हो, जे पनि हुन्छ,’ उनले भने, ‘केही समयका लागि मुख्यमन्त्रीजीले मन्त्री बनाए पनि हामी नै सफल हुन्छौं ।’ सबै अहिल्यै सार्वजनिक नगर्ने उनले बताए ।

केसीलाई मुख्यमन्त्री बनाउन सारथि बनेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले राजनीति जता पनि घुम्ने भएकाले अहिल्यै बिग्रिएको र अन्य दल असफल भएको टिप्पणी गर्न नमिल्ने बताए । ‘अहिलेको संकट मुख्यमन्त्रीले टार्नुभयो होला,’ उनले भने, ‘तर बाहिर जे देखिएको छ, त्यो पनि उहाँका लागि सहज वातावरण र माहोल छैन ।’ लुम्बिनी प्रदेशको सरकार अझै पनि संकटमै रहेको उनले बताए ।

लुम्बिनी प्रदेशसभाका ८७ सांसदमध्ये माओवादीले दधिराम न्यौपाने र दिनेश पन्थीलाई निलम्बन गरेपछि ८५ सांसद छन् । सरकार बनाउन ४३ मत आवश्यक पर्छ । एमालेका माधव नेपाल समूहका दुईसहित ४१ सांसद छन् । माओवादीका सभामुखसहित १८, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपा दुई खेमामा विभाजन भएमा एमालेलाई सकार जोगाउन सहज र अन्य दललाई अप्ठ्यारो अवस्था छ ।

प्रदेश सरकार विस्तार भएपछि लुम्बिनी प्रदेशका एमालेका नेता भने उत्साहित देखिएका छन् । सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले आफूले लुम्बिनी प्रदेश सरकार कहिल्यै नढल्ने भनी गर्दै आएको दाबी सोमबार पूरा भएको बताए । ‘अब सरकार स्थिर र गतिशील भएको छ,’ उनले भने, ‘केही दिन अन्योल भए पनि अब तीव्र गतिमा जनताका काम हुन्छन् ।’ पुनर्गठनपछि पनि मन्त्रिमण्डल पूरा भने भएको छैन । कार्यविधिबाट थप गरिएका ग्रामीण तथा सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खाली छन् । मुख्यमन्त्री पोखरेलले विस्तार नभएसम्मका लागि ग्रामीण तथा सहरी विकास बैजनाथ चौधरीलाई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लीला गिरीलाई दिएका छन् ।

प्रकाशित : वैशाख ७, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?