कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जभित्र बिनाअनुमति बाटो निर्माण

गोरेटो मर्मत र सफा गर्ने भनिए पनि रुख काटेरै बाटो विस्तार 
अब्दुल्लाह मियाँ

काठमाडौँ — गोकर्णेश्वर नगरपालिकाले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग अनुमति नलिई भित्री भागमा पर्ने ओख्रेनी गाउँमाथिको देउरालीबाट बागद्वारसम्म बाटो विस्तार गरेको छ । अनुमति नलिई रूखसमेत काटेर बाटो खनेको भन्दै निकुञ्जले नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष राम मानन्धर र निर्माण उपभोक्ता समितिकी अध्यक्ष निर्मला तामाङलाई नियन्त्रणमा लिएर तारखिमा छाडेको छ । 

निकुञ्जभित्र बिनाअनुमति बाटो निर्माण

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ मा ‘निकुञ्ज प्रमुखसँग लिखित अनुमति नलिई रूख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्‍याउन वा वन पैदावार ओसारपसार गर्न नपाइने’ व्यवस्था छ । तर वडा कार्यालयले निकुञ्जसँग अनुमति नलिई पुरानो बाटो मर्मत र सफा गर्ने भन्दै नगरपालिकाबाट विनियोजित बजेटबाट ४ किलोमिटरमा बाटो विस्तार गरेको थियो ।

जथाभावी रूख काटेर बाटो विस्तार गरिरहेको निकुञ्जका कर्मचारी र सेनाको गस्ती टोलीले थाहा पाएका थिए । सडक विस्तार गर्ने क्रममा १ फुट ४ इन्चदेखि २ फिट ६ इन्चसम्म गोलाइ र १५ देखि २० फिट लम्बाइका रूख हिनामिना गरिएको जानकारी स्रोतले दिएको छ । वडाले फागुन १० गतेदेखि नै बाटो निर्माण सुरु गरेको थियो । वडाध्यक्ष मानन्धरले बाटो बनाउन सुरु गरेपछि मात्र देउरालीबाट बागद्वारसम्म जाने पर्यटकीय बाटो मर्मत तथा सरसफाइ गर्ने योजना स्वीकृतिका लागि निकुञ्जमा निवेदन दिएका थिए । नगरपालिकाले उक्त सडक विस्तारका लागि ७ लाख २६ हजार २ सय १८ रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त क्षेत्रमा पर्ने निकुञ्जअन्तर्गतको सुन्दरीजल शिवपुरी उपभोक्ता समितिका अध्यक्ष नारायण श्रेष्ठले सडक विस्तारका लागि प्रक्रिया पूरा गरिदिन फागुन २१ मा निकुञ्जसमक्ष सिफारिस गरेका थिए । अनुमति नलिई बाटो विस्तार गरिएको खुल्न आएपछि त्यसबारे अनुसन्धान गर्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले सुन्दरीजल सेक्टर कार्यालयकी रेन्जर शर्मिला नेपाललाई अनुसन्धान अधिकृत तोकेका थिए । स्रोतका अनुसार वडाध्यक्ष मानन्धर र उपभोक्ता समितिकी अध्यक्ष तामाङले बागद्वारमा लाग्ने मेला भर्न जाने भक्तजनलाई सजिलो होस् भनेर बाटो बढाएको र त्यस क्रममा ढलापडा तथा हरिया रूख काटिएको स्विकारेका छन् । मानन्धरले बाटो बिस्तारका लागि प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) पौड्यालले मौखिक सहमित दिएको बताएका छन् । ‘मैले सहमति पाऊँ भनेर कागजात पनि निकुञ्ज कार्यालयमा पेस गरेको थिएँ’, उनले भने, ‘फागुन १२ गते कार्यालय प्रमुख पौड्यालले मौखिक आदेश दिनुभएकाले काम थालिएको हो ।’


गोकर्णेश्वर नगरपालिकाले धार्मिक पर्यटन प्लेट बनाउने योजनाअन्तर्गत गुह्येश्वरीदेखि बागद्वारसम्म सडक जोड्ने काम अघि बढाएको थियो । नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पनि ‘वार्डेनसँग संवाद गरी मेसिनबिना नै साधारण किसिमको बाटो निर्माण गरिएको’ जिकिर गरेका छन् । चिफ वार्डेन पौड्यालले भने पुरानो गोरेटो मर्मत सुधार गर्न मात्र मौखिक सहमति दिएकामा वडाले अन्यत्रै मोडेर मोटरबाटो नै निर्माण गरेकाले छानबिन भइरहेको कान्तिपुरलाई बताए ।

राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले निकुञ्जको ‘कोर एरिया’ मा रूख हटाउने र काट्ने निर्णय मन्त्रिपरिषद्ले मात्र गर्न सक्ने कानुनी व्यवस्था रहेको बताए । ‘रूखै ढलेर घर भत्किने वा अन्य क्षति हुने अवस्थामा बाहेक वार्डेनले मौखिक आदेश दिने व्यवस्था पनि छैन,’ उनले भने । ‘कानुनी प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाउनुपर्छ ।’

प्रकाशित : वैशाख ५, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?