कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशभर बादल लागेपछि दिउँसै अँधेरो

अब्दुल्लाह मियाँ

काठमाडौँ, पोखरा — गण्डकी प्रदेशभर बादल फैलिएपछि दिउँसै अँधेरो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले प्रिमनसुन अवधिमा आउने बादल एकै पटक फैलिँदा अँधेरो भएको बताइन् ।

गण्डकी प्रदेशभर बादल लागेपछि दिउँसै अँधेरो

‘यो हल्का वर्षा गराउने बादल हो, प्रि–मनसुनको बेला यस्तो बादल बेलुकीपख ३–४ घण्टा रहन्छ,’ उनले कान्तिपुरसित भनिन्, ‘हल्का वर्षा भएपछि त्यो बादल हराउँछ ।’ गण्डकी प्रदेशको राजधानी पोखरासहित म्याग्दी, बागलुङलगायतका जिल्लामा पनि दिउँसो साढे ३ बजेतिर नै अँधेरो भएको थियो ।

दक्षिण (भारत) हुँदै आएको उक्त बादल उत्तर–पश्चिमतिर गइरहेको छ । ‘यो बादलले हावाहुरी ल्याउने र चट्याङसमेत निम्त्याउने सम्भावना छ,’ उनले भनिन् । हल्का वर्षापछि केही हदसम्म प्रदूषण पनि घट्ने अपेक्षा गरिएको छ ।

एक सातायता डढेलोको संख्यामा कमी आए पनि राजधानीसहित देशका मुख्य सहरी क्षेत्रमा वायु प्रदूषणको अवस्थामा खासै परिवर्तन आएको छैन ।

वायु प्रदूषणको अध्ययन गर्ने स्विट्जरल्याण्डस्थित् आईक्यू एअरले काठमाडौंलाई अहिले पनि प्रदूषित ९४ सहरमध्ये ५ भित्रकै सहरमा राखेको छ । काठमाडौंसहित देशका मुख्य सहरहरुको वायुमण्डलमा अझै बाक्लो तुवाँलो भरिएको छ ।

वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागको ‘पोलुसन डट जीओभी डट एनपी’ले पनि काठमाडौंसहित देशका विभिन्न सहरी क्षेत्र र हिमाली जिल्लासम्मै वायुको गुणस्तर सूचकांक (एक्यूआई) बिग्रँदो देखाएको छ ।

बिहीबार पनि तराईदेखि हिमालको रारासम्मै एक्यूआई अस्वस्थ रेकर्ड भएको छ । धनगढीको वायुमण्डलमा भने एक्यूआई बिहीबार दिनैभर अत्यधिक अस्वस्थ कायम भइरह्यो । विभिन्न स्थानको बिहीबारको एक्यूआई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सरकारले तोकेको मापदण्डभन्दा अत्यधिक बढी छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार आइतबारयता वनको डढेलो केही हदसम्म नियन्त्रणमा आएको देखिन्छ ।

प्रकाशित : वैशाख २, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?