कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड अझै सर्वसुलभ !

अध्यादेश ल्याइए पनि फितलो नियमन र निगरानीले एसिड आक्रमणको घटना निरन्तर 
‘हरेक चोक र घुम्तीमा एसिड बेच्न राखिएको देखिन्छ । बेच्नेलाई कारबाही गर्ने कि नियमनको जिम्मा पाएको प्रशासनलाई ?’
जनकराज सापकोटा

काठमाडौँ — रूपबहादुर विकको बास आइतबार यता साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा छ । तेजाबको जलनले घाइते भएका २८ वर्षीय साइँलो भाइ बुद्धिको उपचारमा कति खटिनुपर्ने हो, अझै टुंगो छैन । बुद्धिको देब्रे आँखाको डिल, देब्रे गाला, त्यही भागको कानदेखि गर्धनसम्म एसिडको जलन छ । 

एसिड अझै सर्वसुलभ !

गोकर्णेश्वरबाट सुन्ताखाना जाने बाटोमै पर्ने जेनिस हेन्डिक्राफ्टमा काम गर्ने बुद्धिमाथि सँगै काम गर्ने रमेश रम्तेलले आइतबार बिहान एसिड प्रहार गरेका हुन् । बिहानको समय बुद्धि भाडा टल्काउन एसिड ब्रस गर्दै थिए । नजिकै रहेका एउटा बालकले उनलाई जिस्किँदै पानी छ्यापिदिए । बुद्धिले ती बालकलाई किन त्यसो गरेको भन्दै हकारे । यो सब नजिकैबाट देखिरहेका रमेशले रिसाउँदै आएर ‘हाम्रो भाइलाई किन थर्काको ?’ भन्न थाले । विवाद बढ्दै जाँदा रमेशले नजिकै रहेको एसिडको बट्टासहित उनलाई हिर्काए ।

घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धले रमेशलाई पक्राउ गरेको छ । वृत्तका अनुसार सोमबार मात्रै थुनामा राखेर थप अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो एक महिनामा मात्रै बौद्ध वृत्तले हेरिरहेको एसिड दुरुपयोगबाट भएको यो दोस्रो घटना हो । यसले घातक मानिने रासायनिक पदार्थको निगरानी र नियमन कति फितलो छ भन्ने प्रस्ट्याउँछ ।

शंखरापुर नगरपालिका–१ स्थित सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाको आँगनमा गत १६ गते होली खेल्ने क्रम चलिरहेको थियो । दूधको फ्याट नाप्ने सल्फ्युरिक एसिडलाई पानी ठानेर छ्याप्दा ९ र ११ वर्षका दुई बालक र १६ वर्षकी एक किशोरी घाइते भए । बौद्ध वृत्तले डेरीका सञ्चालक केशवप्रसाद नेपालसहित एसिड छ्याप्ने १६ र १७ वर्षका दुई किशोरलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ । बौद्ध वृत्तका डीएसपी नवीन कार्कीले उक्त मुद्दामा पक्राउ परी थुनामा रहेकै तीनै जनामा कोरोना संक्रमण देखिएपछि मुद्दा अदालती प्रक्रियामा जान नसकेको बताए ।

उक्त घटनामा दलबहादुर तामाङकी छोरी पनि परिन् । खेतीपाती र दुई भैंसी पालेर जीवन निर्बाह गर्दै आएका दलबहादुर एसिड जलनमा छोरी परेपछि आपत्मा परेका छन् । उक्त घटनाका पीडित दुई बालक उपचारपछि घर फर्के पनि दलबहादुरकी छोरीको उपचार चलिरहेको छ । उनले सुनाए, ‘एक जना कुर्ने मान्छे चाहियो, कहिलेकाहीं घरको केही खानेकुरा खुवाऊँ जस्तो लाग्छ, पुर्‍याउन जानुपर्‍यो । छोरीले बेकसुर दुःख पाई ।’ डेरीले संवेदनशील पदार्थ गोप्य ठाउँमा नराख्दा छोरीले दुःख पाएकी उनले बताए । उनले चिन्ता जनाउँदै भने, ‘त्यही घटनापछि छोरीको ९ कक्षाको पढाइ छुटेको छ । भोलि झन् कति दुःख पाउने हो !’

यसअघिका एसिड प्रहारका अधिकांश घटनामा पीडकले सजिलै एसिड खरिद गरेको देखिन्छ । २०७६ साउन ६ मा स्वयम्भूमा २२ वर्षीया पवित्रा कार्कीमाथि मोहम्मद आलमले एसिड छ्यापेका थिए । मोहम्मदले प्रहरी बयानमा आफ्नो गार्मेन्ट फ्याक्ट्रीमा ट्वाइलेट सफा गर्न वर्षौंपहिले किनेको एसिड प्रयोग गरेको बताएका थिए । गत वर्षकै फागुन २५ मा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ की ५१ वर्षीया वेदमतीदेवी गुप्तामाथि एसिड प्रहार भयो । गाउँमै ब्याट्री मर्मत गर्ने पसल सञ्चालक हरिनारायण बराईले आफ्नै पसलबाट एसिड ल्याएर वेदमतीलाई छ्यापेका थिए । २०७६ जेठ १ मा कालोपुल बस्ने २० वर्षीया जेनी खड्कामाथि श्रीमान् विकास भनिने विष्णु भुजेलले एसिड छ्यापेका थिए । पक्राउपछि विष्णुले प्रहरीलाई बनेपाको एक सुनचाँदी पसलबाट एसिड किनेको बताएका थिए । यी प्रतिनिधि घटनाले एसिड कति सुलभ छ र प्रतिशोध साँध्न कसरी दुरुपयोग भइरहेको भन्ने बुझाउँछन् ।

काभ्रेको बेथानचोक गाउँपालिकामा गत मंसिरमा एसिडका कारण बालकको ज्यानै गयो । बेथानचोक–२ स्थित नवराज तिमल्सेनाको दुग्ध संकलन केन्द्रमा खेल्ने क्रममा २ वर्षीय बालक सम्पर्द तिमल्सेनाले बियरको बोतलमा राखिएको एसिड भेटेका थिए, जसबाट उनको शरीरको २५ प्रतिशत भाग जलेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा करिब एक महिनापछि बालकको ज्यान गयो ।

सरकारले गत असोज १२ मा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी अध्यादेश २०७७ जारी गरेको थियो । उक्त अध्यादेशमा नाइट्रिक, सल्फ्युरिक र हाइड्रोक्लोरिक एसिड तथा सरकारले राजपत्रमा प्रकाशित सूचना प्रकाशन गरी भनेका तेजाबजन्य र ज्वलनशील रासायनिक पदार्थ दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्रयोग, बिक्रीवितरण तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुका स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्ने अध्यादेशको प्रस्तावनामा उल्लेख छ । अध्यादेशअनुसार अनुमतिपत्र नलिई एसिडको उत्पादन, निकासी, पैठारी र बिक्रीवितरण गरे वा स्वीकृति नलिई पैठारी गरे ५० हजारदेखि १ लाख रुपैयाँसम जरिवाना र ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुन्छ । यो अध्यादेशले उत्पादक तथा बिक्रेताले प्रयोग र बिक्री तथा उत्पादनसम्बन्धी सर्त पालना नगरे पनि १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । सरकारले यस्तो कानुनी व्यवस्था गरे पनि सुनचाँदी पसलदेखि, दूध डेरीसम्म, तामा, पित्तलका भाँडा बनाउने उद्योगदेखि गाडीको ब्याट्री मर्मत हुने ठाउँसम्म बिनाकार्यविधि एसिडको निर्बाध प्रयोग भइरहेको छ ।

अध्यादेशको दफा ४ मा तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्रीवितरणका लागि प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयअन्तर्गतको अधिकृतले अनुमतिपत्र जारी गर्ने व्यवस्था छ । एसिडविरुद्धको अभियानमा संलग्न उज्ज्वल विक्रम थापाले अनुगमन नहुँदा खुला रूपमै तेजाबको बिक्रीवितरण भइरहेको र औद्योगिक प्रयोजनका लागि किन्नेले पनि त्यसको उचित भण्डारण नगर्दा जलनका घटना भइरहेको बताए ।

गृह मन्त्रालयले चैत २२ मा सूचना जारी गर्दै औद्योगिक प्रयोजनका लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक परे पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । गृहले यस्तो सूचना जारी गरे पनि डिपार्टमेन्टल स्टोरदेखि अनलाइन पसलबाट ट्वाइलेट सफा गर्ने वा अन्य नाममा एसिड र एसिडजन्य पदार्थको खुला बिक्रीवितरण भइरहेको पाइन्छ । अभियन्ता थापाले सार्वजनिक स्थानमा एसिड बिक्रीवितरण भइरहेको सूचनाजन्य तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् । उनले भने, ‘हरेक चोक र घुम्तीमा एसिड बेच्न राखिएको देखिन्छ । अब बेच्नेलाई कारबाही गर्ने कि नियमनको जिम्मा पाएको प्रशासनलाई ?’

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले अध्यादेशले तोकेको कार्यविधि बाहिर गएर एसिड बिक्रीवितरण, ओसारपसार र भण्डारण गर्नु दण्डनीय हुने बताए । उनले नयाँ कार्यविधिबारे व्यापक रूपमा जनस्तरमा बुझाउने काम प्रहरीले सुरु गर्ने जानकारी दिए । ‘कार्यविधिविपरीत एसिड बिक्रीवितरण गरिएको सूचना आम नागरिकले नजिकको प्रहरीलाई जानकारी गराए तुरुन्तै कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख १, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?