कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला अन्तर्राष्ट्रिय सीमामा निगरानी गरिनुपर्छ : प्रधानमन्त्री ओली

'विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा–जाँदा नपर्ने ?'

काठमाडौँ — प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा निगरानी गरिनुपर्ने बताएका छन् ।

खुला अन्तर्राष्ट्रिय सीमामा निगरानी गरिनुपर्छ : प्रधानमन्त्री ओली

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा मंगलबार सम्पन्न उच्चस्तरीय सुरक्षा तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

खुल्ला सीमाबाट प्रवेश गर्ने जोकोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा–जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मान्छे ?’, उनको प्रश्न थियो ।

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाह हुनुपर्ने बताए । उनले भने, ‘म्यान्मारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यान्मारसँग हो र ? विगतमा भुटानसँग थियो र ?' यसमा कसैले के भन्छ कि भन्नु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र ? विगतमा भुटानसँग थियो र ?’ प्रधानमन्त्रीले थपे ।

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतीबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने प्रधानमन्त्रीको तर्क थियो ।

समापन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गरे । ‘यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भूमिका खेलेको विश्वास छ,’ प्रधानसेनापति थापाले भने ।

नेपाली सेनाद्धारा जारी विज्ञप्ति अनुसार २०७२ सालबाट सुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ । हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन् । कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरि आयोजना गरिएको पनि सेनाले जनाएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?