कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमावर्ती सहरमा लागूऔषधको जालो

खुला सीमाका कारण पारि पुगेर सेवन गर्नेहरुले बोकेर भित्रिने क्रम फेरि बढ्न थालेको छ । कडा प्रकारका लागूऔषधको बढ्दो ओसारपसार तराईबाट पहाडसम्मै फैलिएको छ । 
प्रदेश ब्युरो

काठमाडौँ — गत वर्ष लकडाउनका केही महिना सीमावर्ती सहरमा लागूऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेहरूको सक्रियता घटेको थियो । फाट्टफुट्ट सीमामा पुग्ने प्रयोगकर्तालाई प्रहरी सम्झाएर फिर्ता पठाउँथे । कोरोना बिर्सेर बिस्तारै जनजीवन सहज हुन थालेपछि लागूऔषध कारोबारी फेरि सक्रिय भए । अहिले दिनहुँ पक्राउ परिरहेकाहरूको संख्या प्रहरीको टाउको दुखाइ भएको छ ।

सीमावर्ती सहरमा लागूऔषधको जालो

भारतसँग सीमा जोडिएका सहरका युवाहरूको उल्लेख्य संख्या भयावह रूपमा लागूपदार्थको दुव्यर्सनी भएका छन् । खुला सीमाका कारण सजिलै तस्करी हुने गरेकाले नयाँ प्रयोगकर्ता बढाउन र दुर्व्यसनको लतमा परेकाहरूलाई लागूऔषध महँगोमा बेच्न ठूलो गिरोह नै सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

खासगरी, प्रदेश १, २, लुम्बिनी र सुदूरपश्चिमका सीमावर्ती सहरमा युवाहरूको एउटा पुस्ता नै दुर्व्यसनको लतमा फसेको पाइएको छ । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले लागूऔषध ओसारपोसार, सेवन र बिक्री–वितरणको जालो डरलाग्दो छ । खुला सिमानाका कारण लागूऔषधका सेवनकर्ता र कारोबारीको भने यहाँ रजाइँ छ ।

चालु आर्थिक वर्षको आठ महिनाको प्रहरीकै तथ्यांकले प्रदेशका सीमावर्ती क्षेत्र लागूऔषधको ट्रान्जिट प्वाइन्ट बनेको देखिन्छ । जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार गाँजा, ब्राउन सुगर, चरेस, हेरोइन र अफिमलगायत कडाखालका लागूऔषध बरामद भएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले लागूऔषधको कारोबारी र दुर्व्यसनी पनि ठूलो संख्यामा पक्राउ परेको बताए । यो अवधिमा प्रदेश २ मा लागूऔषधसम्बन्धी ५ सय २६ वटा मुद्दा दर्ता भएको छ ।

जसमा सिरहामा सबैभन्दा बढी १ सय १३ र दोस्रो बढी पर्सामा १ सय १ वटा मुद्दा दर्ता भएको छ । आठ महिनामा लागूऔषधसम्बन्धी मुद्दामा प्रदेश २ मा ७ सय ४० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सिरहामै सबैभन्दा बढी १ सय ५५ र दोस्रो बढी १ सय ३५ जना पर्साबाट छन् । १ हजार ९ सय ९१ किलो गाँजा, ६ सय ५७ ग्राम ब्राउन सुगर, १ सय ४४ किलो चरेस, २२ ग्राम हिरोइन र १६ किलो अफिम प्रहरीले बरामद गरेको छ । लागूऔषधका रूपमा प्रयोग हुने ट्याब्लेट र कोरेक्स ठूलो परिमाणमा बरामद भएको छ ।

त्यस्तै, सुदूरपश्चिमका सीमावर्ती सहरहरूमा पनि दुर्व्यसनीको बिगबिगी छ । कञ्चनपुरको भीमदत्त–११ गड्डाचौकी क्षेत्रबाट शनिबार साँझ प्रहरीले ३ किशोरलाई नियन्त्रणमा लियो । उनीहरू लागूऔषध प्रयोगकर्ता भएको खुल्यो । उनीहरूलाई सम्झाएर सुधारगृहमा पठाइएको छ । यसअघि चैत २६ मा जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजार क्षेत्रबाटै २८ वर्षीय एक युवकलाई साढे ७ ग्राम खैरो हेरोइनसहित पक्राउ गर्‍यो । वेदकोट–९ का उनी लागूऔषध प्रयोगकर्तासंॅगै बिक्री गर्ने पनि रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा चरेस, खैरो हेरोइन र विभिन्न किसिमका

ट्याब्लेटहरूसहित दिनहुँजसो एक/दुई जना पक्राउ परेका घटना सामान्यजस्तै लाग्न थालेका छन् । तर यसले युवाहरूलाई उम्किनै नसकिने दलदलमा फसाउन लागेको छ । ‘लागूऔषधका प्रयोगकर्ता अधिकांश किशोर र युवाहरू छन्,’ कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘स्कुले उमेरका किशोरहरू यो कुलतमा फसेका छन् ।’ उनका अनुसार कोरोना संक्रमणका कारण लामो समयसम्म भएको लकडाउनको अवधिमा समेत धेरैले लागूऔषधको प्रयोग गर्न सिकेको पाइएको छ ।

आठ महिनामा कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ४ सय १४ ग्राम खैरो हेरोइन, डेढ किलोग्रामभन्दा बढी चरेस र १३ सय ५२ विभिन्न किसिमका ट्याब्लेट बरामद गरेको छ । प्रयोगकर्ता र विक्रेता गरी १ सय २२ जनालाई पक्राउ गरेको छ । ‘ओसारपसारमा भारतीय पनि सक्रिय देखिन्छन,’ डीएसपी थापाले भने, ‘हामीले नियन्त्रणमा लिएकामध्ये ८ जना भारतीय छन् ।’ तीन साताअघि बेलौरी–४ को सीमा क्षेत्रमा प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिकबाट समेत लागूपदार्थ खैरो हेरोइन बरामद भएको थियो । कैलालीमा पनि खुला सीमा भएका कारण भारतबाट लागुऔषध भित्रिने गरेको पाइएका छन् । जिल्लामा मुख्य बजारहरू टीकापुर, लम्की, सुख्खड, अत्तरिया र धनगढीमा लागूऔषधका प्रयोगकर्ता निकै बढिरहेका छन् ।

‘१८ देखि ३५ वर्षसम्मका युवाहरू यो कुलतमा फसेका छन्,’ कैलालीका डीएसपी प्रतीक विष्टले भने, ‘जिल्लाका सबै बजारमा यसको जालो फैलिएको छ ।’ उनका अनुसार भारतीयहरूबाटै लागूऔषधको ओसारपसार हुने गरेको छ । कैलालीमा चालु वर्ष लागूऔषधका ६४ मुद्दा दर्त्ता भएका छन् । हालसम्म एक सय जनालाई पक्राउ परेका छन् ।

लागूऔषध सेवनकर्ता र ओसारपसारको मामिलामा लुम्बिनी प्रदेशको अवस्था पनि फरक छैन । रूपन्देहीको बेलहिया नाकाबाट प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेलाई पक्राउ गरिरहेको हुन्छ । कोरोना भाइरसको सन्त्राससँगै भारत जान रोक लाग्नु र उतादेखि नेपाल आउन नपाएपछि लागूऔषधसम्बन्धी घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार २०७५/७६ मा जिल्लामा ३ सय ७१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । उक्त वर्ष ४ सय ८९ पुरुष र ३२ महिलालाई पक्राउ गरिएको रूपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार ०७६/७७ मा यस्ता मुद्दा १ सय ४८ वटा छन् । जसमा २ सय २० पुरुष र १२ महिला पक्राउ परे भने ३ जना अझै फरार छन् । ०७७/७८ मा भने त्यो संख्या ज्यादै न्यून हुँदै ४८ वटामा झरेको छ । ‘कोभिड–१९ का कारण यस्ता मुद्दामा कमी आएको हो,’ उनले भने, ‘यस वर्ष ७३ पुरुष र २ महिला मात्रै लागूऔषध ओसारपसारमा पक्राउ परेका छन् ।’

बेलहिया नाकाबाट रूपन्देहीका विभिन्न स्थानका साथै पोखरा, काठमाडौं, चितवनसम्मका मानिस आई लागूऔषध ओसारपसार गर्ने गरेको अनुसन्धानबाट देखिने गरेको थापाले बताए । उनका अनुसार लुम्बिनीमा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्नहरू सिद्धार्थनगर, बुटवल, रोहिणी गाउँपालिका र देवदहबाट धेरै पक्राउ पर्ने गरेका छन् ।

लागूऔषध प्रयोगकर्ता १४ देखि २२ वर्ष उमेर समूह र २५ देखि ४५ वर्ष उमेर समूहका धेरै देखिने गरेको लुम्बिनी ड्रग ट्रिटमेन्ट एन्ड रिहेबिलिटेसन सेन्टरका कार्यक्रम संयोजक दिलमान थापाले बताए । ‘ओसारपसार मात्रै गर्नेभन्दा प्रयोग गर्नेले नै बोकेर ल्याउने गरेको धेरै भेटिन्छ,’ उनले भने, ‘कतिपय मुद्दामा प्रहरी चनाखो हुन्छ भने केहीमा थाहा पाएर पनि बेवास्ता गर्छ ।’ लागूऔषधका मुद्दामा प्रहरीकै सक्रियता धेरै रहनुपर्ने र कानुनी प्रावधान कडाइका साथ लागू गर्नुपर्ने उनले सुझाए ।

उता पूर्वी नेपालका सहरहरूमा पनि अवस्था फरक छैन । दुर्व्यसनी र कारोबारीको संख्या निकै बढेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार लागूऔषध मामिलामा सरदर दिनको कम्तीमा तीन जना पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी सुनसरी त्यसपछि मोरङ, झापा र उदयपुरका छन् । धरान र विराटनगरका विभिन्न स्थानबाट ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा एकैपटक ८ जनासम्म पनि पक्राउ परेका छन् । गत साता धरानका चार जना युवा ब्राउनसुगरलगायत लागूपदार्थ कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परे । उनीहरू प्रयोगकर्तासँगै बेचबिखनमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीलाई झुक्याउन अनेक उपाय लगाए पनि लागूपदार्थ ओसारपसारमा संलग्नहरू लगातार पक्राउ परिरहेको बताउँछन् । पूर्वमा पाँच वर्षयता लागूपदार्थ प्रयोगकर्ताहरूले ब्राउन सुगर बढी प्रयोग गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार चार महिनाको अवधिमा ब्राउन सुगर कारोबारसम्बन्धी ५० मुद्दा दर्ता भएका छन् । यसमा प्रहरीले १ सय ६९ जनालाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले ब्राउन सुगरसहित चरेस, स्म्याक्स, विभिन्न लागूऔषध, गाँजा कारोबार गर्नेमध्ये २९ महिलासहित ७ सय ३८ जनालाई पक्राउ गरी कारबाही गरेको थियो ।

प्रदेश १ मा हुने अपराधमध्ये आत्महत्यापछि लागूऔषधको मुद्दा सर्वाधिक दर्ता भएका छन् । प्रहरीका अनुसार चालु वर्षको आठ महिनामा ५ सय २० वटा मुद्दा लागूऔषधसँग सम्बन्धित छन् । साउनयता ब्राउनसुगर १ किलो ६ सय ५१ ग्राम ६ सय ८१ मिलिग्राम बरामद भएको छ । २०७६/७७ मा १ किलो ६ सय ६० ग्राम ८ सय ३७ मिलिग्राम र यसअघि २०७५/७६ मा २ किलो ६ सय २१ ग्राम ९१७ मिलिग्राम बरामद भएको थियो ।

यसैगरी सीमापारि भारतीय बजारबाट लागूऔषध भित्र्याउने समूहहरूको सक्रियता पनि नाका आसपासदेखि पहाडी जिल्लासम्मै रहेको एक प्रहरी अधिकृतले बताए । प्रहरीले दैनिक पक्राउ र कारबाही गरे पनि कारोबारीहरूको संख्या नघट्नु र प्रयोगकर्ता बढ्नुलाई नेपाल–भारतबीच खुला सिमाना हुनु मुख्य कारण मानिन्छ । मानवशास्त्री सुरेश ढकाल खुला सीमालाई मात्रै प्रमुख कारण मान्न नसकिने तर्क गर्छन् । अभिभावकको प्रत्यक्ष निगरानीमा छोराछोरी रहँदैनन् भने यस्ता कुलतमा फस्ने सम्भावना बढेर जाने उनको भनाइ छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका सह–प्राध्यापक डा. सञ्जीव मिश्र भन्छन्, ‘मानसिक रोग भएकाले पनि लागूपदार्थ प्रयोग गर्न सक्छन् र लागूपदार्थ प्रयोग गरेकै कारणले पनि मानसिक रोग उत्पन्न गराउन सक्छ ।’

तस्करीमा महिला भरिया

प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परे । पक्राउ परेकाहरू थिए भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना मैनागुरी गाउँकी २७ वर्षीया सुनिता हेमरम र ३२ वर्षीया अनिता हेमरम । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीबाट पक्राउ परेका उनीहरूका साथबाट करिब ८ लाख मूल्यको डेढ सय ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले बताए ।

लागूपदार्थलाई उनीहरूले संवेदनशील अंगभित्र लुकाएर नेपाल भित्र्याएका थिए । यसको केहीअघि लागूऔषध नियन्त्रण ब्युरोको केन्द्रीय प्रहरी टोलीले करिब २ किलो अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको थियो । मेचीनगर–६ को एउटा होटलको कोठा नम्बर १०५ मा बसेका मणिपुर कांगलातुम्बीकी ३० वर्षीया लक्ष्मी क्षत्री र पश्चिम बंगाल पञ्चखेलगुडीकी ३८ की गायत्रीदेवी क्षत्रीलाई प्रहरीले अफिमसहित पक्राउ गरेको थियो ।

यी दुई घटनापछि लागूपदार्थ कारोबारी गिरोहले महिलालाई भरिया बनाएर पूर्वी नाकाबाट लागूपदार्थ ओसारपसार गर्ने गरेको खुलेको हो । लागूपदार्थर् नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय ओसारपसार र बिक्री वितरणमा महिलालाई प्रयोग गर्ने क्रम बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत मंसिर ७ मा २८ ग्राम ब्राउन सुगरसहित एक महिला कारोबारी मेचीनगर–७ बाट पक्राउ परेकी थिइन् । २२ वर्षीया मनीषा मगर मेचीनगर–७ सिद्धार्थ टोलका राजन राजवंशीको घर डेरामा बसेर लागूपदार्थको कारोबार गर्दै गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै मेचीनगर–७ का २९ वर्षीय सीताराम आङ्देम्बे पनि प्रहरीको फन्दामा परेका थिए । उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर र केही नगद बरामद गरिएको थियो ।

त्यसअघि साउन १० मा मेचीनगर–६ की ३५ वर्षीया रमिता चौधरी ३० ग्राम लागूपदार्थसहित पक्राउ परिन् । प्रहरीले उनी लागूपदार्थ ओसारपसारसँगै बिक्री वितरणमा समेत संलग्न रहेको दाबी गरेको छ । तर, आफन्तहरूका अनुसार उनी भरिया मात्रै हुन् । ‘पेट पाल्ने बाध्यताले गलत काम गर्नुपर्‍यो,’ उनका एक आफन्तले भने । हाल उनी झापा कारागारमा छिन् ।

मेचीनगर–७ बस्ने ३१ वर्षीया हेमा गणेशलाई गत पुस १० मा प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित पक्राउ गर्‍यो । मेची पुलनजिकै पसल सञ्चालन गरेर बस्ने ती महिला लागूपदार्थ कारोबारमा संलग्न पाइएको लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले जनाएको छ ।

ब्युरोको टोलीले गत बुधबार मात्रै झापाको चारआलीबाट एक दम्पतीलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । झापा बाहुनडाँगीका सुजल राजपुत र पूजा राजपुतलाई पक्राउ गरेको हो । अघिल्लो वर्ष माघ ७ को एउटा घटना हेर्ने हो भने लागूपदार्थ बिक्री वितरणमा महिलाको प्रयोग कसरी भइरहेको छ भन्ने प्रस्ट हुन्छ । बिर्तामोडको एक होटलमा डेरा जमाएरै लागूपदार्थको बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका तीनमध्ये एक मेचीनगर–१३ चारआलीकी २१ वर्षीया रोशनी लामा थिइन् । उनीसँगै मेचीनगर–१० का २३ वर्षीय विवेक सुब्बा र सिन्धुपाल्चोकका २७ वर्षीय राजेन्द्र शिवाकोटी थिए । उनीहरूलाई १६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

लागूपदार्थ नियन्त्रण ब्युरो काँकडभिट्टाका अनुसार महिलाहरूले जीउमा लागूपदार्थ लुकाएर ल्याउने गरेको पाइएको छ । ब्युरोका सइ किशोर श्रेष्ठ भन्छन्, ‘खानतलासी गर्नै नमिल्ने गोप्य अंगमा लुकाएर लागूपदार्थ ओसारपसार गरेको पाइएको छ ।’ प्रहरीमा महिला जनशक्ति ड्युटीमा नभए पुरुषले नाका वारपार गर्ने महिलाको जाँच गर्न मिल्दैन । लागूपदार्थ ओसारपसार गर्नेले यसैको फाइदा उठाएर महिलालाई भरिया बनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले जिल्लाका विभिन्न नाकाबाट यो वर्ष १५ महिलासहित करिब ३ सय जनाविरुद्ध लागूपदार्थसम्बन्धी मुद्दा दर्ता भएको छ ।

सन्जु पौडेल (लुम्बिनी), प्रदीप मेन्याङबो (सुनसरी),पर्वत पोर्तेल (काँकडभिट्टा), भवानी भट्ट (कञ्चनपुर),अजित तिवारी र सन्तोष सिंह (जनकपुर)

प्रकाशित : चैत्र ३१, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?