कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

खनाल–नेपाल समूहको नजरमा यी हुन् एमाले संकटका तीन मुख्य कारण

बबिता शर्मा

काठमाडौँ — झन्डै विभाजनको तहमा पुगेको सत्तारुढ दल एमालेमा अहिलेको परिस्थिति उत्पन्न हुनुका पछाडि झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तीन कारण देखाएको छ । राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित र त्यसपछि आएका सुझावसमेतलाई समेटेर तयार पारिएको खनाल–नेपाल समूहको राजनीतिक प्रतिवेदनमा एमालेभित्र संकट आउनुका कारण औंल्याइएको छ ।

खनाल–नेपाल समूहको नजरमा यी हुन् एमाले संकटका तीन मुख्य कारण

फागुन २८ मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फीरुपमा केन्द्रीय कमिटीको बैठक बोलाएर महत्वपूर्ण निर्णय गरेसँगै सुरु भएको एमाले विवाद यतिबेला समान्तर संगठन, कार्यक्रम र राजनीतिक एजेन्डा लिएर संगठन निर्माण र कमिटीहरुको पुनगर्ठनको तहमा पुगेको छ । खनाल–नेपाल समूहले दुई महिनाका लागि घोषणा गरेको ‘पार्टी वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियान’ सहित तल्ला कमिटीमा पठाएको राजनीतिक प्रस्तावमा एमाले विवादको कारण र आगामी कार्यभारको उल्लेख छ ।

राजनीतिक प्रस्तावमा ओली चरम व्यक्तिवादी ढंगले चलेको र आफ्नो महत्वाकांक्षाकै लागि पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढिरहेको ठहर छ । फागुन २८ पछि ओलीले चालेका कदम र लिएका निर्णय यसैको शिलशिला भएकोसमेत खनाल–नेपाल समूहको दस्तावेजमा छ । १८ पुष्ठ लामो राजनीतिक प्रस्तावमा ‘पार्टीमा अहिले देखिएका समस्या’ उपशीर्षकमा ‘नीति र नेतृत्वको विरोधाभाष’, ‘व्यक्तिवादी अवसरवाद’ र ‘दक्षिणपन्थी विसर्जनवाद’ का कारण एमालेमा अहिले संकट उत्पन्न भएको उल्लेख छ ।

पहिलो कारण–नीति र नेतृत्वको विरोधाभाष

एमालेमा अहिले देखा परेको तनावको पहिलो कारण ‘नीति र नेतृत्वको विरोधाभाष’ लाई मानेको छ । एमाले लोकतान्त्रिक अभ्यासद्वारा विकसित र समृद्ध हुँदै आएको पार्टी भए पनि अध्यक्ष ओलीले त्यसलाई आत्मसाथ नगर्दा समस्या आएको खनाल–नेपाल समूहको ठहर छ । प्रस्तावमा नवौं महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको भए पनि ती सैद्धान्तिक र कार्यक्रमिक तथा सांगठनिक प्रस्तावको विपक्षमा रहेका ओली अध्यक्षमा निर्वाचित हुनु गम्भीर विरोधाभाष पक्ष रहेको खनाल–नेपाल समूहको बुझाइ छ ।

अध्यक्षमा विजयी भएपछि ओलीले महाधिवेशन लगत्तै त्यसले पारित गरेका वैचारिक तथा सैद्धान्तिक प्रस्तावहरूका बारेमा आम पार्टी सदस्यलाई जानकारी गराउने र तिनका आधारमा पार्टीलाई पुन:अभिमुखीकरण नगरेको खनाल–नेपाल समूहको प्रस्तावमा छ । नवौं महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्धरूपले अगाडि बढेको खनाल–नेपाल समूहको आरोप छ । ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा देशव्यापीरूपमा पार्टीकै समानान्तर हुने गरी गुटबन्दी विस्तार गर्द समस्या आएको खनाल–नेपाल समूहको दाबी छ ।

‘अध्यक्ष ओली स्वयं पार्टीलाई वैचारिक तथा सैद्धान्तिकरूपले खोक्रो र कमजोर पार्ने र गुटलाई बलियो बनाउने काममा लाग्नुभयो । लाखौं सदस्य भएको र देशभर विस्तार भएको यस पार्टीलाई उहाँले गन्तव्यहीन बनाउनुभयो । पार्टीमा विभिन्न समस्या छँदै थिए तर अध्यक्ष स्वयं नै समस्याग्रस्त भएपछि विचारहीनता, गुटबन्दी, अवसरवाद, व्यक्तिवाद, विधि–पद्धतिको उल्लंघनजस्ता विकृतिहरू झांगिदै जाने वातावरण बन्यो । यसरी पार्टी पङ्क्ति आफ्नै महाधिवेशनका निर्णयबाट, विचार र सिद्धान्तबाट विमुख हुन गयो’ खनाल–नेपाल समूहको प्रस्तावमा छ ।

दोस्रो कारण–व्यक्तिवादी अवसरवाद

खनाल–नेपाल समूहले एमालेमा अहिले देखिएको संकटको दोस्रो कारण ओलीमा रहेको ‘व्यक्तिवादी अवसरवाद’ लाई मानेको छ । प्रस्तावमा लामो समयदेखि ओलीको मुख्य राजनीतिक सामर्थ्य गुटबन्दी रहेको र त्यस गुटबन्दीको कुनै वैचारिक तथा राजनीतिक प्रस्ताव वा आधार नभई, केवल पद र शक्तिको लालसा मात्रै रहेको आरोप छ । ओलीले पदमा पुग्नका लागि जस्तोसुकै अवसरवादी उपाय पनि अवलम्बन गर्न तयार भएको र उनमा आफ्नो प्रस्ताव स्वीकार नगर्दासम्म बैठक लम्ब्याइरहने, असहमति सुन्नै नसक्ने, आफूले अनावश्यक र लामालामा भाषण गर्ने तर अरुलाई बोल्नैनदिने, रिसाउने र आफैं झगडामा उत्रिनेजस्ता व्यवहार सामान्यजस्तै बनेको खनाल–नेपाल समूहको ठहर छ । ओलीमा आत्मकेन्द्रित व्यक्तिवादी व्यवहार बढ्दै गएपछि पार्टीको आन्तरिक जीवन बिग्रिँदै जान थालेको निश्कर्ष यो समूहको छ ।

स्थानीय तह, प्रदेश र संघीय चुनावमा टिकट वितरणदेखि माओवादी केन्द्रसँगको गठबन्धन निर्माणमासमेत ओलीले व्यक्तिवादी चरित्र देखाएको खनाल–नेपाल समूहको प्रस्तावमा छ । नाकाबन्दीकै बीच चीनसँग भएको व्यापार तथा पारवाहन सम्झौतालाई ओलीले आफ्नो निजी पौरख र प्रतिष्ठको रुपमा लिँदै त्यसलाई शक्ति सञ्चयको माध्यमका रूपमा प्रयोग गरेको खनाल–नेपालसमूहको आरोप छ । ओलीले आत्मकेन्द्रित व्यक्तिवादी जिद्दी गरेकै कारण स्थानीय तहमा माओवादी केन्द्रसँग तालमेल नभएको खनाल–नेपालसमूहको राजनीतिक प्रस्तावमा छ ।

प्रधानमन्त्री बन्नकै लागि ओलीले वाम गठबन्धन बनाएकोसमेत प्रस्तावमा छ । ‘उहाँले नेकपा (माओवादी केन्द्र) सँग एउटा प्रस्तावमा गोप्य सम्झौता गर्नुभयो र अचानक स्थायी कमिटीमा पेश गर्नु भयो । नेकपा (माओवादी केन्द्र) सँग सहकार्य नहुँदा आफू प्रधानमन्त्री बन्न नसक्ने भएको हुँदा उहाँले त्यो सम्झौता गर्नु भएको थियो भन्ने कुरा स्पष्ट थियो’, खनाल–नेपाल समूहको प्रस्तावमा छ, ‘पार्टी स्थायी कमिटीको बहुमत पहिलेदेखि नै वामपन्थी सहकार्यको पक्षमा रहेको हुँदा उहाँको अवसरवादी उद्देश्य जान्दाजान्दै पनि पार्टीले त्यस प्रस्तावलाई पारित गर्‍यो ।’

अध्यक्ष ओलीले अन्योलका बीच माओवादी केन्द्रसँग पार्टीको सिद्धान्त, नाम, संगठनात्मक व्यवस्थालगायत कैयन् विषयमा भित्रभित्रै सम्झौता गरेको खनाल–नेपाल समूहको आरोप छ । ‘जेष्ठ ३ गते पार्टी एकताको घोषणा गर्ने निर्णय एक दिन पहिले जेष्ठ २ गते मात्रै पार्टी स्थायी कमिटीमा जानकारी गराउनु भयो । प्रधानमन्त्री आधा आधा कार्यकाल आलोपालो बाँड्ने गरी नेकपाका दुईजना अध्यक्ष कमरेड ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच ‘गोप्य’ सम्झौता समेत भएको रहेछ । स्थायी कमिटीले त्यो सम्झौताको औपचारिक जानकारी कहिल्यै पाएन’, राजनीतिक प्रस्तावमा छ, ‘यसरी बाह्यरूपमा हेर्दा कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उपलब्धीहरू प्राप्त गर्ने सम्भावनाका ढोकाहरू खुल्दै गएका थिए भने आन्तरिकरूपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित अवसरवादी र चरम गुटबन्दीपूर्ण कार्यशैलीले पार्टीलाई क्रमश: समस्याग्रस्त बनाउँदै थिए ।’

तेस्रो कारण–दक्षिणपन्थी विसर्जनवाद

खनाल–नेपाल समूहले एमालेमा देखिएको संकटको तेस्रो कारणकारुपमा ओलीमा देखा परेको ‘दक्षिणपन्थी विसर्जनवाद’ लाई मानेको छ । एमाले र माओवादी केन्द्रबीच भएको एकता मुलुकलाई समृद्धि र समाजवादतर्फ अगाडि बढाउनका लागि ऐतिहासिक आधार भए पनि ओलीले त्यसका विपरीत केवल आफ्नो नेतृत्व र व्यक्तिगत पकड कसिलो बनाउने उपायकारुपमा उपभोग गरेको खनाल–नेपाल समूहको प्रस्तावमा छ ।

‘उहाँका क्रियाकलाप आफू नै सरकार र आफू नै पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहे । मन्त्रीहरू तथा संवैधानिक र राजनीतिक नियुक्तिहरू गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीको हुन्छ भन्ने ढिपी गर्न थाल्नुभयो र ती स्थानमा दक्षिणपन्थी, भ्रष्ट र कम्युनिष्ट विरोधीहरूलाई समेत ल्याइयो । पार्टी र सरकार मात्रै होईन संवैधानिक निकायहरूलाई पनि आफ्नो गुटको नियन्त्रणमा राख्ने उद्देश्यले नियुक्तिहरू भए’, खनाल–नेपाल समूहको प्रस्तावमा छ ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा लिएका निर्णयहरू पार्टीको नीति, सिद्धान्त, कार्यदिशा विपरित दक्षिणपन्थी दिशामा अगाडि बढाएको, सरकारका विधेयकहरूबारे पार्टीलाई कुनै जानकारी नदिएको र जनसाधारणबाट विरोध भएपछि मात्रै पार्टीले थाहा पाउने अवस्था आएको आरोप छ । ओलीले आफूलाई ‘जनताले चुनेको प्रधानमन्त्री’ भएको हुँदा पार्टीप्रति कुनै जवाफदेही नभएको भाषण गरेको आरोप यो समूहको छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूलाई संरक्षण गरेर ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ जस्ता नारा लगाउनु हास्यास्पद भएको पनि खनाल–नेपाल समूहको प्रस्तावमा छ ।

‘सुशासनको पक्षमा उठेका आवाजलाई उहाँले आफूलाई असफल पार्न गरिएको षडयन्त्र देख्नुभयो । दलाल पुँजीपतिहरूसँग साँठगाँठ बढ्यो । उनीहरूलाई विभिन्न जिम्मेवारीमा खटाउन थालियो । राज्यको साधन–स्रोतको मनमानीपूर्ण ढंगले दुरूपयोग गरियो । हुँदाहुँदा पार्टी स्थायी कमिटीको बैठकमा आफैंले फिर्ता गर्छु भनेको अध्यादेशकै आधारमा आफ्नो गुटका विश्वास पात्रहरू र पार्टी बाहिर उहाँले गर्नु भएका साँठगाँठलाई बलियो बनाउने गरी विवादित व्यक्तिहरूलाई विभिन्न संवैधानिक निकायहरूमा भर्ती गरियो’, राजनीतिक प्रस्तावमा भनिएको छ, ‘यसरी पार्टी, सरकार र अन्य संवैधानिक निकायलाई आफ्नो नियन्त्रणमा लिने ध्याउन्नमा प्रधानमन्त्री ओली लाग्नुभयो । उहाँले आफ्ना स्वार्थका लागि राष्ट्रपति कार्यालयलाई समेत दुरूपयोग गरिरहनुभयो ।’

आलोचनाप्रति अत्यन्तै असहिष्णु बन्ने र त्यसको बदला लिने ओलीको बानीमा सुधार नआएको यो समूहको निष्कर्ष छ । त्यही कारणले उनी पार्टीका सबै कमिटीमा र संसदीय दलमा समेत अल्पमतमा पर्दै गएको पनि खनाल–नेपाल समूहको दाबी छ । सबैतिर असफल हुँदै गएपछि आफ्ना असफलता ढाक्न ओलीले संविधान विपरित प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेको र यो संविधान, लोकतान्त्रिक स्थिरता र कम्युनिष्ट पार्टी एवं र आन्दोलनकै विरुद्धको आक्रमण भएको खनाल–नेपाल समूहको निश्कर्ष छ । ‘त्यो उहाँमा रहेको दक्षिणपन्थी विसर्जनवादमा विकसित हुँदै गएको व्यवहारिक प्रकटीकरण थियो’, प्रस्तावमा छ ।

राजनीतिक प्रस्तावमा थप भनिएको छ, ‘पार्टी अध्यक्ष भएपछि उहाँको व्यक्तिवादी तथा अवसरवादी चरित्र अझै बलियो भयो । गत निर्वाचनपछि उहाँ प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष भएपछि त्यो व्यक्तिवादी तथा अवसरवादी चरित्रले मूलत: दक्षिणपन्थी बाटो लियो र अन्त्यत: पार्टी र आन्दोलनलाई विसर्जन गर्ने दिशामा अगाडि बढ्यो ।’

राजनीतिक प्रस्तावमा ओली पार्टी विभाजनतर्फ उन्मुख भएको आरोपसहित लेखिएको छ, ‘पुष्पलालको ‘कम्युनिष्ट पार्टी नेता प्रधान होइन नीति प्रधान हुन्छ’ भन्ने उक्ति विपरित ओली चरम व्यक्तिबादी ढङ्गले चल्नु भएको छ । ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ । ती महत्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढ्दो छ ।’

प्रकाशित : चैत्र ३०, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?