कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाबाट संक्रमण फैलिने जोखिम

अतुल मिश्र

काठमाडौँ — ठूला सहरका शैक्षिक संस्था कोरोना संक्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । बेलायतमा देखिएको कोभिड–१९ को नयाँ भेरिएन्ट (प्रजाति) भित्रिइसकेको र बालबालिकासमेत प्रभावित भएको उनीहरूको भनाइ छ ।

बालबालिकाबाट संक्रमण फैलिने जोखिम

‘शैक्षिक संस्था कोभिडको जोखिम स्थलका रूपमा देखिएका छन्,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामीले गरेको निगरानीमा धेरैजसो स्कुले बालबालिका संक्रमणको लक्षणरहित अवस्थामा देखिएका छन् ।’

तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ । गत वर्षको लहर बच्चाहरूका लागि कम घातक देखिए पनि यसपालि कडा लक्षण देखिने विज्ञको भनाइ छ । कोभिडको डबल म्युटेन्ट वयस्कसँगै बच्चाहरूका बढी घातक छ । अमेरिकामा गरिएको एक अध्ययनलाई औंल्याउँदै डा. पौडेलले भने, ‘संक्रमणले गर्दार् सघन उपचार चाहिने वयस्कभन्दा बामे सर्ने बालबालिकाको शरीरमा यो भाइरसको मात्रा (भाइरल लोड) बढी पाइएको छ ।’

बच्चाहरू संक्रमणको लुकेको स्रोतका रूपमा देखिनुका साथै समुदायमा संक्रमण वाहकका रूपमा रहेको चिनियाँ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले औंल्याएका छन् । हङकङमा भएको एउटा अध्ययनलाई उल्लेख गर्दै डा. पौडेलले भने, ‘बच्चाहरू कोरोना भाइरसको बढी संक्रामक मौन वाहक हुन सक्छन् । हङकङमा ३ वर्ष वा योभन्दा कम उमेरका ४० प्रतिशत बालबालिकामा लक्षणविहीन कोभिड देखिएको स्थानीय अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए ।’

हाल देशभरिबाट संकलित नमुनामा बेलायती भेरिएन्टको कोभिड बढी मात्रामा देखिएको छ भने यस्ता नमुनाहरूमा संक्रमित देखिएका स्कुले बालबालिकाको संख्या पनि उल्लेख्य छ । सरकारी तथ्यांकअनुसार मन्टेसरीमा पढ्ने ३ वर्षे शिशुदेखि १३ वर्षसम्म उमेर समूहमा बेलायती भेरिएन्टको संक्रमण देखिएको छ । हालसम्म देशभर २१ हजार १ सय ९९ जना बालबालिका संक्रमित भएका छन् । ‘हाल दैनिक देखिएको कुल संक्रमणमध्ये १० देखि १७ प्रतिशतसम्म बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘गत वर्ष यो दर करिब ५ देखि ६ प्रतिशत थियो ।’ यस पटक बालबालिका बढी संक्रमित हुनुको मुख्य कारण स्कुल सञ्चालन हुनुका साथै कोभिडको नयाँ भेरिएन्टले बच्चाहरूलाई तीव्र गतिले संक्रमित गर्नु पनि रहेको उनले बताए । ‘संक्रमण जोखिम भएको ठाउँका स्कुललाई परीक्षणका रूपमा २–३ साता बन्द गरेर अनलाइन शिक्षा दिने समय आएको छ,’ उनले भने, ‘मोडर्ना खोपले बच्चामा ट्रायल गरिरहे पनि हालसम्म १८ वर्ष मुनिकालाई कोभिडको खोप लगाउने अनुमति दिइएको छैन ।’

यसैबीच, शनिबार कोभिडको संक्रमण दर ९.५४ प्रतिशत पुगेको छ । एक सातायता दैनिक रूपमा संक्रमणको दर उकालो लाग्दै गएको छ । शनिबार संकलित ३ हजार ५ सय ३२ नमुनाको परीक्षण गर्दा ३ सय ३७ नमुनामा कोभिड संक्रमण देखिएको छ ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?