२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३०

नेपालमा गैंडा संख्या बढ्यो, ७ सय ५२ पुग्यो 

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

नेपालमा गैंडा संख्या बढ्यो, ७ सय ५२ पुग्यो 

सन् २०१५को तुलनामा १ सय ७ वटा गैंडा नेपालमा बढेको प्रकृति संरक्षण कोषका प्रवक्ता एवं गैंडा विज्ञ नरेश सुवेदीले इकान्तिपुरलाई बताए ।

गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेको सुवेदीले जानकारी दिए ।

गत चैत ९ गते वनमन्त्री प्रेमबहादुर आलेले सिटी फुकेर राष्ट्रिय गैंडा गणना २०७७ को उद्घाटन गरेका थिए । बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु भएको थियो ।

गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुटेका थिए । गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् । चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको थियो ।

यस वर्ष गैंडा गणनाका क्रममा एक जना गणकको बाघको आक्रमणबाट मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।

चैत २० गेत गैंडा गणनामा परिचालन गरिएका हात्तीहरुलाई जंगली हात्तीले लखेट्दा भएको भागदौडमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत संरक्षण अधिकृत विनोद श्रेष्ठ घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पश्‍चिम क्षेत्रको गैंडा खासा इलाकामा गणना भइरहँदा जंगली हात्ती ध्रुबेले गणनामा परिचालन भएका हात्तीलाई लखेट्दा उक्त दुर्घटना भएको थियो । चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको थियो । थारुको बाघले आक्रमण गरेपछि मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र २८, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?