कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० मिटरमै बाघ [रिपोर्टरको डायरी]

हतार–हतार मचानमाथि उक्लियौं । माथि पुगेर तल हेर्दा पो जीउ सिरिंग भयो । लाग्यो– धन्न बाँचिएछ । चन्दले हामीलाई देखाए– तल हामी हिँडेको बाटोबाट करिब १० मिटर दूरीमै बाघ थियो ।
कमल पन्थी

बर्दिया — म बर्दियामा छु, निकुञ्जका गतिविधि बराबर रिपोर्टिङ गरिरहेको छु । काठमाडौंबाट सहकर्मी फोटो पत्रकार हेमन्त श्रेष्ठ आए । शुक्रबार बिहान ११ बजे हामी बाघ हेर्ने र आतंक मच्चाएको क्षेत्रको अवस्था रिपोर्टिङ गर्ने सुर कसेर निस्कियौं । हिँडेर घुम्न निषेध छ नै, निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषबाहेक अन्य निजी सफारी जिपमा तीनकुने, किङफिसरलगायत ठाउँमा आउजाउमा रोक छ ।

१० मिटरमै बाघ [रिपोर्टरको डायरी]

यसै कारण पनि हामीले घुम्ने मौका पाउन सजिलो थिएन । निकुञ्ज प्रशासनसँग अनुमति माग्यौं । निकुञ्जले आफ्नै कर्मचारीका साथ जानुपर्ने सर्त राख्यो । हामीलाई बाटो देखाउने भए राष्ट्रिय प्रकृति संरक्षण कोषका चालक कृष्णकुमार चन्दले ।

बर्दियामा दुई दशक काम गरिसकेका अनुभवीको साथ पाएपछि बाघ देख्न पाउने आस बढ्यो । हामी उनको गाडीमा बाघको बासस्थानमध्येको गेरुवा तटीय क्षेत्रमा पुग्यौं । त्यहाँ बाटोमा बाघका ताजा पाइला देखिए । घना झाडीमा चराचुरुंगी र वन्यजन्तुका आवाज सुनियो । गेरुवा नदीको किङफिसर स्पट जाने र मौका मिले त्यही बाघको फोटो खिच्ने योजना बुन्दै जिपबाट हामी करिब ५ सय मिटर दूरी घना जंगल र झाडी पार गर्दै अघि लाग्यौं ।

चन्दले यो क्षेत्रमा बाघ पानी पिउन आउन सक्ने भन्दै सतर्क गराए । हामी गेरुवा नदीको छेउमा पुग्यौं । बाटोभरि बाघका थुप्रै पाइला देखिए । धेरै वटा पाइला देखिनुले बाघ यतैकतै हुन सक्ने संकेत गरेको थियो । नदीको पानीमा अचानक छाल जस्तो आवाज आयो । वरिपरि अग्ला झाडी छन् । ‘कतै बाघ त नुहाउन लागेको छैन !’ भनेर चन्द रूखमाथि चढेर वरिपरि हेर्न थाले । तर त्यहाँ बाघ देखिएन । निकुञ्ज सुनसान थियो । हामी जिप छाडेर थोरै हिँड्यौं ।

करिब तीन साता अघिसम्म यो रुटमा पर्यटक भेटिन्थे । निउरो टिप्न गएकी डल्ली राउतलाई चैत ३ मा बाघले मारेपछि निकुञ्जभित्र पैदल आउजाउमा निकुञ्ज प्रशासनले रोक लगाएको थियो । गत आइतबार फेरि घटना भयो । गैंडा गणनामा खटिएका कर्मचारी पुलिसराम थारूलाई बाघले मार्‍यो । त्यसयता निकुञ्ज प्रशासन अघिपछिभन्दा बढी सतर्क छ । निकुञ्ज क्षेत्रमा एक्लैदोक्लै हिँडडुल गर्न पाइँदैन । हिँडेर घुम्न निषेध छ । बाघको मान्छेमाथि आक्रमणका लगातारका घटनाले पर्यटक घुम्न आउने क्रम रोकिएको छ । ठाउँ–ठाउँमा सीसीटीभी र ट्र्यापिङ क्यामरा राखिएका छन् । पाहुना टोलीलाई सुरक्षामा आश्वस्त भए मात्र सीमित क्षेत्र घुम्न दिइन्छ, त्यो पनि पैदल होइन, गाडी वा हात्तीमा मात्र ।

गणक थारुलाई बाघले बासस्थानमध्येकै तीनकुने क्षेत्रमा मारेको थियो । हामी आज यतै थियौं । तीनकुनेमा मचान छ । अग्लो मचानमा पुगेर त्यहाँबाट बग्ने खोलामा बाघ हेर्न पाइन्छ भन्दै जिप लिएर पुग्ने विचार गर्‍यौं, तर जिपलाई त्यहाँ लग्ने अनुमति थिएन । अनुमति नभएको ठाउँ नपुग्ने, बरु त्यसको नजिक करिब ५ सय मिटर दूरीसम्म पुग्ने सल्लाह गर्‍यौं । अनि जिप छाडेर छोटो दूरी पैदलै हिँड्ने ।

हामीसँग हातमा लट्ठी पनि थिएन । मनमा धेरै कुरा खेलाउँदै गयौं– कतै ठूलो दुर्घटनामा पर्ने त होइन ? तैपनि अघि बढियो । केही अघि बढेपछि अग्ला झाडी फेरि सुरु भए । झाडीसम्म के पुगेका थियौं, लगुना, बाँदर, चराचुरुंगी कराउन थाले । चालक चन्द ‘बाघ यहीँ छ’ भन्दै मचानतिर दौड्न थाले । हेमन्तका हातमा गरुंगो क्यामरा र लेन्स थिए । हामी पनि आत्तिएर चन्दलाई पछ्याउँदै दौडियौं । हतार–हतार मचानमाथि उक्लियौं । माथि पुगेर तल हेर्दा पो जीउ सिरिंग भयो । लाग्यो– धन्न बाँचिएछ । चन्दले हामीलाई देखाए– तल हामी हिँडेको बाटोबाट करिब १० मिटर दूरीमै बाघ थियो ।

दौडँदाको स्वाँ स्वाँ बिर्सेर हेमन्तले ढिलो नगरी क्यामरा सोझ्याए, फोटो कैद गरे । बाघले एउटा चित्तल मारेर खाँदै थियो । मचानमाथि हामी छौं भन्ने बाघले देख्यो । कर्के नजर हामीलाई हेर्दै सिकारको मजा लिइरह्यो । धेरैबेर सम्म पनि बाघ त्यहीँ बसिरहेपछि हामी ‘अब कतिबेला त्यो हट्ला र तल झरेर फर्कन पाउने होला’ भन्न थाल्यौं । करिब एक घण्टापछि मात्र त्यो सम्भव भयो । बाघ नजिकैको दक्षिणतर्फको झाडीमा पस्यो । हामीलाई लाग्यो– अब त्यो बाघ हामी पैदल आएको बाटोमा पुगेर बसेको रहेछ भने के होला ? निकै डर र के गर्नेभन्ने दुविधा भयो । केहीबेरमा दुई वटा गैंडा पानीमा डुबुल्की मार्दै खेल्न थाले । हामीलाई मचानबाट केही समय तल आउन डर लाग्यो । चालक चन्दले भने, ‘नआत्तिनुस्, अर्को बाटो जाउँला ।’ त्यो बाटो जान जोखिम हुने डरले करिब ३ सय मिटर दूरीमा जिप भएको ठाउँसम्म पुग्नसमेत हिम्मत भएन । हामी पूर्वतर्फको घना जंगल हुँदै घुमाउरो बाटो भएर जिप भएको ठाउँसम्म पुग्यौं । त्यसपछि केही राहत अनुभव भयो ।

हामी बाघसँगको जम्काभेटपछि सोझै फर्कने मनस्थितिमा थिएनौं । नजिकको अर्को बाघ मचानबारे सुनेका थियौं । त्यहाँ पनि पुगौं भन्ने सल्लाह भयो । त्यहाँ पुगियो । त्यहाँ पुगेर गाडीबाट ओर्लंदा चित्तल, मयूर, बाँदर देखिए । बाटोमा बाघको ताजा पाइला पनि थिए तर वरपर बाघ भने देखिएन । चालक चन्दले सुनाए– ‘गत साता यसैगरी जंगल आउँदा बाघ बाटोमै थियो । ३ घण्टा बाटोबाट हटेन ।’ त्यसबेला उनले खिचेको भिडियो फुटेज देखाए । हामी सुरक्षित फर्कियौं तर त्यो चित्तल खाँदै गरेको बाघले हेर्दाको दृश्य आँखामा झलझली आइरह्यो ।

निकुञ्जमा मानिसको चहलपहल नभएका कारण हुन सक्छ, बाघ जताततै छन् । कताबाट कतिबेला निस्कन्छन् भनेर भन्नै नसकिने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रवीन कडरियाले सुनाए । बाघको विचरण गर्ने बानीबारे थाहा पाउन विभिन्न स्थानमा ट्र्यापिङ क्यामरा राखिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको संख्या बढेको अनुमान गरिएकाले घुमघाम गर्नेले अधिकतम सतर्कता अपनाउनुपर्ने बताए । बाघ गणना आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ । बाघले गत साउनयता बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १० जनाको ज्यान लिइसकेको छ । निकुञ्जले पनि समस्याग्रस्त शंका गरेका ४ वटा बाघलाई नियन्त्रणमा लिएको छ । गत आइतबार समातिएको बाघ जावलाखेलको चिडियाखाना पठाइएको छ ।

प्रकाशित : चैत्र २८, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?