कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

बन्द खाममा आयो सुनिताको खबर

मृत्युको अघिल्लो दिनमात्रै सुनिताले ठेगाना र बाबुको नाम खुलाइन् । त्यही ठेगानामा पत्र आएपछि मात्र परिवारले उनी बेचिएको थाहा पायो । त्यति बेला उनको शवमात्र होइन, अस्तु पनि बाँकी थिएन ।
बिनु सुवेदी

काठमाडौँ — श्री कृष्णहरि तमुख 
सूर्यविनायक इटबु हाइट, नेपाल
यो ठेगानामा गत फागुन १२ गते भारतको आगरामा रहेको राजकीय संरक्षण गृहको ठेगानाबाट आएको पत्रले कृष्णहरि छाँगाबाट खसेझैं भए । बन्द खाम खोलेर भित्रको व्यहोरा जसै पढ्दै गए, उनकी श्रीमती सीतालक्ष्मी र छोरा कृष्णसुन्दरले देखेको सम्भावनाको ढोका ड्याम्म बन्द भयो ।

बन्द खाममा आयो सुनिताको खबर

दुई वर्षअघि आँखै अघिल्तिरबाट हराएकी १६ वर्षकी सुनिताको खैखबरी गरिरहेको यो परिवारका लागि खबर बोकेर आएको चिठीको व्यहोरा प्रिय थिएन ।

२०७५ मंसिर २२ गते शनिबार । दिनभरि सबै घरमा थिए । साँझ उनै सुनिताले खाना पकाइन् । भात पाकिसकेको थियो, चुलोमा बसाएको तरकारी पाक्दै थियो । तरकारी चुलोबाट ननिकाल्दै उनी घरबाट निस्किइन् । ‘हामी आगो तापेर बसिरहेका थियौं, बाहिर निस्किँदा यसो हेरेकी थिई, ट्वाइलेट गई होला भन्ने लाग्यो,’ बुबा कृष्णहरिले भने, ‘आधा घण्टासम्म पनि नफर्केपछि बाहिर खोज्न गयौं, भेट्टाउन सकिएन ।’

भोलिपल्टै कृष्णहरि छोरी खोजिपाऊँ भन्दै उजुरी दिन महानगरीय प्रहरी वृत्त जगाती पुगे । सम्भावित सबै ठाउँतिर खोजीनिती गरे, तर फेला पार्न सकेनन् । फोन गर्दा सुरुमा लागेन, पछि उठाइनन् । ‘साँझ परेपछि कहिल्यै बाहिर ननिस्किने मान्छे हो, त्यो रातभरि घर आइन । धेरै ढिलासम्म बाहिर नजाने मान्छे राति नआएपछि भोलिपल्टै चौकीमा गइयो,’ कृष्णहरिले सुनाए, ‘प्रहरीले कल डिटेल आएपछि मात्र थाहा हुन्छ भन्थे, महिनौं चौकीमा धाइयो, प्रहरीले हेर्दै छु, खोज्दै छु भने तर केही थाहा पाउन सकिएन ।’

सुनिता शनिबार हराएकी थिइन्, प्रहरीले अघिल्लो दिन शुक्रबार र भोलिपल्ट आइतबारको मात्र उनको नम्बरसित सम्पर्क भएकाहरूको सूची निकालिदिए । त्यसरी निस्किएको सूचीका आधारमा सुनिता कहाँ छिन्, थाहा पाउन सकेनन् । उनीहरूले छोरीसँग सम्पर्कमा भएका नम्बरहरूका आधारमा ती नम्बरको ठेगाना पत्ता लगाइदिन प्रहरीलाई आग्रह पनि गरे । तीन वर्षका अधिक दिन यो परिवारले सुनितालाई खोजेर बितायो ।

सुनिताको मोबाइलको अन्तिम लोकेसन रूपन्देहीको फूलबारी चोक देखियो । ‘जहिले गए पनि त्यही कल डिटेल देखाइयो, तर छोरीको खोजी गरिदिएको जस्तो नै लागेन । ४/५ महिनासम्म धाएको धायै गरियो । कल डिटेलमा जसको धेरै कुरा भएको छ, उसको नम्बर कुन नागरिकताबाट दर्ता भएको छ, त्यो दिनुस् भन्दा पनि सुरुमा त दिँदै दिएनन् । पछि हनुमानढोका प्रहरीमा गएर निवेदन दिएपछि बल्ल मोबाइल नम्बर लिएको नागरिकता प्रहरीले खोजिदियो ।

‘हराएको भोलिपल्ट रूपन्देही पुगेको रै’छ, हामीलाई एक सातापछि कल डिटेल दिए । सुरुमा त्यही नम्बरका आधारमा बहिनी खोज्न जान्छु भन्दा पनि कल डिटेलमा आएको नम्बरको नागरिकता दिएनन्,’ सुनिताका दाइ कृष्णसुन्दरले भने, ‘पछि महानगरीय प्रहरी प्रभाग वसन्तपुरमा निवेदन दिएपछि बल्ल त्यो नम्बरको भनिएको नागरिकताको फोटोकपी दिइयो ।’

उनीहरू नागरिकतामा भएको ठेगानाअनुसार गुल्मी पुगे । त्यतिखेरसम्म सुनिता हराएको एक वर्ष पुग्नै लागेको थियो । जुन नम्बर र नागरिकता एकै हो भनेर उनीहरू गुल्मी गएका थिए, त्यो गलत ठेगाना रहेछ । त्यही नम्बर दर्ता भएको भनेर दिएको नागरिकताधारीको नाममा नम्बरै दर्ता नभएको पाएपछि निराश भएर फर्किए । ‘उसको बानी राम्रो थियो, बाहिर धेरै नबस्ने, टाइममा घर आउने, टाइममा कलेज जाने गर्थी,’ आमा सीतालक्ष्मीले भनिन्, ‘उसलाई कहिले फेसबुकमा, कहिले मोबाइलमा फोन आउँथ्यो । मैले कुरा नगर भन्दा पनि के हुन्छ र उतैबाट आएको फोन त हो नि, पैसा जान्न क्यारे भन्थी, त्यही फोन गर्नेले फकाएर लग्यो कि !’

गत कात्तिक ८ गते कृष्णहरिको मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो । फोन गर्नेले यो दसैं मनाउन आउँछु भनेर फोन राखिदियो । उनीहरूले ‘को बोलेको हो ?’ भनेर सोध्दा ‘किन चाहियो ?’ भनेर जवाफ आयो । भोलिपल्ट त्यही नम्बरमा फोन गरेर सुनितालाई पाऊँ भन्दा जवाफ आयो, ‘सुनिता बाहिर गएकी छ, राति फोन गर्नुस् ।’ पर्सिपल्टदेखि फोन उठाउनेले आफूहरूसँग सुनिता नाम गरेको कोही पनि नभएको बरु ‘प्रिया’ भएको बताएपछि उनीहरूले त्यो नम्बर पछ्याउन छाडिदिए । अहिले सम्पर्क गर्न खोज्दा उक्त मोबाइल नम्बर स्विच अफ छ । ‘छोरी पक्कै आउँछे भन्ने ठानेर बसियो तर अहिले खबर यस्तो आयो,’ कृष्णहरिले भने ।

***

गत फागुन १२ गते ढोकैमा आइपुगेको पत्रमा लेखिएको थियो– प्रियाको उपचारको दौरानमा एसएन मेडिकल कलेज आगरामा निधन भयो । पत्रको व्यहोरालाई आधार मान्दा, सुनिताले आफूले आश्रय लिइरहेको संस्थामा बाबुको नाम रामबहादुर र आफ्नो नाम प्रिया बताएकी रहिछन् । २०१९ जुलाई २३ (२०७६ साउन ७) मा आश्रमको संरक्षणमा पुगेकी प्रियाको गत साउन ५ गते परीक्षण गर्दा क्षयरोग देखिएको रहेछ । फेरि गत पुस १३ मा बिरामी भएपछि अस्पताल भर्ना गरिएछ र पुस १७ गते अस्पतालको टीबी वार्डमै निधन भएछ ।

शव व्यवस्थापनका लागि पुस २८ मा पठाइएको चिठी डेढ महिनापछि बल्ल परिवारको हातमा पर्‍यो । तत्कालै चिठी बोकेर उनीहरू फेरि महानगरीय प्रहरी वृत्त जगाती पुगे । त्यहाँबाट आगरा प्रहरीलाई सम्पर्क गर्दा उनको सद्गत भइसकेको जानकारी प्राप्त भयो । रामबहादुरकी छोरी प्रिया भएर भारतको आश्रममा बसिरहेकी सुनिताको पहिचान अन्तिममा कसरी खुल्यो त ?

२०७६ साउनमा आगरा प्रहरीले ७ वटा रेडलाइट एरियामा छापा मार्‍यो । १६ वर्षकी सुनितालाई नाबालिग भनेर उद्धार गरियो । ‘तर हामी नेपालीले उद्धार भनेजस्तो भारतीय प्रहरीले एरेस्ट भन्दो रहेछ, पक्राउ परियो अब के–के हुन्छ होला भन्ने उनको मनोविज्ञानले काम गरेको जस्तो छ,’ यो घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले कान्तिपुरसँग भने, ‘उनले त्यतिखेर आफ्नो सही ठेगाना र पहिचान खुलाइनन्, उनलाई प्रियाकै नाममा चिन्न थालियो ।’

सुनिताले दिएको ठेगानामा त्यसअघि पनि भारतीय राजकीय संरक्षण केन्द्रले पत्र पठाएको रहेछ । तर, त्यतिखेर पत्रको जवाफ नै गएन । संरक्षण गृहले नेपालका अनुसन्धान अधिकृतलाई बताएअनुसार निधन हुनुभन्दा अघिल्लो दिन मात्र सुनिताले उपचारमा संलग्न स्टाफ नर्सलाई आफ्नो नेपालको ठेगाना र बुबाको नाम बताएकी हुन् । त्यही ठेगानामा संरक्षण गृहले पत्र पठाउँदा परिवारले थाहा पायो । तर कृष्णसुन्दरको हातमा चिठी पर्दा भारतमा सुनिताको शवमात्रै होइन, अस्तु पनि बाँकी थिएन ।

‘मान्छे मर्‍यो भनेर घरसम्म चिठी आइपुग्यो, तर ज्युँदो हुँदा खबर आएन,’ सुनिताका दाजु कृष्णसुन्दरले भने, ‘हाम्रा छोरीहरू हराए, इन्डिया पुर्‍याएपछि मारे पनि भयो, जे गरे पनि भयो ? आज हामीलाई पर्‍यो, भोलि अर्कोलाई पर्ला, यस्तो पनि हुन्छ र ?’ परिवारले चिठी पठाउने उक्त संस्थालाई सुनिताको शवको फोटो पठाउन भनेर आग्रह गरेका थिए । ‘मरेको फोटो पठाउनु भनेको हो, त्यो पनि छैन । शवको फोटो पठाए पनि त मेरै बहिनी हो भनेर मन बुझाउन सकिन्थ्यो, तर उनको अर्को हट्टाकट्टा फोटो पठाएका छन्,’ कृष्णसुन्दरले भने ।

उनले आफ्नी बहिनीबारे सत्यतथ्य पत्ता लगाइदिन आग्रह गर्दै गृह र महिला मन्त्रालयमा निवेदन पनि दिएका छन् । ‘हराएकी बहिनी कुनै संस्थाले चिठी पठाएर मरी भनेकै भरमा हामीले कसरी पत्याउने ?’ कृष्णसुन्दरले भने, ‘कि बहिनीको लास चाहिन्छ कि त सास ।’

प्रकाशित : चैत्र २८, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?