कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकाहरू अस्तव्यस्त

भारतमा संक्रमण बढेपछि नेपाल फर्कनेको लर्को छ तर उनीहरु हेल्थ डेस्कमा जाँच गर्नुपर्ला भनेर खुला सीमाको फाइदा उठाउँदै जहाँसुकैबाट वारपार गरिरहेका छन्   ।
प्रदेश ब्युरो

काठमाडौँ — भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।

नाकाहरू अस्तव्यस्त

भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा कञ्चनपुरस्थित गड्डाचौकी, कैलालीस्थित गौरीफन्टा, बैतडीस्थित झुलाघाट र पुलघाट नाका दार्चुलामा एन्टिजेन परीक्षण डेस्क राखिएको छ ।

मुख्य नाका गौरीफन्टामा पछिल्लो एक सातामा ६ हजार २ सयभन्दा बढीको एन्टिजेन परीक्षण गरिएकामा २ सय ६५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार धनगढीको कनरीस्थित आइसोलेसनमा बिहीबार ४५ जना संक्रमित छन् । प्रदेशका ९ जिल्लाका १८ स्वास्थ्य संस्थामा गरी २ सय ५४ वटा आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ । भारतका दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत सहरमा कोरोना संक्रमण पुनः बढेपछि त्यहाँ रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका हुन् । यतिबेला सुदूरपश्चिमेलीको मुख्य चाड बिसु सुरु भएकाले अन्य व्यक्ति पनि घर फर्किने गरेका छन् ।

जोखिम बढेसँगै संक्रमित राख्न आइसोलेसन व्यवस्था गर्न लागिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि ५० शय्याको अर्को अस्पताल धनगढीमा निर्माण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । यसैबीच, कैलाली जिल्ला प्रशासनले जोखिमलाई मध्यनजर गरी भीडभाड नगर्न ९ बुँदे आदेश यसअघि नै जारी गरिेसकेको छ । आदेशको अवज्ञा गरे कारबाही हुने पनि भनिएको छ तर भीडभाड रोकिएको छैन । यो साता सुदूरपश्चिममा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी र महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा एक/एक पुरुषको मृत्यु भएको हो । बुधबार महाकाली अस्पतालमा मृत्यु हुने कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका ४८ वर्षीय पुरुष हुन् । उनी हालै भारतको गुजरातबाट घर फर्केका हुन् । आइतबार कोरोना लक्षण देखा परेपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

नाकामा भद्रगोल कायमै

सुनौली–भैरहवा नाकामा हेल्थ डेस्क राखिए पनि यात्रुको चापको तुलनामा पर्याप्त जनशक्ति छैनन् । त्यसैले सुरक्षाका मापदण्ड र अन्य व्यवस्थापनका कार्य प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ‘एक्लैले सबै काम गर्न परेपछि कताकता भ्याउने ? शौचालय जान, खाजा र नास्ता खानसमेत समस्या छ,’ हेल्थ डेस्कमा खटिएका अहेव लालमोहन चौधरीले भने, ‘सकेसम्म प्रयास गरेका छौं तर पनि जनशक्तिको ठूलो कमी छ ।’ उनका अनुसार बिहान ६ देखि राति १० बजेसम्मका लागि दुई जना अहेव र एक जना हेल्थ एसिस्टेन्ट नाकामा खटाइएको छ । आपसमा समय मिलाएर एक/एक जना मात्रै डेस्कमा खटिने गरेका छन् ।

भारतबाट आउने हरेक व्यक्तिको ज्वरो मापनसहित कोभिड–१९ को सामान्य लक्षणको निदान गर्नुपर्ने जिम्मेवारी स्वास्थ्यकर्मीलाई छ । त्यसका आधारमा नेपालमा प्रवेश दिने र शंकास्पद यात्रुको सिमानामै स्वाब परीक्षण गरी व्यवस्थापन गर्नॅपर्छ । नेपाल आउनेको विवरण राख्ने जिम्मेवारी पनि हेल्थ डेस्कलाई नै छ । तर, जनशक्तिको अभावले सबै यात्रुको ज्वरो मापन र विवरण राख्न सकिएको छैन ।

उक्त नाकाबाट यात्रुको आवागमन बिहानैदेखि रातिसम्म हुन्छ । नाकामा भारतमा रोजगारी गरी फर्किने प्रवासी नेपाली परिवार, उपचार र अध्ययन गरेर फर्किने र सीमावर्ती भारतीय बजारमा किनमेल गरेर फर्किने नेपालीको ताँती हुन्छ । दैनिक मजदुरीका लागि सयौंको संख्यामा भारतीय मजदुर नेपालतर्फ आउने गर्छन् । आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा आउने बिरामी, भन्सार प्रयोजन भन्दै आउने भन्सार एजेन्ट र तिनका प्रतिनिधिको चाप पनि उत्तिकै छ ।

सामान किनमेल गर्न सुनौली गएर फर्केका नेपाली उपभोक्ता, दैनिक ज्यालादारीमा काम गर्न आउने भारतीय मजदुर, आँखाको उपचार गर्न आउने बिरामीको विवरण र ज्वरो मापन गरिएको छैन । नाकाबाटै एक जनाको विवरण राख्दा र ज्वरो मापन गर्दाको समयसम्म १५/१६ जना यात्रु सिमानाबाट पार भइसकेका हुन्छन् । भन्सारसहितको मूल नाकामा त कोभिड संक्रमण जोखिम न्यूनीकरण व्यवस्थापनको अवस्था यस्तो छ भने मूल नाकाबाट केही मिटर दायाँबायाँ र खुला सिमानाबाट हुने आवागमन व्यवस्थापनको विषय त झनै चुनौतीपूर्ण छ । हेल्थ डेस्कमा खटिएका सशस्त्र प्रहरी बलका सई केबी विष्टले बिनाप्रयोजन र पीसीआर रिपोर्ट नेपाल आउन खोज्ने भारतीयलाई सिमानाबाटै फर्काइदिने गरिएको बताए ।

भारतको विभिन्न सहरबाट आएका नेपाली सबैको विवरण र स्वास्थ्य जाँच गर्ने गरिएको छ । नेपालको कुनै आयोजना, संस्था, उद्योग कलकारखानामा कार्यरत भारतीय प्राविधिक वा कर्मचारीलाई सम्बन्धित निकायको परिचयसहितको सिफारिसपत्रका आधारमा स्वास्थ्य परिक्षण गरेर आउन दिइएको छ । पछिल्ला केही दिनयता सुनौली नाकाबाट नेपाल आउने यात्रुको संख्यामा कमी आउन थालेको त्यहाँको विवरणबाट देखिन्छ । पहिला यस नाकाबाट नेपाल आउने भारतीयको संख्या दैनिक सरदर ५ सय रहेकामा अहिले डेढ सयमा झरेको छ । त्यसैगरी, यस नाकाबाट आउने नेपालीको संख्या पनि ६ सयबाट घटेर साढे २ सयको हाराहारीमा छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले कोरोना रोक्न सीमा सुरक्षाको व्यवस्थापन र आन्तरिक रणनीतिक सुधारका लागि गरिएको निर्णय कार्यान्वयनको चरणमा रहेको बताए । ‘आइतबारदेखि हेल्थ डेस्क र सीमा नाकामा अपनाइएको रणनीतिमा परिवर्तन आएको सबैले महसुस हुने गरी काम हुनेछ,’ उनले भने, ‘यस नाकाबाट हुने अत्यधिक आवागमन लुम्बिनी र गण्डकी प्रदेशबाट समेत हुने गरी नाकामा कडाइ र प्रभावकारी व्यवस्थापनका लागि दुवै प्रदेशसँग समन्वय गरेको छु ।’ सीमा व्यवस्थापनबारे केही दिनमै हुने सीमावर्ती भारतीय समकक्षीसँगको बैठकमा कुरा राखिने उनले जनाए । यस नाकामा मेडिकल अधिकृतसहित आवश्यक संख्यामा स्वास्थ्यकर्मी, ल्याब र उपकरणसहितको व्यवस्थित होल्डिङ सेन्टरको स्थापनाको तयारी पनि छ ।

संक्रमितलाई सिधै अस्पताल

बाँकेको जमुनाहस्थित नाकामा ६ हजारलाई जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै भारतबाट फर्किएका हुन् । नेपालगन्ज उपमहानगरले स्थापना गरेको हेल्थ डेस्कमा २ जना ल्याबका गरी पाँच जना स्वास्थ्यकर्मी खटाइएको छ, तर पर्याप्त भने छैन । उनीहरूले दैनिक सात सयदेखि आठ सयसम्मको स्वास्थ्य जाँच गर्नुपर्छ । यस नाकाबाट स्वदेश फर्किनेको ज्वरो नाप्ने र शंका लागेकालाई कोरोना जाँच गरिने नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

लकडाउन खुकुलो भएयता नाकामा निर्बाध आवागमन नरोकिएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को गत बुधबार बसेको बैठकले भारतीय सीमा बजार रूपैडिहामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको थियो । भारतबाट आएका यात्रुको अभिलेख राख्ने, स्वास्थ्य जाँच गर्ने, लक्षण देखिए १० दिन होम क्वारेन्टाइनमा राख्ने, गम्भीर भए भेरी अस्पतालमा उपचारका लागि पठाउने व्यवस्थासमेत गरिएको छ ।

‘भारतमा कोरोना महामारी फैलिएपछि नाकामा थप सतर्कता अपनाएका छौं,’ जमुनाहस्थित नाकाका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक विष्णु गिरीले भने । सरकारले स्थायी जनशक्तिका साथ नाकामा हेल्थ डेस्क स्थापना गर्नु राम्रो जनशक्ति थप्नुपर्ने भेरी अस्पतालका मेसु प्रकाश थापाले बताए । ‘जनशक्ति अभावमा प्रभावकारी काम गर्न सम्भव छैन,’ उनले भने, ‘सरकारी मापदण्ड पूरा गर्न अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ ।’

हेल्थ डेस्कबाट जाँच

कपिलवस्तुको सीमानाका कृष्णनगरमा पनि हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण गरेर मात्र आवतजावत गर्न दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको चैत १३ को बैठकले डेस्क स्थापना गर्ने निर्णय गरेको हो । भारतबाट आउनेको अभिलेख पनि राख्ने गरिएको छ ।

‘सबैको तापक्रम नाप्छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले भने, ‘ज्वरो आएकाको स्वाब लिएर तत्कालै परीक्षण गर्छौं ।’ १४ दिनमा १ हजार ६ सयको स्वास्थ्य परीक्षण गरेको उनले बताए । त्यसमध्ये ९७ जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । संक्रमित देखिए नजिकको आइसोलेसन सेन्टरमा राखिने उनले जनाए । कृष्णनगर नगरपालिकाले बिहान ६ देखि साँझ ८ बजेसम्म हेल्थ डेस्क सञ्चालन गरिरहेको छ ।

भारतमा तीव्र संक्रमण फैलिएका सहर दिल्ली र मुम्बई सहरसँग सोझो सम्पर्क रहेको कृष्णनगर नाका बढी संवेदनशील मानिन्छ । ‘त्यही भएर पहिले कृष्णनगरलाई प्राथमिकता दिएका छौं,’ प्रजिअ चक्रपाणि पाण्डेले भने, ‘अब तुरुन्तै मर्यादपुर नाकामा पनि हेल्थ डेस्क राख्ने तयारी थालेका छौं ।’ आइसोलेसन सेन्टरहरू पहिले जुन–जुन अस्पताल र स्वास्थ्य केन्द्रमा थिए, त्यसलाई तयारी अवस्थामा राख्न भनेको उनले बताए । तर क्वारेन्टाइनका हकमा भने कुनै निर्णय नभएको उनले बताए ।

जन्ती गए पनि अब क्वारेन्टाइनमा

बर्दियाको स्थानीय प्रशासनले सीमानाकामा आउजाउमा कडाइ गरेको छ । अब भारतमा विवाह उत्सव आदिमा जन्ती गए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘तत्काल थप क्वारेन्टाइनको व्यवस्था गर्न पालिकासँग समन्वय गर्न लागेका छौं,’ उनले भने, ‘यसअघि भारतबाट आउनेलाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा रहनुपर्ने नियम लागू गरिसकेका छौं ।’ स्थानीय पालिकाले बन्द रहेका क्वारेन्टाइन सञ्चालन गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । उनका अनुसार हाल १५ जना संक्रमित बारबर्दियालगायत पालिकाका क्वारेन्टाइनमा छन् । उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

तीव्र संक्रमणका कारण सीमावर्ती भारतको लखनउसहितका सहरमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ । भारतमा कोरोना बढेपछि नेपाली स्वदेश फर्किन थालेकाले स्थानीय प्रशासनले सुरजपुरबाहेक सबै नाका बन्द गरेको छ । खुला रहेको सुरजपुर नाकामा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलसहितको टोली नाका–नाकामा परिचालन गरिएको छ । संक्रमण भएकालाई तत्काल एम्बुलेन्समा राखेर सम्बन्धित पालिकाका क्वारेन्टाइनमा पठाइने व्यवस्था मिलाएको प्रजिअ सुनारले बताए । सीमामा कडाइ गरेपछि अहिले नेपालबाट भारतमा किनमेल गर्न जाने नेपाली घटेका छन् ।

रोकिएन खुला आवागमन

विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ । दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोर बाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन् । तर सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फ आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन् ।

विराटनगर-१६ स्थित विराटनगर जुट मिलको दक्षिण गेटबाट भारततर्फ जाने चोर बाटोमा काँडा राखेर लगाइएको छेकबार र सुरक्षार्थ खटिएका प्रहरी । तसिबर : देवनारायण साह/कान्तिपुर

विराटनगर–१५ स्थित इस्लामपुर र मटेरुवालगायत मोरङस्थित प्रत्येक छोटी भन्सार नाकामा पनि सर्वसाधारण खुला सीमाको फाइदा उठाउँदै निर्बाध आउजाउ गर्ने गरेको स्थानीयको भनाइ छ । खुलेआम आवतजावतले संक्रमण जोखिम पनि बढाएको छ । तर खुला सिमाना भएकाले जताततै दशगजाबाट सर्वसाधारणको भारत अवागमन भइरहेको हो । दशगजाबाट भारततर्फ आउने–जानेलाई सीमा खटिएका सुरक्षाकर्मी रोकेका छैनन् ।

दैनिक उपभोग्य सामग्री किनमेलका लागि जोगबनी गएकी विराटनगर–५ की उर्मिलादेवी मण्डलले मूल बाटोबाट प्रहरीले जान नदिए पनि दशगजाबाट आउजाउ गर्न कुनै रोकटोक नगर्ने गरेको बताइन् । भारतबाट औपचारिक रूपमा आउने–जानेलाई रानी भन्सार नाकास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर मात्रै नेपालतर्फ आउन दिइएको छ । प्रशासनले कोभिड जोखिम व्यवस्थापन समितिले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा भारततर्फ नजान आग्रह गरेको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन । प्रदेश १ सरकारले शुक्रबार विपद् व्यवस्थापन समितिको बैठक बोलाएकाले केही निर्णय हुने जनाइएको छ ।

संक्रमित बढ्दै

प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । बिहीबार मात्रै यस प्रदेशमा १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये विराटनगर महानगरका मात्रै ११ जना रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । सुनसरीको इटहरीमा ३, भोक्रा नरसिंहमा १, झापाको अर्जुनधारा, दमक र बिर्तामोडमा १/१ र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा बुधबार १६, मंगलबार १०, सोमबार ७ र आइतबार ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । प्रदेशमा शुक्रबारसम्ममा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ ।

सामाजिक विकासमन्त्री उषाकला राईले संक्रमण रोकथामका लागि आवश्यक सतर्कता अपनाउने बताइन् । ‘कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरिका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध छ,’ उनले भनिन्, ‘प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी संक्रमितको उपचारको व्यवस्थापनका लागि निर्देशन दिएका छौं ।’

सतर्कता बढाइँदै

संक्रमित बढ्न थालेपछि प्रदेश २ का ८ जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ । भारतबाट नेपाल आउनेको जाँच गरी उनीहरूको तथ्यांक संकलन गरिएको छ । नजिकबाट आउनेहरूलाई सामान्य जाँच गरी प्रवेश गर्न दिइएको छ भने टाढाबाट आउनेहरूको ‘ट्राभल हिस्ट्री’ संकलन थालिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणका लागि प्रदेशस्तरीय बैठकबाट पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णयअनुसार सीमा क्षेत्रमा सतर्कता बढाइएको उनले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा, सम्मेलन, भीडभाड गर्न रोक लगाएर अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अभियान थालिएको छ । ८ जिल्लाका सीमा क्षेत्रमा पहिलो चरणमा झैं कडाइ गर्ने गरी नयाँ प्रोटोकल लागू गर्ने तयारी गरिएको सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआईजी सीपी गौतमले बताए ।

‘भारतबाट आउनेलाई पहिलो चरणमा एन्टिजेन जाँच गरी प्रवेश दिने र संक्रमित देखिए पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ,’ डीआईजी गौतमले भने, ‘विगतमा कोरोना नियन्त्रण गर्न सिमानामा भएको त्रुटि अब हुनेछैन । सीमा क्षेत्रमा नयाँ बोर्ड आउट पोस्ट थपिएकाले कोरोना नियन्त्रण र आवतजावतमा निगरानी गर्न सहज हुनेछ ।’ तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि सरोकारवालालाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन् । प्रदेश सरकारले जनकपुरको मणिपालमा सय शय्याको कोभिड अस्पताल निर्माणको तयारी गरेको छ । साथै मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न मुख्यमन्त्री राउतले अपिल गरेका छन् ।

-अर्जुन शाह (धनगढी), माधव ढुंगाना (भैरहवा), रूपा गहतराज (नेपालगन्ज), मनोज पौडेल (कपिलवस्तु), कमल पन्थी (बर्दिया), देवनारायण साह (मोरङ) र सन्तोष सिंह (धनुषा)

प्रकाशित : चैत्र २७, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?