प्रधानमन्त्री ओलीको दाबी- अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीको दाबी- अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका छन् । 

फाइल तस्बिर

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका हुन् । ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,' उनले थपे, 'नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’

बेसार पानी, अम्बाका पात लगायत घरेलु विधिबाट कोरोना निको हुने प्रधानमन्त्री ओलीले पटक-पटक दाबी गर्दै आए पनि चिकित्सकहरु भने यसको पुष्टि भइनसकेको बताउँछन् ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न उनले आग्रह गरे । उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए ।

भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ थियो । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं ।’

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दाबी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताए ।

प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताए । उनले भने, ‘सरकारले प्रयाप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै बिग्रिएको चिजलाई फेरि ट्र्याकमा ल्याउन अलिकति समय लाग्दैछ । तर समयले अब गति लिँदैछ । हामीले जुन ट्र्याक लिँदैछौं यसले गति लिँदै छ ।’

प्रकाशित : चैत्र २६, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार महासंघ तनहुँमा पौडेल, पर्वतमा थापा  विजयी

रासस

तनहुँ,पर्वत — पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् । 

महासंघको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका छन् ।

त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित हुनुभएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।

यस्तै, नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा दुई मतको अन्तरमा विजयी भएका हुन् । थापाले २८ र तिवारीले २६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भएका छन् ।

त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गीताकुमारी शर्मा विजयी भएका छन् । खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुुर जिसी विजयी भएका छन् । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातीतर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा गणेश पौडेल र रञ्जना खत्री निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी भएका छन् ।

प्रकाशित : चैत्र २६, २०७७ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×