कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सा फेरि कोरोनाको ‘हटस्पट’ बन्ने जोखिम

नारायणी अस्पतालले थप संक्रमित भर्ना गर्न नसक्ने 
शंकर आचार्य

पर्सा — गत माघ अन्त्यतिर पर्सामा कोरोना संक्रमितको संख्या शून्यमा झरेर स्थिति सामान्य बनेको थियो । त्यसपछि आफ्नै लयमा फर्किएको जनजीवन पुनः त्रस्त बन्न थालेको छ । करिब डेढ महिनापछि चैत तेस्रो सातायता यहाँ संक्रमितको संख्या बढ्दो छ ।

पर्सा फेरि कोरोनाको ‘हटस्पट’ बन्ने जोखिम

नारायणी अस्पतालका अनुसार चैत १८ देखि २३ सम्म २८ संक्रमित थपिए । तीमध्ये ५ जना बाराका हुन् । कन्ट्याक्ट ट्रेसिङमा परेका अधिकांशमा कोरोना पोजिटिभ देखिएपछि जोखिम बढेको छ । संक्रमित हुनेमा धेरैजसो बालबालिका र युवा उमेर समूहका बढी छन् । सातायताको अवस्था हेर्दा ७ देखि ३४ वर्षका व्यक्ति संक्रमित भएको देखिन्छ । यसले घरबाट बाहिर बढी हिँड्ने, विद्यालय, कलेज, बजार तथा विभिन्न रोजगारी प्रयोजनका लागि निस्कनेहरू संक्रमित भएको संकेत गर्छ ।

मुख्यगरी वीरगन्ज क्षेत्रमा संक्रमण बढ्दो देखिए पनि यहाँका अस्पतालमा संक्रमितका लागि विशेष उपचार कक्ष सञ्चालन गरिएको छैन । केन्द्रीय तथा यस भेगकै ठूलो अस्पताल नारायणी अस्पतालमा समेत संक्रमितका लागि छुट्टै उपचार कक्ष बनाइएको छैन । आधा दर्जनभन्दा बढी निजी अस्पतालले समेत यतातिर ध्यान पुर्‍याएको देखिन्न । हाल नारायणी अस्पतालको आकस्मिक कक्षको चारवटा शय्यामा संक्रमित उपचाररत छन् । थप संक्रमितलाई अस्पतालले भर्ना गर्न सक्ने अवस्था छैन । जसले यसअघि कोरोना ‘हटस्पट’ बनेको पर्सामा पहिलेकै भयावह अवस्था आउन सक्ने सम्भावना छ ।

पहिलो चरणमा जिल्लामा कोरोनाबाट ५१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ को तथ्यांक छ । त्यतिबेला ३० हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजारभन्दा बढी संक्रमित थिए । कोभिड अस्पतालमा शय्या अभाव हुँदा ठूलो संख्यामा संक्रमितहरू होम आइसोलेसनमा बस्नुपरेको थियो ।

छिमेकी मुलुकमा भारतमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले संक्रमण भित्रिने सम्भावना प्रबल छ । यहाँस्थित सीमाको हेल्थ डेस्कमा भारतबाट भित्रिने केही सर्वसाधारणको मात्र स्वास्थ्य परीक्षण गरिन्छ । सीमामा कडाइ नगरिए पर्सालगायत सीमावर्ती जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढ्न सक्ने नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख एवं तत्कालीन गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए । ‘स्थिति फेरि गम्भीर हुँदै गएको छ, हाल यहाँको अवस्था साउनको जस्तो भइसकेको छ,’ उनले भने, ‘त्यतिबेला जस्तै अहिले अस्पताल तथा क्लिनिकमा आउने बिरामीमा रुघाखोकी र ज्वरोको लक्षण बढेको पाइएको छ ।’

यस्ता बिरामी हेर्दा सामान्य जस्ता लागे पनि शरीरमा अक्सिजनको मात्रा ८४ देखि ८६ प्रतिशत मात्र हुने गरेको उनले बताए । हाल परीक्षणको दायरा कम रहेकाले संक्रमित पनि कम देखिएको डा. सिंहको भनाइ छ । ‘परीक्षणको दायरा बढाए संक्रमित ठूलो संख्यामा थपिन सक्छन्,’ उनले भने, ‘आजभोलिमै संक्रमितको संख्या दोहोरो अंकमा पुग्ने र आवश्यक सावधानी नअपनाइए यो दर दैनिक बढ्दै जाने उच्च सम्भावना छ ।’

अस्पतालका सूचना अधिकारी डा. सरोज रोशन दासले संक्रमितको उपचारका लागि आईसीयू र एचडीयू वार्ड तयार भइरहेको र चाँडै सञ्चालनमा ल्याइने दाबी गरे । ‘नारायणीमै कोभिड डेडिकेटेड आईसीयू र एचडीयू कक्ष निर्माण अन्तिम चरणमा छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अब प्रत्येक अस्पताललाई कोभिड संक्रमितको उपचारका लागि आफ्नो कुल शय्याको ३० प्रतिशत छुट्याउन निर्देशन दिइसकेकाले निजी अस्पतालले पनि त्यसैअनुरूप गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : चैत्र २६, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?