कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बन्दैछ प्रेस संग्रहालय 

गणेश राई

काठमाडौँ — नेपाल प्रेस काउन्सिलका पदाधिकारी ‘प्रेस संग्रहालय’ स्थापनामा जुटेका छन् ।  काउन्सिलले पत्रकारिताको इतिहास र विज्ञान तथा प्रविधिको विकाससँगै छेउलागेका प्रविधिलाई लिएर संग्रहालय निर्माण गर्न लागेको हो । त्यसैगरी परम्परागत सञ्चार प्रणालीका साधनसमेत संग्रहालयमा समेटिनेछन् ।

यसरी बन्दैछ प्रेस संग्रहालय 

‘दक्षिण एसियामा मात्र नभई विश्वमै प्रेस संग्रहालय नरहेको पायौं,’ काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले भने, ‘त्यसैले गर्दा काउन्सिलको हातामै रहने गरी नेपाली प्रेस तथा पत्रकारिताको इतिहास जनाउने संग्रहालय निर्माणमा जुटेका छौं ।’ राजधानीको सञ्चारग्रामस्थित काउन्सिल हातामा संग्रहालय निर्माणाधीन रहेको छ ।

काउन्सिलले मुद्रण विभाग, नेपाल प्रेस इन्स्टिच्युटलगायत निकायबाट छापाखाना तथा प्रेसजन्य विभिन्न सामग्री संकलन गरेको छ । ट्रेडल मेसिन (म्यानुअल), नेपाली र अंग्रेजी फन्टसहितको केस, रुलरसहितको प्रुफ मेसिन, विभिन्न आकारका चिम्टा र स्टिक, रुलर छन् । त्यसैगरी फोटासहितका हेडिङ ब्लक, जिङ्क ब्लक, ग्याली फ्रेम, साँचो, सेट, धागो, हाते टाइपराइट, फ्याक्स मेसिन, कम्प्युटर मनिटरलगायत सामग्री संकलित छन् ।

नेपालको सन्दर्भमा छापा पत्रकारिता पहिलो हो । त्यसपछि रेडियो र टेलिभिजन पत्रकारिता पर्दछ । पछिल्ला दशकमा इन्टरनेटको विस्तारसँगै न्युमिडियाले वर्तमान विश्वलाई ढाकेको छ । न्युमिडियाअन्तर्गत वेबसाइट, ब्लग, इमेल, सामाजिक सञ्जाल, संगीत, टीभी स्ट्रिमिङ, भर्चुअलजस्ता माध्यम पर्दछन् । काउन्सिलले निर्माणाधीन संग्रहालयमा छापाखानाका मेसिन, रेडियो, टेलिभिजनका पुराना सामग्रीहरू र नेपाली सामाजमा प्रयोग हुने परम्परागत सञ्चारका साधन समेटिने कार्यवाहक अध्यक्ष बुढाथोकीले जनाए । त्यसमा दमाहा, कर्नल, बिगुलजस्ता सामग्री पर्दछन् ।

‘आमसञ्चार पत्रकारिता, छापाखानामा संलग्न धेरै व्यक्ति र संघसंस्थासँग त्यस्ता ऐतिहासिक सामग्रीहरू निकम्मा भएर रहेका छन्,’ पत्रकारसमेत रहेका बुढाथोकी भन्छन्, ‘त्यस्ता प्रेसको इतिहासजन्य सामग्री संग्रहालयलाई प्रदान गर्ने संस्था र व्यक्तिको नाम अंकित गरिनेछ । यदि धेरै किमती वस्तु भएमामा मूल्य पनि दिन तयार छौं ।’

तत्कालीन सरकारले २०१५ सालमा गठन गरेका प्रेस कमिसनको प्रतिवेदनमा ‘गोरखापत्र छापाखानामा रहेका पुराना मेसिनहरूमध्ये गिद्धेप्रेसलाई म्युजियममा राखी बाँकी पुराना मेसिनहरूलाई लिलाम गर्न सकिने’ उल्लेख छ । नेपाली पत्रकारिताको इतिहासमा गिद्धेप्रेस (इगल प्रेस) मेसिन पहिलो मानिन्छ । उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार विसं. १९४३ सालमा मोतीराम भट्टले ‘गोर्खा भारत जीवन’ नामक पत्रिका भारतको काशी (बनारस)बाट छपाएका थिए । उनै भट्टले कृष्णदेव पाण्डेसँगै मिलेर १९५० सालमा काठमाडौंमा पाशुपत प्रेस स्थापना गरेका थिए । त्यही प्रेसबाट स्वदेशै पहिलो पटक प्रकाशित पत्रिका ‘सुधा सागर’ साहित्यिक मासिक हो, जुन विसं. १९५५ मा छापिएको थियो ।

विसं. १९५८ वैशाख २४ मा प्रकाशन आरम्भ भएको ‘गोरखापत्र’ हालसम्म प्रकाशित छ । गोरखापत्र संस्थान स्वयंले म्युजियम (सञ्चार संग्रहालय) निर्माणको प्रयासमा रहेको गोरखापत्र संस्थान म्युजियम निर्माण उपसमितिका सदस्य प्रकृति अधिकारीले बताएका छन् । ‘गिद्धेप्रेसको खोजी गर्दै जाँदा राष्ट्रिय संग्रहालयमा अलपत्र अवस्थामा पाएका छौं,’ यो ऐतिहासिक भए पनि पुरातात्विक होइन उनले भने, ‘संग्रहालयले गोरखापत्रलाई हस्तान्तरण गर्न सकारात्मक प्रतिक्रिया दिएको छ ।’ उक्त प्रेसका विभिन्न भागमध्ये केही संग्रहालयभित्र र अरु गह्रुँगो भाग बाहिर चौरमा खिया लागेको अवस्थामा रहेको संयोजक अधिकारीले जनाए ।

काउन्सिलका प्रवक्ता दीपक खनालका अनुसार संग्रहालयलाई प्रेसबारे जानकारी लिन चाहने सर्वसाधारण र शोधार्थीका निम्ति महत्वपूर्ण हुनेछ । ‘नेपाली भाषाको विकासक्रममा छापा पत्रकारिताको इतिहास जोडिएका भारतको बनारस, देहरादुन, त्यसैगरी बर्मा, भुटान पनि भएकाले त्यहाँको पनि स्थलगत अध्ययन, अवलोकन गर्ने उद्देश्य राखिएको छ,’ प्रवक्ता खनालले भने । उनका अनुसार चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँमात्र रहेको छ । संग्रहालय स्थापनार्थ ५ करोड रुपैयाँ माग गरेको कार्यवाहक अध्यक्ष बुढाथोकीले जनाएका छन् ।

प्रकाशित : चैत्र २५, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?