कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशसभाका दुई सदस्य कारबाहीमा

दल परित्याग गरेको प्रदेशसभामा जानकारी
घनश्याम गौतम

रूपन्देही — निर्वाचित दल परित्याग गरेका लुम्बिनी प्रदेशसभाका दुई सदस्य कारबाहीमा परेका छन् ।

लुम्बिनी प्रदेशसभाका दुई सदस्य कारबाहीमा

नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ ख का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ ख का दिनेश पन्थीको पद मंगलबारको प्रदेश सभाको बैठकले रिक्त भएको घोषणा गरेको हो । दुवै प्रदेशसभा सदस्यले माओवादी परित्याग गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् ।

दुवै जनालाई नेकपा माओवादीको लुम्बिनी प्रदेशसभाको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ एवं दफा ३२ को उपदफा १ को खण्ड ख बमोजिम कारबाही गरिएको पत्र सभामुख पूर्णबहादुर घर्तिले सभालाई जानकारी गराएका हुन् । उक्त दफामा दल परित्याग गरेको खण्डमा सोही पार्टीको संसदीय दलको निर्णय र पार्टीले कारबाही गरेको जानकारी प्रदेशसभालाई दिएको उक्त पद रिक्त हुने व्यवस्था छ ।

दुई प्रदेशसभा सदस्य कारबाहीमा परेसँगै लुम्बिनी प्रदेशसभामा अब प्रदेशसभा सदस्यको संख्या ८५ भएको छ । माओवादी केन्द्रका २० सांसदबाट १८ जना भएका छन् ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन पनि मंगलबार रातिदेखि अन्त्य हुने भएको छ । सभा अन्त्य सम्बन्धी प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र सभामा पढेर सुनाइएको थियो । सभा अन्त्य गर्न सोमबारको मन्त्री परिषद्को बैठकले सिफारिस गरेको थियो । चैत १८ गतेबाट सुरू भएको सातौं अधिवेशन पांचवटा बैठक मात्र बसेर अन्त्य भएको हो ।

प्रकाशित : चैत्र २४, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?