कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाली पुलिसको सामना गर्न आर्मी तयार

हिमेश

काठमाडौँ — नेपालको त्रिभुवन आर्मी क्लबले बुधबार एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्यामिपयन श्रीलंका पुलिस एससीको सामना गर्दैछ ।

श्रीलंकाली पुलिसको सामना गर्न आर्मी तयार

त्यस अगाडि मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले त्यस खेलका लागि तयार रहेको र त्यसमा राम्रो प्रदर्शनको उद्देश्य रहेको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताए ।

उनले भने, ‘हाम्रो तयारी राम्रो भएको छ । क्लब लाइसेनिङ पाएदेखि तयारी गर्न पाएका छौं । त्यसैले लामो तयारी पनि गर्न पाएका छौं । राष्ट्रिय टिमको तयारीमा पनि आर्मीका ९ खेलाडीले सहभागिता जनाउनु हाम्रो लागि राम्रो रह्यो । सेट टिमले एकै स्थानमा खेल्न भने धेरै पाएका छैनौं, तर सबै खेलाडीले एकअर्कालाई लामो समयदेखि चिनेको र बुझेको हुनाले खासै समस्या हुने छैन ।’ उसले पछिल्लो साता मात्र किर्गिस्तानी ओलम्पिक टिमविरुद्ध खेलेको थियो र त्यो गोलरहित बराबरी रहेको थियो ।

नवीनले थपे,‘त्यस खेलबाट टिमका केही कमी कमजोरी थाहा पाइयो । हामी भोलिको खेलका लागि गम्भीर छौं । जितका लागि खेल्ने छौं । सबै खेलाडी शारीरिक र मानसिक रूपमा तयार छन् । हाम्रो उद्देश्य पहिलो चरण पार गर्ने उद्देश्य पनि बताए । यस्तै कप्तान भरत खवासले पनि टिमको तयारी राम्रो रहेको बताए ।

श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले आफ्नो टिमको तयारी केही महिना अगाडि मात्र सुरु भएको बताए । उनका अनुसार कोराना भाइरस संक्रमण महामारीका कारण टिमका सबै खेलाडी श्रीलंकाली प्रहरी भएको हुनाले नियमित फुटबलबाट टाढा रहे । उनले भने, ‘हाम्रो टिमले एएफसी क्लब प्रतियोगिता खेल्न लागेको यो पहिलो पल्ट हो । हाम्रो टिममा कोही पनि राष्ट्रिय खेलाडी छैन् । हामीले नेपाली टिमबारे बुझ्ने प्रायस भने गरेको छौं ।’

श्रीलंकाली लिग विजेताका रूपमा पुलिस यस खेलका लागि छनोट भएको हो । टिममा तीन विदेशी खेलाडी टिममा रहेका छन् र तीनै जना घानाका हुन् । उनले काठमाडौंको चिसो मौसमले आफ्नो टिमको प्रदर्शन प्रभावित हुन सक्ने पनि डर पोखे । यस्तै, कप्तान चमिका कुमारा टिमको तयारी अनौठो रहेको बताए । उनले भने, ‘कोभिड १९ का कारण हामीले तयारीका लागि धेरै समय पाएनौं । तर हामी काठमाडौं आएर खेल्न पाएकोम खुसी छौं ।’

यो खेल एकै लेगको मात्र हुनेछ । श्रीलंकाली टिमको तुलनामा आर्मीको वरीयतामाथि भएको हुनाले उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउने मौका पाएको हो । आर्मीको अन्तिम २३ खेलाडीको टिम भने अझै घोषणा भएको छैन । उसले यस छनोट खेलका लागि भनेर २५ खेलाडीको सूची भने दर्ता गरेको छ । आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । प्रशिक्षकका रूपमा नवीनको भने यो दोस्रो एसियाली क्लब च्याम्पियनसिप हो ।

यसअघि मनाङ मर्स्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेल्दा पनि उनी नै प्रशिक्षक थिए । मंगलोलियामा भएको पहिलो चरणको छनोट चरण पार गरेर अन्तिम चरण पुगेको थियो । अन्तिम चरण श्रीलंकामा भएको थियो र त्यसमा मनाङ समूह चरण काट्न भने असफल रह्यो । यो खेलको विजेताले सात दिनपछि अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुरु एफसीसँग खेल खेल्नेछ । गोवामा हुने यो खेल पनि एकै लेगको हुनेछ ।

त्यसको पनि विजेताले पनि अन्तिम समूह चरण पुग्न तेस्रो खेल खेल्नु पर्नेछ र त्यसको स्थानबारे निर्णय हुन बाँकी निर्णय हुनेछ । दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शनले प्रवेश पाउनेछन् । सर्वसाधारणतर्फको टिकटको मूल्य ३ सय र भीआईपीतर्फको टिकटको मूल्य ५ सय रुपैंया राखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको कार्यक्रम भएको हुनाले कोभिड १९ संक्रमणबाट जोगिन पूर्णत: कडा स्वास्थ्य आचार संहिता लागू हुनेछ ।

प्रकाशित : चैत्र २४, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?