कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालापनमै बिहेको बोझ

चाँदनी कठायत

वीरेन्द्रनगर — ५ कक्षा पढ्दै थिइन् । उमेर १४ वर्ष मात्र पुगेको थियो । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन् ।

बालापनमै बिहेको बोझ

विवाह भएको एक वर्षपछि आमा बनिन् । छोराको आसमा सरस्वतीले २० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन् । चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो । तर तीन वर्षअघि सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव हुँदा उनले ज्यान गुमाइन् ।

सरस्वतीजस्तै कर्णालीमा सानै उमेरमा विवाह गर्ने र जोखिमपूर्ण रूपमा आमा बन्नेको संख्या अन्य प्रदेशभन्दा धेरै छ । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षमा ४१ हजार किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका कर्णाली प्रदेश सरकारको तथ्यांक छ । यही अवधिमा प्रदेशभर २ लाखभन्दा बढी बालिकाको विवाह भएको छ ।

सानैमा विवाह गर्नुपर्ने पारिवारिक र सामाजिक दबाबका कारण धेरैको ज्यान जोखिममा परिरहेको जुम्लाकी किशोरी मनीषा नेपालीले बताइन् । ‘चाँडै विवाह नगरे समाजले गलत तरिकाले हेर्छ,’ उनले भनिन्, ‘घरको आर्थिक स्थिति पनि कमजोर हुँदा सानै उमेरमा विवाह गर्नुपर्ने बाध्यता छ ।’ जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी सुनीता सिंहले पनि परिवारको दबाबमा कक्षा ७ मा पढ्दै गर्दा १४ वर्षको उमेरमै विवाह गरिन् ।

बिहे भएको ३ वर्षपछि उनका श्रीमान्ले दोस्रो बिहे गरे । शारीरिक तथा मानसिक हिंसा भोगिरहेकी उनले आवाज पनि उठाउन सकिनन् । १६ वर्षमै आमा बनेकी सुनीता अहिले छोरी स्याहारेर बसिरहेकी छन् । ‘त्यतिबेला मैले बिहे गर्दिनँ भनेर आवाज उठाएको भए अहिले यस्तो भोग्न पर्थेन होला,’ उनले भनिन्, ‘समाज र परिवारले इज्जतको बोझ बोकाएर हाम्रो भविष्य नै बर्बाद पारिदिन्छ ।’

सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ र छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए । ‘बालविवाहको अवस्था डरलाग्दो भएकाले सरकारले जन्मेदेखि २० वर्ष उमेर पुगेका छोरीको बैंकमा खाता खोलिदिने र त्यसमा पैसा जम्मा गरिदिन्छ,’ उनले भने, ‘२० वर्ष उमेर पुगेपछि विवाह गरेमा मात्रै उनीहरूले पैसा पाउँछन् ।’

मन्त्रालयको तथ्यांकअनुसार २०७३/७४ देखि २०७५/७६ सम्म प्रदेशभर भएका विवाहमध्ये आधाभन्दा बढी बालविवाह भएको देखिन्छ । सबैभन्दा बढी रुकुम पश्चिममा ७१.६ प्रतिशत बालविवाह भएको पाइएको छ । धेरैको विवाह १५ देखि १९ वर्षभित्र हुने गरेको छ । यही अवधिमा कर्णालीमा २० वर्षभन्दा कम उमेरमै गर्भवती हुनेको संख्या ४० हजार ९ सय ६१ छ । जसमध्ये डोल्पामा ६ सय ८७, मुगुमा २ हजार ३ सय २६, हुम्लामा ९ सय २, जुम्लामा २ हजार ८ सय र कालीकोटमा २ हजार ५ सय ३८ जना बालिका गर्भवती भएका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?