कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनभीए लिग भलिबल : आर्मीको नजर फाइनलतिर

पुछारका दुई टोली मणिमुकुन्द र नयाँबजारले खाता खोलेका छन् 
कुशल तिमल्सिना

काठमाडौँ — चिरपरिचित विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबमाथि ३–० सेटमा जित पाएपछि आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलमा त्रिभुवन आर्मी क्लबको नजर फाइनलतिर पुगेको छ । एक वर्षअघि माघमा क्लब च्याम्पियनसिप फाइनल खेल्न असफल आर्मी यसपालि त्यो गल्ती दोहोर्‍याउने पक्षमा छैन । 

एनभीए लिग भलिबल : आर्मीको नजर फाइनलतिर

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले एपीएफलाई हराउन धेरै कसरत गर्नुपरेन । सुरुआती दुई सेट २५–१५, २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीलाई तेस्रो सेटमा भने एपीएफले चुनौती दियो । ११–१४ ले पछि परेको स्थितिबाट पुनरागमन गरी १९–१९ को बराबरी गरेको आर्मीले त्यसयता दुवै टोलीले पालैपालो अंक ल्याउँदै २६–२६ को स्थितिमा ल्याए । त्यसपछि धनबहादुर भट्टको लगातार दुई स्पाइक प्वाइन्ट जोडेर आर्मीले सोझो सेटमा खेल आफ्नो पक्षमा पार्‍यो ।

जितपछि आर्मीको ४ खेलबाट ९ अंक पुर्‍याएको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पाकिस्तानी खेलाडीसम्मिलित बुलबुले रारा क्लबसँग बेहोरेको ३–१ को हार आर्मीको यात्रामा अप्रत्याशित ब्रेकडाउन थियो । त्यसबाहेक आर्मीले नयाँबजार सामाजिक युवा र मणिमुकुन्द भलिबल क्लबमाथि सहन जित निकालेको थियो ।

‘एपीएफ पनि फाइनलकै दाबेदार टोली हो । आज सुरुआती दुई सेटमा हामीले सन्तुलित खेल्यौं । विपक्षीको दबाबबिना सेट जित्यौं । तेस्रो सेटमा हाम्रो ब्लक र रिसिभ कमजोर देखियो,’ आर्मीका प्रशिक्षक जगतबहादुर सिंहले भने, ‘बाँकी खेलमा पनि यस्तै नतिजाको अपेक्षा गरेको छु ।’

आर्मीका खेलाडी र सहायक प्रशिक्षक हुँदै यसै वर्षदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका सिंहले बुलबुलेसँगको हार आफूहरूको यात्रामा धक्का भए पनि फाइनल सम्भावना जीवितै रहेको दाबी गरे । आर्मीले बलिया टोलीहरू हेल्प नेपाल र नेपाल पुलिसको सामना गर्नेछ ।

‘बुलबुलेसँग हारेपछि हामीलाई असर त परेको छ तर बिग्रेको छैन । बाँकी दुई खेल कठिन हुनेछ । हामीलाई खेल गुमाउने छुट छैन,’ आर्मीका पूर्वअलराउन्डर सिंहले थपे, ‘हामीले रिसिभमा सुधार गर्नुपर्छ । बुलबुलेसँगको हारबाट सिकेर बाँकी खेल जित्दै उपाधि उठाउने लक्ष्यमा छौं ।’

इलाममा गत महिना राष्ट्रियस्तरको प्रतियोगिता जितेको आर्मी यस लिगमा विदेशी खेलाडीहरूसामु दबाबमा आएको हो भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो टिममा अनुभवी खेलाडी छन् । मलाई लाग्दैन उनीहरू दबाबमा थिए । हामीले इलाममा भारतीय टिमलाई नै पराजित गरेका हौं ।’ उनले कोरोनापछि समग्र टिमको प्रदर्शन केही खस्किएको स्विकारे ।

एपीएफका लागि यो प्रतियोगिताको पहिलो हार हो । यसअघि बुलबुले रारा, मणिमुकन्द र नयाँबजारलाई हराएर ९ अंक बनाएको एपीएफले पनि आर्मीले जस्तै हेल्प नेपाल र नेपाल पुलिसलाई हराउन बाँकी छ । प्रशिक्षक महेश चौधरीले पुलिसलाई हराउन सकिने आकलन गरेका छन् । त्यसो भयो भने फाइनल खेल्न उसले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

‘आज हामीले सर्भिस र रिसिभमा समस्या देख्यौं । यही प्रदर्शनले त हामी माथि पुग्न सक्दैनौं । कमजोरी सुधारेर बाँकी खेलमा सकारात्मक नतिजा ल्याउनुपर्छ,’ उनले भने । अघिल्ला तीन खेलमा सहज नतिजा ल्याएको एपीएफका लागि आर्मीसँगको खेल वास्तविक परीक्षा थियो ।

प्रशिक्षक चौधरीले आफूहरू फाइनलको दाबेदारीमै रहेको दाबी गरेका छन् । उनले थपे, ‘फाइनलमा पुग्न कठिन हुनसक्छ तर सम्भावना सकिएको छैन । पुलिसलाई हामी हराउन सक्छौं । हेल्प नेपाल बलियो टोली हो । उनीहरूविरुद्ध जितका लागि खेल्नेछौं । सम्भव भएन भने अन्य टोलीको नतिजा कुर्नेछौं ।’

चौधरीले विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई सिक्ने अवसर भएको बताए । तीन विभागीयसँगै अन्य टोलीको सशक्त प्रदर्शनले प्रतियोगिता रोमाञ्चक बनिरहेको उनको अनुभव छ ।

सोमबारै नेपाल पुलिसमाथि ३–० को सेटमा सहज जित निकाल्दै हेल्प नेपालले अपराजित यात्रा चौथो खेलसम्म कायम राखेको छ । १२ अंकसहित प्रतियोगिताको शीर्षस्थानमा यथावत हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१६, २५–२० सेटमा पाखा लगायो । हेल्प नेपालले आर्मी र एपीएफसँग खेल्न बाँकी छ ।

अंकतालिकामा पुछारमा रहेका दुई टोली मणिमुकुन्द र नयाँबजारले खाता खोलेका छन् । सोमबार साँझको खेलमा मणिमुकुन्दले नयाँबजारलाई ३–२ को सेटमा हराएपछि दुवैले अंक बाँडे । प्रतिस्पर्धात्मक खेलमा सुरुआती २ सेट मणिमुकुन्दले जितेको थियो । त्यसयता २ सेटमा उत्कृष्ट पुनरामगनसहित नयाँबजार खेलमा फर्कियो । तर निर्णायक सेटमा मणिमुकुन्द हाबी भयो । अन्तिम सेट १५–१० ले आफ्नो पक्षमा पारेको हो ।

महिलातर्फ त्रिभुवन आर्मीले पहिलो हार बेहोरेको छ । यसअघि न्यु डायमन्डमाथि ३–२ को सेट र ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषदमाथि सोझो सेटमा जित हासिल गरेको आर्मीसँग ८ अंक छ । एपीएफविरुद्ध पहिलो सेट १९–२५ ले जितेपछि त्यसयता लगातार तीन सेट २५–१०, २५–१७, २५–२२ गुमायो । यो जितसँगै एपीएफले पनि ८ अंक बनाएको छ । अर्को खेलमा भरतपुरले ढोरपाटनमाथि ३–० को सोझो सेटमा जितसहित अंकको खाता खोलेको छ । भरतपुरले चौथो खेलमा पहिलो जित निकालेको हो । भरतपुर र ढोरपाटनको फाइनल पुग्ने सम्भावना भने समाप्त भइसकेको छ ।

प्रकाशित : चैत्र २४, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?