कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित बढे, परीक्षण न्यून

दिनहुँ डेढ सय हाराहारी संक्रमित, संक्रमण रोक्न तयारी छैन

काठमाडौँ — कोरोना संक्रमितको संख्या दैनिक डेढ सयभन्दा बढी नाघे पनि सरकारले यसको सामना गर्न खासै तयारी गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा विज्ञप्ति जारी गरेर जनस्वास्थ्यको मापदण्ड पालनाका लागि आग्रह गरे पनि अन्य तयारी शून्य छ । 

संक्रमित बढे, परीक्षण न्यून

मुलुकमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभरि १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित पुगेका छन् । आइतबार ३ हजार ४ सय ५६ जनाको परीक्षण गरिएको थियो । परीक्षण गरेकामध्ये ५ प्रतिशतलाई कोरोना देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाको ल्याबबाट मात्रै १ सय १० जना संक्रमित पत्ता लागेको हो ।

भारतमा जसरी संक्रमितको संख्या बढिरहेको छ, त्यसको असर नेपालमा पनि देखा पर्न थालेको विज्ञहरू बताउँछन् । ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नाकामा परीक्षणमा कडाइ नगरेकै कारण संक्रमण बढेको बताए । ‘पहिलाको भन्दा नयाँ यूके भेरियन्टले ७० गुना बढीलाई सार्न सक्छ । त्यसैले यसबाट बच्ने एउटै उपाय नेपाल छिर्ने नाकालाई कडाइ गर्नुपर्छ,’ उनले भने, ‘परीक्षणको दायरा पनि बढाउनुपर्छ ।’

नेपाल छिर्ने विभिन्न नाकाको केही दिनयता हेल्थ डेस्कमा गरिएको परीक्षणले भारतबाट कोरोना संक्रमित धमाधम भित्रिएको देखिन्छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ९ सय २५ जनाको स्वाब परीक्षण गर्दा ४६ जनालाई कोरोना देखिएको छ । चैत ६ देखि विभिन्न नाकामा हेल्थ डेस्कले एन्टिजेन परीक्षण सुरु गरेको हो ।

३ हजार ४ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४३ जनालाई कोरोना देखिएको छ । जिल्लागत हेर्ने हो भने काठमाडौंमा संक्रमितको संख्या बढी छ । ‘पछिल्लो केही दिनयता परीक्षण भएकामध्ये ५ प्रतिशतलाई कोरोना देखिएको छ,’ ईडीसीडीका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘संक्रमितमध्ये यूके भेरियन्ट (एस जिन नेगेटिभ) भएका पनि उत्तिकै भेटिएका छन् ।’

कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि बंगलादेश सरकारले सोमबारदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । ‘बंगलादेशबाट आएकाहरू काँकडभिट्टा नाका हुँदै छिरिरहेका छन्, उनीहरूको निगरानी भएकै छैन,’ मरासिनीले भने, ‘उनीहरूलाई परीक्षणबिनै प्रवेश दिने हो भने संक्रमण बढ्ने सम्भावना हुन्छ ।’ बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो समय संक्रमण दर २३.२८ प्रतिशत छ ।

भारतबाट नेपाल छिर्ने नाकामा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ भएकाको नमुना काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा यूके भेरियन्ट पाइएको निर्देशक पौडेलले बताए । ‘जोखिम बढ्दो छ । जुनसुकै भेरियन्ट भए पनि जनस्वास्थ्य मापदण्ड पालना नै यसबाट बच्ने उपाय हो,’ उनले भने । नाकामा परीक्षणलाई प्राथमिकता दिइएको उनले दाबी गरे । नाकाको हेल्थ डेस्कमा खटाएका कर्मचारी नगएमा कारबाही गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ ।

त्रिनगर हेल्थ डेस्कमा अन्यत्रभन्दा परीक्षण प्रभावकारी भइरहेको पौडेलले बताए । ‘सीमामै परीक्षण गरेर संक्रमितको पहिचान भइरहेको छ । उनीहरूलाई होल्डिङ सेन्टर र अस्पतालमा राखेर निगरानी गरिएको छ,’ उनले भने । यसअघिको अवधारणामा होल्डिङ सेन्टर विदेशबाट आउनेलाई घरसम्म जाने व्यवस्था गर्न बनाइएको हो । संक्रमित अस्पतालको आइसोलेसन वा होल्डिङ सेन्टर जहाँ बसे पनि दैनिक २ हजारका दरले रकम संघीय सरकारले बेहोर्ने पौडेलले बताए ।

‘आइसोलेसन र होल्डिङ सेन्टरलाई बजेट पठाउने निर्णय गरेका छौं । संक्रमित व्यवस्थापन गर्न प्रदेशसँग समन्वय भइरहेको छ,’ पौडेलले भने, ‘पहिचान र व्यवस्थापन गर्न भने चुनौती छ ।’

काठमाडौं उपत्यकामा विदेश जाने, शल्यक्रिया गर्ने र लक्षणसहित थलिनेमा मात्रै कोरोना परीक्षण गर्दा पोजिटिभ केस भेटिने गरेको छ । ‘हामीले जोखिम क्षेत्रको परीक्षण गर्ने योजना बनाए पनि गर्न सकेका छैनौं,’ उनले भने । बसपार्क, भीडभाड हुने स्थानमा परीक्षण गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित : चैत्र २३, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?